Logo
Logo
कोरोना महामारी

भारतमा सुनामी, एकैदिन झण्डै चार लाख संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । भारतको कोरोनाको दोस्रो लहरले सुनामी रुप लिएको छ । त्यहाँ दैनिक संक्रमित र ज्यान गुमाउनेको संख्या बढिरहेको छ । तर, अझै नियन्त्रण संकेत देखिएको छैन ।

भारतीय मिडियाहरुका अनुसार पछिल्लो एक साता यता भारतमा दैनिक ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी ३ लाख ८६ हजार ४ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

घिल्लो दिन ३ लाख ७९ हजार २ सय ५७ जना संक्रमित थपिएका थिए । यही अवधिमा ३ हजार ४ सय ९८ जनाले ज्यान गुमाएका छन् । शुक्रबार साँझसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ८ हजार ३ सय ३० पुगिसकेको छ । मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ करोड ८७ लाख ६२ हजार ९ सय ७६ पुगेको छ ।

कोरोनाभाइरसबाट प्रभावित देशहरूको सूचीमा शीर्ष स्थानमा रहेको अमेरिकामा ३ करोड २२ लाखभन्दा बढी संक्रमित छन्  । जहाँ ५ लाख ७५ हजारभन्दा बढीको भाइरसले मृत्यु भइसकेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या हाल करिब ३२ लाख पुगेको छ । महामारीका कारण भारतका अस्पतालहरूमा बेड तथा अक्सिजनको चरम अभाव देखिएको छ । जसका कारण बिरामीहरूको उपचार नपाएरै मृत्यु भएको छ ।

महामारीका कारण अभूतपूर्व संकटमा परेको भारतमा कोरोनाका कारण मृत्यु भएकाहरूको दाहसंस्कार गर्नसमेत कठिनाइ हुन थालेको छ । पछिल्ला केही दिनहरूमा अन्तिम संस्कार गर्ने स्थानमा पनि ठूलो चाप बढेको छ । केही मसानघाटहरू चौबिसै घण्टा सञ्चालनमा छन् ।

मसानघाटका कर्मचारीहरू आफूले विश्रामबिना नै दाहसंस्कार गर्न थालेको जनाएका छन् । तर दाहसंस्कार गर्न पालो नपाएपछि खुला स्थानमा शवहरू जलाउने व्यवस्था गर्न थालिएको छ । राजधानी दिल्लीका घाटमा शव जलाउन ठाउँ नपुगेर नयाँ चिता बनाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्