Logo
Logo

कोभिड-१९ उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन


रासस


मोरङ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट सङ्क्रमितलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा दिन निर्देशन दिएकी छन् ।

मन्त्रालयमा बिहीबार यहाँ आयोजित कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा प्रदेशमा केन्द्रले उपचार कार्यमा उदाहरणीय कार्य गरेर देखाउनुपर्नेमा जोड दिए ।

मन्त्री राईले निजी अस्पतालमा नभएको सेवा सुविधा एवं स्वास्थ्य सामग्री केन्द्रमा रहेकाले सोही अनुसार नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

अस्पतालमा भर्ना भएकाहरूबाट उपचारका सम्बन्धमा कुनै गुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकारद्वारा सञ्चालित केन्द्रले राम्रो एवं गुणस्तरीय उपचार सेवा दिन्छ भन्ने महसुस सङ्क्रमित र परिवारले महसुस गराउनुपर्नेमा आवश्यकता औँल्याइन् ।
प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरी गत पुस ५ गते हस्तान्तरण गरेको नागरिक हेरचाह केन्द्रमा शुक्रबारदेखि सङ्क्रमितको उपचार शुरु गरिने जानकारी दिँदै मन्त्री राईले आवश्यक जनशक्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिए ।

उनले भनिन्, ‘आन्तरिक व्यवस्थापन राम्रोसँग हुनुप¥यो, बजेटको समस्या कुनै छैन ।’ उनले अस्पतालको व्यवस्थापन र अस्पतालजन्य फोहरको उचित व्यवस्थापन गर्न केन्द्रका संयोजक वैद्यनाथ साहलाई समेत निर्देशन दिएकी छन् ।

मन्त्री राईले सङ्क्रमित बिरामीलाई औषधिको पनि कमी नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । कोभिड अस्पतालका संयोजक साहले अस्पतालमा ८३ वटा अक्सिजन शय्या र २१ वटा भेन्टिलेटर शय्या तयारी अवस्थामा रहेको जानकारी दिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा चुमनलाल दास, डा दीपक सिग्देललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्