Logo
Logo

अवार्डको नालीबेली : संसारमै धेरै अवार्ड नेपालमा


एमपी सुब्बा


काठमाडौं । नेपाली चलचित्र र गीतसंगीत क्षेत्रलाई समेटेर नेपालमा यति धेरै अवार्डहरु हुने गरेको कि संख्याको हिसाबले नेपाल विश्वमै धेरै अवार्ड गर्ने देशमा पर्छ । यहाँ कति अवार्ड हुन्छ भन्ने ठ्याक्कै यकिन छैन । तर, बाहिर आएकाहरुको संख्या करिब ६० पुग्छ ।
स्रष्टा र सिर्जना, व्यवसाय र विभिन्न क्षेत्रसँग जोडेर सम्मान र पुरस्कार पनि दिइँदै आएको छ तर, त्यसको लेखाजोखा छैन । अवार्ड र सम्मानलाई व्यापार मान्न थालिएको छ । जसले गर्दा अवार्ड भन्नेवित्तिकै धेरैले नाक खुम्च्याउन थालिसकेका छन् । कतिपय कलाकारले ‘अवार्ड दिएर बदनाम नगर’समेत भन्न थालेका छन् ।


गीतसंगीत, चलचित्रका कलाकारलाई सम्मान र प्रोत्साहन गर्नलाई भनिएपनि धेरैजसो अवार्ड व्यापारकै रुपमा फस्टाउँदै आएका छन् । अहिलेसम्म अधिकांश अवार्ड निष्पक्ष र विवादरहित हुन सकेको छैन । व्यापारिक र नातावादमा अवार्ड अवार्ड बाँड्ने चलन बढ्दै गएपछि आयोजकहरु बदनाम हुन थालेका छन् । त्यसैले पछिल्लो समय अवार्डहरु विदेशमा आयोजना गर्न थालिएका छन् ।


अवार्डको सुरुवात
नेपालमा अवार्डको सुरुवात २०४३ सालमा ‘लायन्स क्लब अफ विशालबजार’ले गरेको हो । बलिउडका कलाकार उपस्थित गराएर लायन्स क्लबका तत्कालीन अध्यक्ष भरतलाल श्रेष्ठले अवार्डको सुरुवात गरेका थिए । लायन्स क्लबले सुरुवात गरेपछि नेपाली फिल्म अवार्ड पनि आयोजना गर्न सकिने रहेछ भनेर अन्य अवार्ड सुरु भएका हुन् ।
५० को दशकपछि नेपाल चलचित्र संघको आयोजनामा ‘मोशन पिक्चर्स अवार्ड’ भएको थियो । तर, उक्त अवार्डले निरन्तरता दिन सकेन । मोशन पिक्चर्स अवार्डले फिल्मीकर्मीको मन जित्ने अवसर नपाउँदै बन्द भयो । हाल त्यसैको आयोजनामा ‘नेम्फा फिल्म अवार्ड’ अमेरिकामा हुँदै आएको छ । ‘नेम्फा फिल्म अवार्ड’ दुईपटक अमेरिकामा भइसकेको छ ।


म्युजिक अवार्डको लहर
म्यूजिक अवार्डको सुरुवात ‘हिट्स एफएम’ले गरेको हो । गीतसंगीतको क्षेत्रलाई मात्र लक्षित गरेर आयोजना गरिएको यो पहिलो अवार्ड हो । यो अवार्डले २२ वर्ष पार गरिसकेको छ । २०५२ सालमा हिट्स एफएमको स्थापना भएपछि २०५४ सालमा ‘हिट्स एफएम म्यूजिक अवार्ड’ सुरुवात भएको थियो । फिल्म अवार्डबाट सुरु भएको हिट्स एफएमले म्यूजिक अवार्डको यात्रातर्फ उन्मुख गराएको थियो ।
त्यसपछि इमेज एफएमको स्थापनासँगै २०५५ सालबाट ‘इमेज अवार्ड’ सुरु भयो । इमेज ग्रुफ अफ कम्पनीबाट आयोजना हुने यो अवार्ड दोस्रो ठूलो म्यूजिक अवार्डका रुपमा हेरिन्छ । त्यस्तै, २०५९ सालमा मोफलसबाट कालिका एफएमले पनि गीतसंगीत क्षेत्रका स्रष्टालाई सम्मान गर्ने भन्दै अवार्ड सुरु ग¥यो ।
२०६१ सालबाट ‘कालिका म्यूजिक अवार्ड’ले आफ्नो यात्राको आरम्भ ग¥यो र गीतसंगीतका विभिन्न २६ विधामा अवार्ड प्रदान गर्दै आएको छ । मोफसलकै एफएम पोखराको अन्नपूर्ण रेडियोले पनि आफ्नो स्थापनासँगै अवार्डमा हात हालेको थियो । तर, पाँचौं अवार्ड वितरण गर्दै उसले अवार्ड स्थगन ग¥यो ।
एफएफहरुले व्यवसायिक प्रतिष्ठानसँग समन्वय गर्दै म्यूजिक अवार्ड आयोजना गरिरहँदा सञ्चारभन्दा बाहिरको विन्ध्यवासिनी म्यूजिक प्रालिले पनि अवार्ड सुरु ग¥यो । विन्ध्यवासिनीले ९ वर्षदेखि निरन्तर अवार्ड गर्दै आएको छ ।
टिभी, एफएमहरुको अवार्डपथलाई पछ्याउँदै अनलाइन पत्रिका ‘म्यूजिक खबर डटकम’ले पनि २०६९ सालदेखि अवार्ड सुरु ग¥यो । ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ ७ वर्षयता निरन्तर हुँदै आएको छ ।
यससँगै अवार्डको संख्या ३४ भइसकेका छन् । यी सबै नेपालमा आयोजना भएका अवार्डहरु हुन् । यीमध्ये २० वटा म्यूजिक अवार्डले १ वर्षदेखि २२ वर्षसम्मका विभिन्न चरण पार गरिसकेका छन् भने ४ वटा यसै वर्षबाट सञ्चालनमा आएका छन् । अवार्डको लहरमा लहरिँदै आयोजना भएका ९ वटा अवार्ड बन्द भइसकेका छन् । केही अवार्ड आयोजकले फर्मको रकम लिएर चुपचाप बसेका छन् ।


