Logo
Logo
सुदूरपश्चिम

महाकाली अस्पतालमा अक्सिजन र स्वास्थ्य सामग्रीको चरम अभाव


दृष्टि संवाददाता


कञ्चनपुर । जिल्लाको महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन र स्वास्थ्य सामग्रीको चरम अभाव भएको छ । पर्याप्त अक्सिजन र स्वास्थ्य सामग्री नहुँदा कोरोना संक्रमितको उपचारमा कठिनाइ भएको अस्पतालले जनाएको छ ।

सुदूरपश्चिमकै दोस्रो ठूलो अस्पतालका रुपमा रहेको महाकाली अस्पतालमा हाल ४० वटामात्रै अक्सिजन सिलिन्डर रहेको अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले बताए । तर, संक्रमण भयावह बन्दै गएको छ । यस्तो अवस्थामा अस्पतालले धान्न नसक्ने उनको भनाइ छ ।

‘अहिले अवस्था निकै भयावह छ । एकैजनालाई ३÷४ वटा अक्सिजन सिलिन्डर दिनुपर्ने अवस्था छ’ उनले भने, ‘तर, हामीसँग ४० वटामात्रै सिलिन्डर छ ।’ तीमध्ये अहिले ३० संक्रमितको उपचारमा अक्सिजन प्रयोग भइरहेको छ ।

अध्यक्ष जोशीका अनुसार अस्पतालमा एन्टिजेन किटको समेत अभाव छ । अस्पतालमा अहिले ६५ कोरोना संक्रमित उपचाररत छन् । जसमध्ये आईसीयूमा ६ जना, भेन्टिलेटरमा ६ जना र एचडीयूमा १५ जना छन् ।

यस्तै, कञ्चनपुरमा पछिल्लो एक सातामा कोरोनाका कारण आठजनाले ज्यान गुमाएका छन् । अस्पतालमा बुधबारमात्रै तीनजनाले ज्यान गुमाएका छन् ।

अध्यक्ष जोशीका अनुसार अस्पतालमा चार चिकित्सकसहित २३ स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ । उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सेवा प्रवाहमा समेत समस्या भएको छ ।

कञ्चनपुर भारतीय सीमासँग जोडिएकाले गड्डाचौकी नाका हुँदै दैनिक सयौँ नेपाली स्वदेश फर्कने क्रम जारी छ । जसले गर्दा पनि सुदूरपश्चिममा संक्रमणको जोखिम बढी छ ।

प्रतिक्रिया दिनुहोस्