मर्ने त मरिहाले, बाचेकालाई पनि बाच्न मन लाग्दैन ! « Drishti News – Nepalese News Portal
Logo
कोरोनाले मानसिक समस्या

मर्ने त मरिहाले, बाचेकालाई पनि बाच्न मन लाग्दैन !


दुर्गा देवकोटा


टीकापुर । कैलालीको टीकापुरकी ४० वर्षीयाया अनिता (नाम परिवर्तन)का श्रीमानको कोरोना सङ्क्रमणका कारण संयुक्त अरब इमिरेट्सको दुबईमा मृत्यु भयो । उनी वैदेशिक रोजगारीका क्रममा दुबई थिए । तीन वर्ष दुबईमा रोजगारी गरेर घर फर्कने तयारीमा रहेका अनिताका श्रीमान कोरोना सङ्क्रमणका कारण हवाई सेवा बन्द भएपछि फर्किन पाएनन् ।

आफ्ना ४१ वर्षीयाय श्रीमानसँग अनिताको अघिल्लो वैशाखको अन्त्यमा फोनमा कुराकानी भएको थियो । दुई दिनअघि टाउको दुखेको छ भनी फोन गरेका उनीसँग दुई दिनपछि फोन गर्दा उठेन । उनले फोन उठाउन छोडेपछि घर परिवारमा चिन्ता छायो ।

अनिताकी छोरीले उनीसँगै दुबईमा काम गर्ने साथीलाई फोन गरिन् । उनले कोरोना भाइरस सङ्क्रमण भएकाले अस्पताल लैजान लागेको खबर दिए । त्यसपछि १० दिनसम्म न दुबईबाट फोन आयो, न कसैसँग सम्पर्क भयो । यता परिवारमा पीडा थपियो । ११ दिनपछि गत वर्ष जेठ ६ गते उनले काम गर्ने कम्पनीका मालिकले फोनमै अनितालाई कोरोना सङ्क्रमणका कारण मृत्यु भएको खबर सुनाए ।

घर आउने तयारीमा रहेका श्रीमानको मृत्युको खबर अनितालाई असह्य भयो । उनी मुर्छित भइन् । छिमेकीले पनि अनिताले फोनमै रोइकराइ गरेको सुने । कोरानाका कारण उनको मृत्यु भएको खबर गाउँमा फैलियो । उनको परिवारमा मात्रै नभएर गाउँभरि शोक छायो ।

अनिताका दुई छोरी र एक छोरा छन् । जेठी छोरीको उमेर २१ वर्ष पुगेको छ भने कान्छी छोरी १८ वर्षकी भइन् । छोराछोरीहरुले बुबाका साथी र कम्पनीका मालिकलाई बुबाको शवको भिडियो वा फोटो देखाइदिन धेरै अनुरोध गरे, तर हेर्न पाएनन् ।

दुबईमा उनको मृत्यु भएको १६ दिनपछि त्यहाँको सरकारले नै उनको अन्त्येष्टि गर्यो । यता घरमा उनको काजक्रिया भयो । उनी विदेश जाँदा रु पाँच लाख ऋण लिएका थिए । उनको दुबईमा खासै कमाई पनि थिएन । दुई÷तीन महिनामा कहिले रु ४० हजार त कहिले रु ५० हजार पठाउँथे । त्यो रकम घरखर्चमै सकिन्थ्यो । श्रीमानले पठाएको रकम बचाएर अनिताले रु दुई लाख ५० हजार ऋण तिरिसकेकी थिइन् । रु दुई लाख ५० हजार ऋण तिर्न बाँकी नै थियो ।

अनिताले सुस्केरा हाल्दै भनिन््, ‘तीन छोराछोरी छन् । घरको सम्पत्ति केही छैन । कमाउने आधार छैन । रोजगारीमा गएका श्रीमान अर्काको देशमा बिते । मैले केही सोच्न सकिनँ । हामीले आत्महत्या गर्ने योजना बनायौँ ।’ ‘म तीन महिनासम्म कहिल्यै पनि राम्ररी सुत्न सकिनँ । खाना खान मन लागेन । अरूसँग बोल्न पनि मन लागेन । सधैँ टोलाई मात्रै रहेँ’, उनले भनिन्, ‘त्यस समयमा त मैले मृत्यु मात्र विकल्प देखेँ, बाच्ने अरू कुनै आधार नै देखिन ।’

