Logo
Logo

अक्सिजन उत्पादनमा जुट्न थाले प्रदेश-१ का अस्पताल


प्रदीपराज दाहाल


झापा । कोरोना भाइरसको संक्रमणबाट अहिले सबैभन्दा बढी भारत प्रभावित भएको छ । दोस्रो भेरियन्टले भारतका विभिन्न राज्यमा अवस्था भयावह बनेको छ । अक्सिजनको अभाव भइरहेको छ । अक्सिजन जुटाउन सक्नेले अस्पतालले मात्र भर्ना लिइरहेको छ ।

यस्तो अवस्था भयावह भइरहँदा सीमा जोडिएको नेपालमा पनि यही नियति नदोहोरिएला भन्न सकिने अवस्था छैन । अझ, भारतसँग सीमा जोडिएका जिल्लामै संक्रमण फैलिरहँदा प्रदेश १ को झापामा अहिले धमाधम अक्सिजन प्लान्ट निर्माण थालिएको छ । तर, अक्सिजन सिलिण्डरको भने अभाव देखिएको छ ।

कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चार वटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन् । मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश १ सरकारको ७५ लाख रुपैयाँ लगानीमा अक्सिजन प्लान्ट निर्माणाधिन छ ।

कोभिड–१९ संक्रमितको उपचारका लागि ७५ शय्याको अलग अस्पतालसमेत सञ्चालन गरिरहेको मेची अस्पताल भद्रपुरमा छ । विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बिएन्डसी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन् । वैशाख महिनाभित्रै सञ्चालनमा ल्याउने गरि अक्सिजन प्लान्टको निमार्ण तीव्र बनाइएको अस्पतालले जनाएको छ ।

यता, झापाको बिर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालले पनि आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने गरि निमार्ण गरिरहेको छ ।

सबै शय्या र इमर्जेन्सी कक्षमा अक्सिजनको पाइपलाइन पुर्‍याएको बिएण्डसीले कोभिड–१९ को संक्रमण बढेसँगै अक्सिजन ठूलो मात्रामा चाहिन सक्ने आकलन गर्दै झण्डै पाँच करोडको लगानीमा दैनिक ५० सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्ट निमार्ण अन्तिम चरणमा पु¥याएको छ ।

प्लान्ट निर्माण सकिएर उत्पादन हुन थालेपछि अक्सिजन बाहिरबाट खरिद गर्नुपर्ने झन्झटबाट अस्पताल मुक्त हुने अस्पतालले जनाएको छ ।
आवश्यक अक्सिजनका सिलिन्डर निजी सप्लायर्सबाट खरिद गर्दै आएका अस्पतालले आफ्नै प्लान्ट भएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने र आपूर्ति व्यवस्था भरपर्दो हुने विश्वास लिएका छन् ।

बषौंदेखि बिभिन्न अस्पताललाई अक्सिजनको आपूर्ति गर्दै आएको कपुरी ब्रदर्सले भने कोभिड १९ कै कारण माग अनुसारको अक्सिजन पुर्‍याउन कठिन भइरहेको जनाएको छ ।

त्यस्तै, निजी क्षेत्रबाट सञ्चालित ओमसाई पाथिभरा हस्पिटलले पनि अक्सिजनको आफ्नै प्लान्ट सञ्चालनमा ल्याउने जनाएको छ । मनमोहन सामुदायिक अस्पतालले विगत केही महिनादेखि अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको जनाएको छ ।

यसरी सबै अस्पतालले आफै अक्सिजन प्लान्ट निर्माण गर्ने हो भने यो संकटका बेला बिरामीहरुलाई राहत पुग्ने देखिन्छ । यसलाई सरकारी स्तरबाट पनि अझ धेरै सहयोगको खाँचो देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्