Logo
Logo
सुदूरवासीको पीडा

कोरोना परीक्षणको रिपोर्ट पर्खदा पर्खँदै प्राण त्याग्दै !

सुदूरपश्चिममा कोरोना परीक्षणको रिपोर्ट पाउनै सकस


हिक्मत बम


धनगढी । स्वास्थ्यमा समस्या देखिएपछि कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ की ५१ वर्षीया दुर्गा रावल वैशाख १४ गते टीकापुर अस्पताल भर्ना भइन् । ज्वरो आएका कारण डाक्टरले कोरोना परीक्षण गराउन सल्लाह दिए । नमुना संकलन भयो । रिपोर्ट नआउँदै रावलको स्वास्थ्य अवस्था जटिल बन्दै गयो । अस्पतालले उनलाई आईसीयूमा राख्नुपर्ने तर टीकापुरमा सेवा नभएको भन्दै अन्यत्र लैजान भनेपछि नेपालगञ्जको भेरी अस्पताल लगियो ।

वैशाख १६ गते कैलालीबाट रेफर गरिएकी रावलको बाटोमै मृत्यु भयो । त्यति बेलासम्म उनको कोरोनाको रिपोर्ट आइसकेको थिएन । परिवारका सदस्यले कैलाली ल्याएर मृतक रावलको अन्त्येष्टि गरेपछि मात्र वैशाख १७ गते उनलाई कोरोना संक्रमण भएको रिपोर्ट प्राप्त भयो ।

वैशाख १४ गते आमासँगै स्वाब दिएका दुर्गाकी छोराको रिपोर्ट नेगेटिभ आयो । आमाको निधन भएको केही दिनपछि छोरा तपेन्द्रलाई रुघाखोकीले च्याप्यो । पुनः कोरोना परीक्षण गर्ने निधो गरे । सोमबार टीकापुर नगरपालिका पुगेर स्वाब दिएका रावलको रिपोर्ट पाँच दिनपछि शुक्रबार नेगेटिभ आएको छ ।

‘आमाको रिपोर्ट मृत्यु भएपछि मात्र आयो,’ उनले भने, ‘मैले सोमबार नमुना दिएको थिए । आज बल्ल रिपोर्ट आयो । परीक्षणमा निकै ढिलासुस्ती भइरहेको छ । मृत्युपछि मात्र रिपोर्ट आउनु बिडम्बना हो । यो समस्याको निराकरण हुनुपर्छ ।’

टीकापुर नगरपालिकाकै ४५ वर्षीया एक महिलाले १८ वर्षीया छोरी र आफूलाई कोरोनासँग मिल्दाजुल्दो लक्षण देखिएपछि परीक्षणका लागि पाँच दिनअघि थ्रोट स्वाबको नमुना दिएका छन् । तर अहिलेसम्म रिपोर्ट नआएको उनले बताइन् ।

‘छोरी र मलाई रुघाखोकी लाग्ने, ज्वरो आउने, जिउ दुख्ने समस्या थियो,’ उनले भनिन्, ‘कतै कोरोनाको संक्रमण भइहाल्यो कि भनेर गत सोमबार नगरपालिकामा गएर स्वाब दिएका थियौं । तर आजसम्म रिपोर्ट आएको छैन । खै कहिले आउँछ ? मान्छेको मृत्यु भएपछि आएको रिपोर्टको के काम र ?’

निरीह नगरपालिका
टीकापुर नगरपालिकाले कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दै आएको छ । तर पीसीआर मेसिन नहुँदा परीक्षणका लागि संकलन गरिएको नमुना धनगढी पठाउनुपर्ने बाध्यता छ ।

टीकापुर नगरपालिकाका स्वास्थ्य संयोजक बलबहादुर रावलले सोमबार र बिहीबार शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाउने गरेको बताए । तर परीक्षणमा ढिलाइ हुँदा समस्या हुने गरेको उनले सुनाए ।

