इमान्दार कार्यकर्ताले ‘फ्लोर क्रस’ गर्नु समयको बाध्यता « Drishti News – Nepalese News Portal
Logo

इमान्दार कार्यकर्ताले ‘फ्लोर क्रस’ गर्नु समयको बाध्यता


लक्ष्मण देवकोटा


कर्णाली विद्रोहको मुख्य कारण यमलाल कँडेलको मुख्यमन्त्री बन्ने हतारो मात्रै थिएन, प्रधानमन्त्री केपी ओलीको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भित्तैमा पुर्याउने रणनीतिको प्रारम्भिक श्रृंखला थियो । प्रधानमन्त्री ओलीलाई कर्णालीका स्वाभिमानी एमाले कार्यकर्ताले दह्रो झापड दिएर चेतनापूर्वक फिर्ता पठाइदिएका छन् ।

एमाले निर्माणमा सिंगो जीवन व्यतित गरेका प्रकाश ज्वालाजस्ता स्वाभिमानी कार्यकर्ताहरु सबै कारवाही सहन तयार भएर कम्युनिष्ट पार्टी विघटन हुन नदिन यो खतरा मोलेका हुन् ।

सत्ताको उन्मादले जमीन बिर्सिएका ओली वरिपरिका नन्दीभृंगीको उक्साहटमा प्रकाश ज्वालाहरुलाई निष्काशन गर्न सक्दछन्, तर वामपन्थी आन्दोलनभित्र उनीमाथि उठेको गम्भीर प्रश्नको उत्तर उनले दिनुपर्ने हुन्छ । प्रकाश ज्वालाहरुले इतिहासको यो कालखण्डमा साहस र हिम्मतका साथ नेतृत्वको आँखा खोल्ने प्रयास गरेका छन् । सबै स्वाभिमानी कार्यकर्ताहरुले यो आँटलाई स्यावासी भन्नैपर्ने हुन्छ ।

कर्णाली विद्रोहको आगो गण्डकी, लुम्बिनी हुँदै सिंहदरबार पुग्ने भयले अहिले ओलीगुट अत्तालिएको छ । सुर्खेतबाट फिलिंगो वुटवलसम्म आइपुग्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिक्रिया दिँदै भने, ‘जसले अराजनीतिक कदमलाई गौरवको विषय ठान्छ र पुनरावृत्तिको धम्कीसमेत दिन्छ, त्यस्तो व्यक्ति निर्माता होइन, विध्वंसक मात्र बन्न सक्दछ ।’ मुख्यमन्त्री पोखरेलको यो भनाइ केपी ओलीका हकमा गजब लागू हुने देखिन्छ ।

प्रकाश ज्वालाहरु जसले पार्टीको आदेश उल्लंघन गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा उभिए, उनीहरुलाई इंगित गरेर भने पनि पोखरेलले सही कुरा भनेका छन् । हो त, प्रधानमन्त्री ओलीले संसद् विघटनको गौरवपूर्ण काम गरे, पुनः निर्वाचनको रागमा संसद्लाई अर्थविहीन बनाइरहेका छन्, उनका हकमा पनि शंकर पोखरेलको सिद्धान्त लागु हुन्छ ।

सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम गलत थियो भनेरे दण्डित गर्दा पनि शकुनी पासा फ्याँकेर एकपछि अर्को स्वेच्छाचारी कदम चालिरहेका छन्, प्रश्न उठ्छ ‘एमाले अध्यक्ष ओली विध्वंशक कि निर्माता ?’ सर्वोच्चले दुई पार्टीलाई पुरानै ठाउँमा फर्काएको अवस्थामा जेठ २ को एकीकरण अगाडिको स्थानमा फर्काएर पार्टीभित्रै समस्याको हल नखोजेर विधि, विधान मिच्ने ओली विध्वंशक कि निर्माता ?