अनिताको मानसिक अवस्था बिग्रन थालेको चाल पाएपछि छिमेकीले कैलालीको लम्की घर भएका मनोसामाजिक परामर्शकर्ता धनराज विकलाई खबर गरे । धनराज हतार हतारमा अनिताको घर पुगे । उनले मनोसामाजिक परामर्श शुरु गरे । बल्ल केही दिनपछि अनिताको अवस्था सामान्य बन्यो ।

मनोसामाजिक परामर्शकर्ता धनराजले १० दिनसम्म लगातार अनिता र उनका छोराछोरीलाई परामर्श सेवा दिए । बिस्तारै अनिता शान्त भइन् । धनराजको सल्लाहमा उनले श्रीमानको बीमा रकम दाबी गरिन् । बीमाबाट रु १० लाख प्राप्त भयो । ‘बीमाको रकम पाएपछि श्रीमानले दुबई जाँदा लिएको ऋण तिरेँ ।

बचेको रकमले सानो घर बनाउन थालेकी छुँ ।’, उनले भनिन्, ‘समस्या त अहिले पनि छ । पढिरहेका दुई छोरी पढाइ छोडेर भारत कमाउन गएका छन् । मैले जन्मेपछि मृत्यु हुन्छ भन्ने नै बुझेँ । अब बाँच्छु । छोराछोरीको सहारा बन्छु ।’

अनिताकी कान्छी छोरी एसइई उत्तीर्ण भएकी छिन् । उनी कृषि विज्ञान विषय पढ्ने योजनामा थिइन् तर घरको आर्थिक अवस्था कमजोर भएकाले उनी पढाइ छोडेर कमाउनका लागि भारत गएकी छिन् । उनको पढ्ने सपना बुबाको मृत्युसँगै निम्तिएको गरिबीले तुहाएको छ ।

टीकापुरकै ४३ वर्षीयाय कविताको कथाव्यथा पनि उस्तै छ । उनका श्रीमान शेरबहादुर शाही पाँच वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए । विश्वभर कोरोना महामारी फैलियो । कोरोना महामारीकै बीच उनले गत वर्ष मलेसियामै आत्महत्या गरे ।

शेरबहादुर मलेसिया गएको पाँच वर्ष भएको थियो । उनी मलेसिया गएको तीन वर्षपछि एकपटक घर आएका थिए । फेरि मलेसिया गएका उनले दुई वर्ष उतै बिताएर सधैँका लागि घर फर्कने योजनामा थिए । गत वर्ष साउनमा उनले आत्महत्या गरेको खबर आयो । कविताका चार छोराछोरी सन्तान छन् ।

गत वर्ष साउन १६ गते साँझ घरमा श्रीमती र छोराछोरीसँग कुराकानी गरेका उनी त्यसपछि सम्पर्कविहीन भए । कविताको जीवनको त्यो अति कठिन दिन थियो । १७ गते बिहानै उनको मृत्युको खबर आयो । ‘अघिल्लो वर्ष कोरोना महामारीका कारण उहाँको खासै काम चलेको थिएन । सातामा दुई दिन सामान्य खर्चका लागि काम दिएको छ भन्नुहुन्थ्यो ।

हवाई सेवा खुलेपछि घर फर्किन्छु भन्नुभएको थियो’, आँसु झार्दै श्रीमती कविताले भनिन््, ‘एक्कासि उहाँको मृत्युको खबर आयो । तेह्र दिनपछि बाकसमा उहाँको शव फर्कियो ।’

शेरबहादुरको मृत्युपछि कविताको परिवारमा बिचल्लीमा पर्यो । श्रीमती कविताको सानो कस्मेटिक पसल थियो । श्रीमान बितेको तीन महिनासम्म निकै तनाव भएको उनले बताइन् । ‘उहाँको मृत्युपछि मैले संसार देख्न छोडे जस्तै अनुभव भयो । मेरो जीवन नै समाप्त भएको अनुभव गर्न थाले । राति निद्रा लाग्न छोड्यो’, कविता सुनाउँछिन् ।

श्रीमानको मृत्युले अति विचलित भएकी कवितामा डिप्रेशनको समस्या बल्झिन थाल्यो । छरछिमेकले उनको अवस्था देखेर मनोसामाजिक परामर्शकर्तालाई गुहारे । मनोसामाजिक परामर्शकर्ताको लगातारको ‘काउन्सिलिङ’ र उपचारपछि बिस्तारै उनको अवस्थामा सुधार आउन थाल्यो । ‘अहिले केही सामान्य भएकी छु’, उनले भनिन् ।