‘२० गते १०० जनाको नमुना संकलन गरेर परीक्षणका लागि धनगढी पठाएका थियौं,’ उनले भने, ‘प्रयोगशालामा चाप धेरै छ भन्ने सुनिंदैछ । रिपोर्ट नआएपछि गम्भीर बिरामी पनि प्रतीक्षामै अस्पतालमा छट्पटाइरहनु भएको छ । हाम्रो बाध्यता यस्तै छ ।’

धनगढीबासीको मर्का पनि उस्तै
धनगढी उपमहानगरपालिका–४ बोराडाँडीकी ४० वर्षीया महिलाले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि वैशाख २० गते स्वाब संकलन केन्द्रमा पुगेर नमुना दिएकी थिइन् । स्वास्थ्यमा समस्या बढ्दै गयो तर शुक्रबारसम्म उनको रिपोर्ट आएको थिएन ।

‘नमूना दिएको पाँच दिन पुगिसक्यो, अहिलेसम्म रिपोर्ट आएको छैन,’ उनले गुनासो गर्दै भनिन्, ‘परीक्षण गर्नै हप्ता दिन लाग्छ । अस्पताल गयो भने कोरोना परीक्षण गराउनु होला अनि औषधि चलाउने भन्छन् । रिपोर्ट आउँदासम्म स्वास्थ्य अवस्था धेरै बिग्रिसक्ने हो कि भन्ने चिन्ता छ ।’ उनीसँगै परीक्षणका लागि नमुना दिएकी धनगढी उपमहानगरपालिका–५ की अर्की महिलाको गुनासो पनि उस्तै छ । भन्छिन्, ‘यो देशमा सरकारै सरकार छन् । हप्ता दिनसम्म रिपोर्ट दिन सक्दैनन् भने ती सरकारको के काम ?’

नमुना संकलन धेरै, प्रयोगशाला कम
धनगढी उपमहानगरपालिकाले सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा नमूनाको चाप धेरै हुँदा समस्या भएको बताएको छ । उपमहानगरका प्रवक्ता सन्तोष मुडभरीले दैनिक कम्तीमा पनि २०० जनाको नमुना परीक्षण गरेर पठाउने गरेकोमा हप्ता दिन पहिलेकै रिपोर्ट आउन नसकेको जनाए ।

‘कैलाली र कञ्चनपुरका प्रायः सबै ठाउँबाट परीक्षणका लागि नमुना सेती प्रादेशिक अस्पतालमै आउँछ,’ मुडभरीले भने, ‘त्यहाँ चाप अत्याधिक भएकै कारण समस्या भएको जानकारी आएको छ । उहाँहरुले तत्काल थप नमुना नपठाउनु भन्नुभएको छ ।’ उनका अनुसार अब उपमहानगरपालिकाले आइतबार र सोमबार थप नमुना संकलन नगर्ने निर्णय गरेको छ ।

१२०० नमुना परीक्षणको पर्खाइमा
सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले नमुनाको चाप धेरै र मेसिनको क्षमता तथा जनशक्ति कम हुँदा समस्या भएको बताए ।

शाहीले अहिले दैनिक बढीमा ६ सय जनाको परीक्षण भइरहेपनि अझै एक हजार २०० भन्दा धेरै नमुना बाँकी रहेको बताए । ‘सबैतिरबाट संकलन भएका नमुना परीक्षणका लागि हामीकहाँ नै आउँछन्,’ शाहीले भने, ‘दैनिक ६ सय जनाको परीक्षण गरिरहेपनि भ्याइरहेका छैनौं । दुई दिनका लागि अझै नमुना बाँकी छ ।’

सेती अस्पतालको प्रयोगशालामा जडान गरिएको प्रयोगशालाले चाप थेग्न नसकेका बेला धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा रहेको मेसिन प्रयोगविहीन छ । दैनिक कम्तीमा पनि एक हजार जनाको नमुना परीक्षण गर्न सक्ने क्षमता भएको सो प्रयोगशालामा रहेको मेसिन सेतीमै जडान गरेर परीक्षणको दायरा बढाइने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले उक्त प्रयोगशाला संघीय सरकार मातहत भएका कारण मेसिनका लागि आग्रह गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्