पार्टी अनुशासनको अदब देखाएर गुटका केही मानिसको अहंकार पूरा गरेर सिंगो आन्दोलनलाई ध्वंश गर्ने प्रवृत्तिविरुद्ध इमान्दार कार्यकर्ताले फ्लोरक्रस गर्नु समयको बाध्यता हो । प्रकाश ज्वालाहरुलाई यो विन्दुमा ल्याइपुर्याउने ओली प्रवृत्ति नै हो ।


कम्युनिष्ट पार्टी फलामे अनुशासन भएको पार्टी हो । यो जनाधार र कार्यकर्तामा आधारित पार्टी हो । वडा कमिटीदेखि अध्यक्षसम्म स्वाभिमानी र बलिदानीपूर्ण भावनाले लैस भएका कार्यकर्ताहरु यसमा संलग्न हुन्छन् । व्यक्तिगत लोभ र मोहमा होइन, समाजका तल्लो तहका, दबिएका हेपिएकाहरुको पक्षमा बुलन्द आवाज उठाउनेहरु कम्युनिष्ट बन्न लायक हुन्छन् । उनीहरु नैतिक रुपमा बेदाग हुन्छन् ।

कसैले अनैतिक काम गरेमा पार्टीभित्रबाट दण्डित हुन्छ र उसलाई जिम्मेवारीबाट मुक्त गरिन्छ । असाध्यै प्रारम्भिक यी शर्तहरुमा थपिएको अर्को महत्वपूर्ण कुरा के हो भने, कम्युनिष्ट पार्टी भित्र असहमत विचारहरुको सधै सम्मान गरिन्छ । विडम्वना, अहिलेको एमालेको चालढाल हेर्दा ठ्याक्कै उल्टो देखिन आएको छ ।

अध्यक्ष ओली स्वयंले पार्टीको आधिकारिक बैठकलाई अस्वीकार गर्ने स्वेच्छाचारी चरित्र देखाउँदै दलाल, भ्रष्ट र बदनाम मारवाडीहरुको घेराबन्दीमा पार्टीभित्रका अनुशासित नेता कार्यकर्ताको हुर्मत काढ्ने काम गरेपछि तलसम्म जाने सन्देश त्यही नै हो । कम्युनिष्ट पार्टी भित्रको अन्तरसंघर्षको व्यवस्थापनमा ओली पूर्णत असफल भएका छन् ।

अल्पमतको विचारलाई सम्मान गर्दै बहुमतको शासन गर्ने न्यूनतम मूल्य र मान्यतालाई लात हानेपछि सिर्जित हुन्छन् यस्ता विद्रोहहरु । संसदीय अभ्यास भएका मुलुकहरुमा यस्तो हुने गर्दछ । संसदीय भासमा चुर्लुम्म डुबेका नेपालका कम्युनिष्टहरुका व्यवस्थापकीय गुरु यसबखत बेलायतको संसदीय प्रजातन्त्र भएको छ ।

जनताको बहुदलीय प्रजातन्त्रमा बेलायती लोकतन्त्रको जलप लगाएर टल्काइएको छ सिद्धान्त । त्यसकै इतिहासमा चर्चिलले ‘फ्लोर क्रस’ गरेको कुरा पढे हुने । पार्टी अनुशासनको अदब देखाएर गुटका केही मानिसहरुको अहंकार पूरा गरेर सिंगो आन्दोलनलाई ध्वंश गर्ने प्रवृत्तिका विरुद्ध इमान्दार कार्यकर्ताले फ्लोरक्रस गर्नु समयको बाध्यता पनि हो ।

प्रकाश ज्वालाहरुलाई यो विन्दुमा ल्याइपुर्याउने त ओली प्रवृत्ति हुन् । २०७४ जेठ २ को अवस्थामा फर्काएर पार्टीभित्र विचारविमर्श गरेर पार्टी निर्माणको नयाँ अध्याय आरम्भ गर्ने दायित्व अधिवेशनबाट निर्वाचित अध्यक्षको होइन र ? के अध्यक्ष ओलीले त्यो विधि निर्वाह गरे ? अहिले सबैतिर यही प्रश्न उठिरहेको छ ।

बालुवाटारमा माक्र्स र लेनिनको फोटो झुण्ड्याएर गरिने कर्मकाण्डीय कम्युनिष्ट पद्धति धेरै समय टिक्दैन । मूलतः कम्युनिष्टहरुको सफलता र असफलताको प्रमुख आधार भनेको पार्टीले लिने सिद्धान्त र त्यो सिद्धान्तको कार्यान्वयन पक्ष हो । बोल्सेभिक क्रान्तिको मोडालिटी तयार गर्दा लेनिनले धेरै कार्यकर्ता पंक्तिबाट आलोचित हुने कार्यक्रमहरु पनि ल्याएका थिए ।

