Logo
Logo

कोरोना त्रास : अस्पतालमा सेवाग्राही घट्दै


दृष्टि संवाददाता


बझाङ । जिल्ला अस्पताल बझाङमा दैनिक सेवा लिन आउने बिरामी पछिल्लो समय घट्दै गएका छन् । जिल्ला अस्पतालमा अन्य सेवा दिनु पूर्व कोरोना जाँच गर्न थालिएपछि उपचार गर्न आउनेको संख्यामा निकै कमी आएको हो ।

चैत महिनासम्म दैनिक दुई र तीन सय बिरामी उपचारको लागि आउने गरेकोमा कोरोना परीक्षण गरेर मात्र जाँच गर्न थालेपछि अहिले दैनिक ४० र ४५ जना सेवाग्राही मात्रै स्वास्थ्य संस्थामा पुग्ने गरेको जिल्ला अस्पतालका कार्यलय प्रमुख डाक्टर मिलन खड्काले जानकारी दिए ।

‘अस्पतालमा सेवा लिन आउँदा सबै भन्दा पहिला लक्षण देखिएका र शंङ्का लागेका सेवाग्राहीको एन्टिजेन मार्फत कोरोना परीक्षण गर्ने गरेका छौँ’, उनले भने, ‘त्यसपछि मात्रै अन्य सेवा दिने गरेका कारण यहाँ सेवा लिन आउने सेवाग्राहीहरु एकाएक घट्दै घट्दै गएका हुन् ।’

अस्पतालमा भएको भेन्टिलेटर प्रयोगविहीन
बझाङ जिल्ला अस्पतालमा दुई वटा भेन्टिलेटर छन् । तर जनशक्तिको अभावका कारण भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको अस्पताल स्रोतले बताएको छ ।

भेन्टिलेटर सञ्चालनका लागि दक्ष प्राविधिक र जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको अस्पतालमा कार्यरत डाक्टर योगेन्द्र खातीले बताए । उनले भने, ‘२०७७ साल कात्तिक महिनामा मैले भेन्टिलेटर चलाउने सम्बन्धि चार दिने तालिम लिएको थिए । तर तालिम लिएको दुई महिनापछि जिल्लामा भेन्टिलेटर जडान गरियो ।’ उनले चार दिने तालिमको भरमा मैले कसरी भेन्टिलेटर सेवा सञ्चालन गर्ने त्यसैले जिल्लामा भएको भेन्टिलेटर अहिले प्रयोगविहीन अवस्थामा रहेको बताए ।

भेन्टिलेटर सञ्चालनका लागि कम्तीमा पनि दुई महिनाको तालिम वा त्यो सम्बन्धि दक्ष जनशक्तिको आवश्यकता पर्छ तर मलाई चार दिनको तालिम दिएर भेन्टिलेटर सेवा सुरु गर भनियो उनले भने, ‘आफूलाई यो सम्बन्धि कुनै ज्ञाननै छैन अनि मैले कसरी सुरु गर्ने गर्ने भेन्टिलेटर सेवा अरुको ज्यान जोखिममा पारेर त्यसैले अहिले जिल्लामा भएका भेन्टिलेटर प्रयोगविहीन भएका छन् ।’

उनले चार दिन पनि राम्रोसँग तालिम प्राप्त भएन, त्यसैमाथि तालिम सिकेको महिनौंपछि भेन्टिलेटर आइपुग्यो । जटिल प्राविधिक कुरा चार दिनको तालिमले सम्भव नहुने बताए । अहिले भेन्टिलेटर सेवा सुरु नहुँदा र दक्ष जनशक्ति अभावका हुँदा बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था रहेको छ ।

हेल्थ डेस्कमा छैनन् स्वास्थ्यकर्मीहरु

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्लाका विभिन्न ठाउँमा हेल्थ डेस्क सञ्चालन गरिएको छ । तर स्वास्थ्यकर्मीहरुले हेल्थ डेस्कमा बसेर सेवा दिन नमान्दा जिल्लामा राखिएका डेस्कहरु पनि स्वास्थ्यकर्मीविहीन भएका छन । स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको सुनिश्चितता नगरेको भन्दै आफूहरुले हेल्प डेस्कमा खटिन नमानेको एकजना स्वास्थ्यकर्मीले बताएका छन् ।

‘कोरोना महामारीमा प्रत्यक्ष खटिएका स्वास्थ्यकर्मीको नाममा आएको भत्ता पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको मिलेमतोमा उनीहरुलाई आफूहरुलाई थाहानै नदिइकन हिनामिना हुने भएकाले हामीहरुले खटिन मानेका छैनौँ’ स्वास्थ्यकर्मीहरुले भने ।

हेल्थ डेस्कमा स्वास्थ्यकर्मीहरु खटिन नमान्दा भारत तथा नेपालका विभिन्न जिल्लाबाट प्रवेश हुनेहरु परीक्षण जिल्लामा भित्रिने गरेका छन् ।
यता जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले जिल्लामा कोरोनाको जोखिम बढ्दै गएका बेला यसलाई नियन्त्रण गर्नका लागि पालिकाहरु संवेदनशील नभएको बताएका छन् ।

उनले भने, ‘हामी उच्च जोखिमको अवस्थामा छौँ । तत्काल नियन्त्रणका उपाय थालौँ भनेर स्थानीय पालिकालाई भनिरहेका छौँ । तर स्थानीइ जनप्रतिनिधिहरुले चाँसो नदिदा जिल्लामा जोखिम बढ्ने खतरा बढेको छ ।’ उनले पालिकाहरुको बेवास्ताका कारण संक्रमणको जोखिम बढ्दै गएको बताउँदै जनप्रतिनिधिहरु नै संवेदनशील भएनन् भने अवस्था झन भयावह हुनसक्ने बताए ।

बझाङमा पछिल्लो दुई हप्ताको अवधिमा मात्रै लक्षण देखिएका शंकास्पद बिरामीहरुको जाँच गर्दा ८३ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

तीन सय ९० जनामा एन्टिजेन परीक्षण गर्दा ८३ जनामा सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमितहरु मध्ये छ जना आइसोलेसनमा उपचाररत छन भने एक जनाको ज्यान गएको छ । परीक्षण गरिएकाहरुमा ३० प्रतिशत भन्दा बढीलाई सङ्क्रमण देखिन थालेको स्वास्थ्य कार्यालयका बझाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्