शेरबहादुर रोजगारीका लागि मलेसिया जाने क्रममा ऋण लिएका थिए । कविताले बीमा दाबी गरिन् । बीमाबापत रु १४ लाख पाइन् । अघिल्लो वर्षदेखि विश्वभरि फैलिएको कोरोना महामारीका कारण मानव जाति नै सन्त्रासमा परेको छ । नेपालमा पनि कोरोना महामारीका कारण हरेक क्षेत्र अस्तव्यस्त बनेको छ ।

अझ रोजगारीका लागि भारत तथा अन्य मुलुक गएका नेपालीको अवस्था झन् दयनीय बनेको छ । वैदेशिक रोजगारीमा रहेकाहरु आफ्नो तथा घरपरिवारको चिन्ताले पिरोलिएका छन् । घरमा भएका श्रीमती, आमाबुबा, छोराछोरीसहित परिवारजन दोहोरो चिन्तामा छन् ।

कोरोना महामारीको त्रासले घर रोजगारी गुमाएर वा छोडेर घर फर्किएकाहरुमध्ये अधिकांश बेरोजगार छन् । कतिपय घरपरिवारको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले मानसिक रुपमै कमजोर बन्दै गएका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका मनोज विक भारतमा रोजगारी गर्दथे । भारतमा कोरोना महामारी तीव्र बन्दै गयो । सरकारले लकडाउन गर्यो । लकडाउनका कारण रोजगारी गुमेपछि मनोज घर फर्किए ।

घर फर्किएको लामो समयसम्म बेरोजगार बस्नुपर्दा उनमा मानसिक समस्या बल्झिन थाल्यो । केही दिनअघि उनको घरमा पुग्दा उनी टोलाएर बसेका थिए । केही बेरसम्म उनले कुरा गर्न चाहेनन् । पछि विस्तारै भने, ‘मेरो सात जनाको परिवार छ । घरपरिवारको लालनपालनको जिम्मेवारी मेरै काँधमा छ । म ऋणमा चुर्लुम्म डुबेको छु । परिवार कसरी पाल्ने होला ?’

उनका परिवारका एक सदस्यका अनुसार भारतबाट फर्किएको केही महिनापछि मनोज घन्टाँैसम्म एक्लै टोलाउन थाले । उनी आफैँसँग कुरा गर्दथे । परिवारका सदस्यहरुसँग झर्किन्थे । रातभरि सुत्दैनथे ।

मनोजलाई डाक्टरकहाँ लगियो । डाक्टरले तीन महिनाका लागि औषधि दिएका छन् । मनोजले भने, ‘डाक्टरले तीन महिनासम्म औषधि खानु, शान्त रहनु र आराम गर्नु भन्नुभएको छ तर परिवार कसरी पाल्ने भन्ने चिन्ताले छोड्दैन ।’

कैलालीकै लम्कीचुहा नगरपालिकाका ४५ वर्षीयाय बलराम न्यौपाने रोजगारीका लागि भारतको सुरतमा गएका थिए । कोराना महामारी फैलिएपछि उनी ज्यान जोगाउन रोजगारी छोडेर घर फर्किए । घर त फर्किए, तर रोजगारी छैन । आम्दानीको केही बाटो छैन ।

घरपरिवार कसरी पाल्ने भन्ने दिनरातको चिन्ताले उनी तनावमा रहन थाले । उनी भन्छन्, ‘घरमा आम्दानीको कुनै स्रोत छैन । छिमेकसँग ऋण सापटका लागि गुहारेँ, कसैले पनि पत्याएनन् । परिवार पाल्नै कठिन भयो ।’

सधैँ तनावमा रहन थालेपछि उनी बिरामी परे । परिवारका सदस्यले उनलाई उपचारका लागि अस्पताल लगे । डाक्टरले निद्रा लाग्ने औषधि दिए । बलराम भन्छन्, ‘गाउँमा कुनै रोजगारी पाइएन । खान लाउनको समस्या भएपछि म चिन्ताले थला परेँ । निकै बिरामी छु । डाक्टरको सल्लाहमा निद्रा लाग्ने औषधि सेवन गरिरहेको छु ।’

