Logo
Logo

उपत्यकाका चार स्थानमा कोरोना अस्पताल सञ्चालनको तयारी, चीनबाट अक्सिजन सिलिन्डर ल्याइँदै




काठमाडौं । काठमाडौं उपत्यकाका चार स्थानमा कोरोना भाइरस संक्रमितको उपचारका लागि कोरोना अस्पताल सञ्चालन गरिने भएको छ । वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना संक्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा वैशाख २० गते गरेको सम्बोधनलाई कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो तयारी थालेको हो ।

उक्त कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार स्थानमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शङ्कर नेपालले जानकारी दिए ।

कार्ययोजनाअनुसार वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचङ्गु नारायणमा रहेका संरचनालाई शनिबारसम्म आईसीयू शय्यासहितको कोभिड अस्पतालमा रूपान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।

पहिलो कोरोना महामारीका बेलामा पनि यी ठाउँहरूमा रहेका संरचनालाई कोरोना सङ्क्रमितहरूको उपचारका लागि प्रयोगमा ल्याइएको थियो ।

अस्पतालहरूको क्षमता, बिरामी सङ्ख्या, उपचारको प्रकृति र आइसीयू शय्या र भौगोलिक सन्तुलनको आधारमा मापदण्ड बनाई अस्पतालहरूलाई आवश्यक पर्ने अक्सिजन सिलिन्डरको सङ्ख्या निर्धारण गर्ने गरी कार्ययोजना निर्माण गरिएको छ ।

चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याइने
चीनबाट अनुदानस्वरूप प्राप्त हुन लागेको २० हजार अक्सिजन सिलिन्डरमध्ये वैशाख ३१ गतेभित्र पहिलो लट ल्याउने तयारी भएको छ ।

पहिलो खेपमा कति सङ्ख्यामा सिलिन्डर ल्याउने भन्नेबारे कार्ययोजनामा उल्लेख छैन । त्यसैगरी भारतबाट लिक्विड अक्सिजन आयातका लागि तुरुन्त कूटनीतिक पहल सुरु गर्न परराष्ट्र मन्त्रालयलाई जिम्मेवारी तोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शङ्कर नेपालले बताए ।

अक्सिजन सिलिन्डर ल्याउने कामको जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा अर्थ र परराष्ट्र मन्त्रालयलाई दिइएको उनको भनाई छ । नेपालमा कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि चीनले अनुदानस्वरूप २० हजार अक्सिजन सिलिन्डर उपलब्ध गराउने घोषणा गरेको थियो ।

केन्द्रीय सुचना प्रणाली
कोरानो भाइरस (कोभिड-१९) अस्पतालहरूमा भएको कुल शय्या सङ्ख्या, भरिएका र खाली शय्याको सङ्ख्यासम्बन्धी वास्तविक समयको विवरण तत्काल उपलब्ध हुने गरी केन्द्रीय सूचना प्रणालीको स्थापना गरिने भएको छ । यसका लागि सञ्चार तथा सूचना मन्त्रालयको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जिम्मेवारी दिइएको सहसचिव नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्