यसमा पहिलो शर्त थियो, फलामे अनुशासन । उनको मोडालिटीको आधार थियो वर्ग संघर्ष । श्रमजीवी जनताको एकीकृत शक्ति । त्यो एकीकृत शक्तिले जारहरुको सत्तामा हमला । लेनिनले क्रान्ति सम्पन्न भइसकेपछि के गर्ने ? पार्टीको नेतृत्व कस्तो हुने, कार्यकर्ताहरुको परिचालन कसरी गर्ने ? अवसरहरुको वितरण कसरी हुने ? पूँजीको परिचालन कसरी तल्लो तहमा पुर्याउने ? शिक्षा र स्वास्थ्यमा गरिबहरुको पहुँच कसरी पुर्याउने जस्ता धेरै योजनाहरु पार्टीपँक्तिलाई दस्तावेजको रुपमा बाँडेका थिए ।

तिनै लेनिनलाई आदर्श मानेर लेनिनवादी पद्धतिको गँजेडी गफ हाँक्ने ओली गुटका हर्ताकर्ताहरुको न बोलीमा लगाम छ, न कुनै जनतान्त्रिक कार्यक्रम नै छ । उखान टुक्का, दिनहुँजसो भैरहेका उद्घाटन तर, कम्युनिष्ट सरकार छ भन्ने छनक आउने दीर्घकालीन कामहरुको कुनै सुइँको जनताले पाएका छैनन् । रासनपानीको मूल्य बढेको बढ्यै छ ।

चुच्चे नक्शाको गफ गरेर के गर्नू ? एमसीसी पास नभए सबैकुरा सत्यानाश हुने झै ओली समूह लिट्टी कसेर एमसीसी पास गराउने कुरामा लागेको छ । छिमेकी देशका जासुसका हाकीमहरु ओलीको विस्तारासम्म पुग्ने पहुँच राख्दछन् ।

परराष्ट सम्बन्ध असन्तुलित भएको लक्षण देखिन थालेको छ । ओली गुट धरहरा र सगरमाथाको मापन देखाएर ओलीको गुणगान गाउन व्यस्त छन् । ठूला काम त केही भएकै छैनन्, काम गर्न दिएनन् भनेर प्रचण्ड र माधव नेपाललाई गालीको बमवाण गरेर फेरि चुनाव जित्ने दाउ ओलीको छ ।

सत्ताको रापताप छँदासम्म अवसरवादीहरु जति उफ्रिए पनि भोलि जमीनमा आइपुग्दा चाहिने भनेका प्रकाश ज्वालाहरु नै हुन् । पार्टीलाई जीवन्त राख्ने कार्यकर्ताहरु नै हुन् । शुभेच्छुकहरु नै हुन् । जमीनका मतदाताको प्रश्न एउटै छ, एकीकृत हुँदा झिनो मतको अन्तरमा जितिएका ठाउँहरुमा विभाजित भएर जाँदा जितिन्छ कसरी ?

सहकर्मीहरुको मानमर्दन गरेर र हुर्मत काढेर स्वयं अनुशासन उल्लंघन गर्नेले अरुलाई अनुशासनको पाठ सिकाउने कसरी ? आफ्नाले हजार गल्ती गरे पनि माफी पाउने, आफूइतरका मानिसहरुलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरेपछि समाजवादी गन्तव्यमा पुगिन्छ कसरी ?पार्टीको मार्गदर्शक सिद्धान्त ‘बा’ हुनुहुँदैन ।

जनताको बहुदलीय जनवाद सोकेसमा सजाएर राखेर वस्तु किमार्थ होइन । न त यो वाचाल कुनै धर्मग्रन्थ जस्तो हो । परिवर्तित सन्दर्भमा असहमतहरुका विचारलाई यसरी अपमानित गर्दै आफ्नै गुटलाई मात्रै मखलेल गर्दै जाँदा सिंगो कम्युनिष्ट आन्दोलन विसर्जन हुनपुग्दछ ।

कर्णाली विद्रोहको यो सन्देश सत्ताको मदले श्रवणशक्ति शून्यमा पुगेका ओली गुटले सुन्लान् भन्ने कुरामा शंकै छ । त्यसैले त कवि अर्जुन पराजुलीले लेखेका छन्, ‘संविधान क्रस गर्नेले भनेको, फ्लोर क्रस गर्नु अपराध हो ।’

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्