यस्तै, अवस्था टीकापुर नगरपालिकाका मानसिंह परियारको पनि छ । उनका दुई छोरा रोजगारीका लागि खाडी मुलुकमा छन् । कोरोना महामारी फैलिएर लकडाउन भएपछि मानसिंह तनावमा परे । उनले पनि लकडाउन भएपछि पाँच महिनासम्म राम्ररी सुत्न पनि नसकेको बताउँछन् । वैदेशिक रोजगारीमा रहेका दुवै छोराको कोरोना महामारी र लकडाउनका कारण रोजगारी गुमेपछि भोक न निद्रा भएको उनको अनुभव छ ।

छोराहरु विदेशमा अलपत्र झैँ परेपछि मानसिंहले ऋण सापट गरेर रकम पठाएर एउटा छोरा र बुहारीलाई घर फर्काए । अर्को छोरा अहिले पनि विदेशमै छन् । उनी रोजगारमै छन् तर कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएपछि मानसिंहलाई छोराको चिन्ताले निकै पिरोलेको छ । विदेशमा रहेका छोराको चिन्ताले उनमा मानसिक समस्या देखिन थालेको छ । उनी आजभोलि बरबराउने, खाना नखाने, नसुत्ने समस्यामा परेका छन् ।

उनी भन्छन्, ‘मलाई अघिल्लो वर्ष चैतदेखि नै छोराहरुको चिन्ताले समस्या भइरहेको थियो । अहिले पाँच महिनादेखि निद्रा लाग्न छोडेको छ । खाना खान मन लाग्दैन । अरूसँग कुरा गर्न झर्को लाग्छ । रिस उठ्छ ।’ समस्या बढेपछि उनी डाक्टर कहाँ गए । उनले भने, ‘डाक्टरको सल्लाहअनुसार तीन महिनासम्म औषधि सेवन गरेँ । अहिले अलिकति सहज भएको छ ।’

विश्वभर कोरोना महामारी फैलियो । नेपालमा पनि कोरोना फैलिएपछि गत वर्ष चैतदेखि लकडाउन भयो । करीब आठ महिनासम्म सबै क्षेत्र बन्द रह्यो । लकडाउनपछि आर्थिक, सामाजिक, पर्यटन सबै क्षेत्र अस्तव्यस्त बन्यो । यससँगै भारत तथा अन्य मुलुकमा वैदेशिक रोजगारीमा रहेकाहरुको कमाईबाट घरखर्च चलाउने परिवारका सदस्यहरु समस्यामा परेका छन् । कतिपयमा मनोसामाजिक समस्या देखिन थालेको छ ।

केही समय कोरोना महामारी स्थिर रहेकामा अहिले फेरि कोरोना सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएको छ । पछिल्ला केही सातायता नेपालमा कोरोनाको दोस्रो भेरियन्टका कारण हाहाकार अवस्था छ । कैलाली, कञ्चनपुरसहित नेपालका दुई दर्जनभन्दा बढी जिल्लामा पूर्णरुपमा लकडाउन शुरु गरिएको छ भने केही जिल्लामा आंशिक रुपमा लकडाउन गरिएको छ ।

भारतसहित अन्य मुलुकमा वैदेशिक रोजगारीमा रहेका व्यक्ति तथा उनका परिवारजनमा मानसिक समस्या देखिन थालेपछि कैलालीमा केही मनोपरामर्शकर्ताहरुले उनीहरुलाई मनोपरामर्श सेवा दिने गरेका छन् । कैलालीमा एक संस्थामा कार्यरत लक्ष्मी चौधरीले भनिन्, ‘हामीले एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा रहेका व्यक्ति तथा उनका परिवारका सदस्यहरु ८६ जनालाई मनोपरामर्श सेवा दिएका छौँ । मनोपरामर्शकर्ताहरुले मनोसामाजिक समस्यामा रहेकाहरुलाई परामर्श दिने, उपचारका लागि सहयोग गर्ने गरेका छौँ ।’

चिकित्सकहरु मानसिक समस्यामा रहेकाहरुको समयमै व्यवस्थापन गर्न नसके भविष्यमा झन् जोखिम बढ्ने बताउँछन् । चिकित्सकहरु भन्छन्, ‘मानसिक समस्या समयमै व्यवस्थापन गरिएन भने मानिसमा पागलपनको समस्या हुनसक्छ । आत्महत्या पनि यसकै एउटा कारण हो ।’ रासस

प्रतिक्रिया दिनुहोस्