Logo
Logo
लुम्बिनी प्रदेश

प्रहरीले हातपात गरेको महिला सांसदको आरोप


दृष्टि संवाददाता


बुटवल । लुम्बिनी प्रदेशका महिला सांसदले आफूहरुमाथि प्रहरी प्रशासनले हातपात गरेको आरोप लगाएका छन् । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुक आफूहरुमाथि हातपात र दुव्र्यवहार गरेको बताए ।


महिला सांसद निर्मला क्षेत्री, फूलमति ढेगा, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी र गीता थापाले डीआईजी धानुकको नेतृत्वको प्रहरीले आफूहरुमाथि हातपात भएको बताए ।
नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले प्रदेश प्रमुखको कार्यालयमा आइतबार साँझ अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्नका लागि हामीहरू धर्नामा दिएका बेला आफूहरुलाई दुव्र्यवहार भएको बताइन् ।

उनले भनिन्, ‘प्रहरी प्रमुख धानुकले महिला प्रहरी प्रयोग नगरी आफैँ हातपातमा लागे । महिला सांसदहरुको संवेदनशील अङ्गमा हातपात भएको छ, हातपात गर्ने प्रहरी प्रमुख धानुकलाई कारबाहीको माग राखेका छौँ ।’

यस्तै, नेकपा माओवादी केन्द्रका सांसद दामा शर्माले प्रहरी प्रमुखले प्रदेश प्रमुखको कार्यालयमै महिला हिंसा गरेकाले आफूहरुले कानूनी उपचार खोज्ने बताइन् । आइतबार मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख धानुकले बल प्रयोग र महिला हिंसा गरेकाले उनलाई निलम्बन गर्नुपर्ने नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए ।

लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले अल्पमतमा रहेको दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको घटनाको कानूनी र राजनीतिक लडाइँ लड्ने प्रतिबद्धता जनाएको छ ।
सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका संसदीय दलका नेता कनौडियाले अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरलाई कति दिन संसदबाट भाग्ने भन्दै प्रश्न गरेका छन् ।

उनले केन्द्रमा केपी शर्मा ओलीको तानाशाही र लुुम्बिनीमा पोखरेलले तानाशाही लाद्न खोजेको उनको आरोप लगाए । ४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको विपक्षी गठन्धनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्