Logo
Logo

‘लुम्बिनी प्रदेश प्रमुख एमाले कार्यकर्ताको भूमिकामा’


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्ति भएपछि विपक्षी गठबन्धन दल प्रदेश प्रमुख धर्मनाथ यादवसँग आक्रोशित भएका छन् ।

उनीहरुले आफ्नो पक्षमा स्पष्ट बहुमत हुँदा हुँदै पनि प्रदेश प्रमुखले नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई सपथ खुवाएको भन्दै आपत्ति जनाएका छन् ।

मुख्यमन्त्री पोखरेलले आफ्नो पक्षमा पार्टीका ४१ जना सांसदहरूको हस्ताक्षरसहितको पत्र बुझाएका छन् । प्रदेश प्रमुख यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । कांग्रेस, माओ‌वादीलगायतका विपक्षी गठबन्धनले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएको जानकारी पाएपछि उनीहरुले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएका थिए ।

तर प्रदेश प्रमुख यादवले बहुमत सांसदको हस्ताक्षरलाई आधार मानेर प्रकृया अगाडि बढाएको प्रदेश प्रमुख कार्यालय स्रोतको भनाई छ । आइतबारको नियुक्तिलाई लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुदिन खानले प्रदेश प्रमुखले विधि पद्दति मिचेर गरेको कानूनी उपहास भएको टिप्पणी समेत गरेका छन् ।

‘हामीले सबै विषय प्रष्ट पार्दा पनि प्रदेश प्रमुखले इमान्दारिता देखाउनुभएन, एमालेको कार्यकर्ताजस्तै शंकर पोखरेलले जे भन्यो त्यही गर्नुभयो, यस्तो कामले राजनीतिक बेइमानी देखाएको छ, उहाँले आफू कुन पदमा छु भन्ने कुरा बिर्सनुभयो’, खानको आरोप छ । प्रदेश प्रमुखको यो कामले मुठभेडको राजनीति शुरू भएको र उनले जिकिर गरे ।

माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले प्रदेश प्रमुखको कदम संविधानको कानुनकोविपरीत भएको बताए । प्रदेश प्रमुखले एमालेको कार्यकर्ताजस्तो भएर हामीलाई जबर्जस्ती बाहिर निकाल्नुभयो, उनको टिप्पणी छ ।

प्रदेश प्रमुख कार्यालयमा धर्नामा बसेका विपक्षी दलका सांसदहरूले सुरक्षा निकायमा जिम्मेवारी व्यक्तिले आफूहरूमाथि असभ्य व्यवहार देखाएको आरोप लगाएका छन् । उनीहरुले जबरजस्ती लछारपछार गरेर प्रहरीले दुर्व्यवहार गरेको भन्दै छानविनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्