भइरहेका अवार्डहरु
आयोजना हुने सबै अवार्डले निरन्तरता पाउन सक्दैन । यहाँ हिट्स एफएम म्यूजिक अवार्ड, इमेज म्यूजिक अवार्ड, कालिका म्यूजिक अवार्ड, विन्ध्यवासिनी म्यूजिक अवार्ड, म्यूजिक खबर म्यूजिक अवार्ड, राष्ट्रिय रापती म्यूजिक अवार्ड, राष्ट्रिय लोकदोहोरी अवार्ड, तीज म्यूजिक अवार्ड, सुन्दरादेवी सन्देश म्यूजिक अवार्ड, नेशनल क्यापिटल अवार्ड, म्यूजिक भिडियो अवार्ड, मनास्लु नेशनल अवार्ड, ओएस म्यूजिक अवार्ड, मनास्लु नेशनल अवार्ड, रेडियो कान्तिपुर नेशनल म्यूजिक अवार्डलगायतले मात्र निरन्तरता पाउँदै आएका छन् ।


बन्द भएका अवार्ड
आयोजकले केही अवार्डहरु बन्द गरिसकेका छन् । तीमध्ये अन्नपूर्ण म्यूजिक अवार्ड पोखरा, जनदृष्टिकोण म्यूजिक अवार्ड, नेशनल म्यूजिक अवार्ड, सुरप्रभा गीतसंगीत अवार्ड, गोर्खाली म्यूजिक अवार्ड, एरिना म्यूजिक अवार्ड, लिम्बू म्यूजिक भिडियो अवार्ड, स्टार एफएम म्यूजिक अवार्ड, एम टीभी म्यूजिक अवार्ड र लुम्बिनी म्यूजिक अवार्ड (मोफसल) बन्द भइसकेका छन् । यसरी बन्द भएपनि अरु नयाँ थपिनेक्रम पनि छ ।
यस्तै यो वर्ष आधा दर्जन अवार्ड थपिँदैछन् । नाट्यश्वर म्यूजिक अवार्ड, एपिक नेपाल म्यूजिक अवार्ड, औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड, अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्ड र जिनियस म्यूजिक अवार्ड यसै वर्ष थपिँदैछन् । यी अवार्ड आयोजनाको तयारीमा छन् ।
डी सिने अवार्ड, नेफ्टा फिल्म अवार्ड, नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड, एनएफडीसी चलचित्र अवार्ड, कामना फिल्म अवार्ड, एलजी सिनेमा अवार्ड र फान अवार्डले चलचित्रलाई फोकस गर्दै आएको छ । चलचित्र अवार्ड विकास बोर्डको आयोजनामा हुने राष्ट्रिय चलचित्र अवार्डले निरन्तरता पाउन सकेको छैन । नेपाल चलचित्र कलाकार संघको आयोजनामा हुने गरेको ‘फान अवार्ड’ संघका पदाधिकारीभित्र नै तँछाड–मछाडले गर्दा अवार्ड बिट मार्ने अवस्थामा पुगेको छ ।


विवादमा अवार्ड
गीतसंगीत, चलचित्रका कलाकारलाई सम्मान र प्रोत्साहन गर्नलाई भनिएपनि धेरैजसो अवार्ड व्यापारकै रुपमा फस्टाउँदै आएका छन् । अहिलेसम्म अधिकांश अवार्ड निष्पक्ष र विवादरहित हुन सकेको छैन । व्यापारिक र नातावादमा अवार्ड अवार्ड बाँड्ने चलन बढ्दै गएपछि आयोजकहरु बदनाम हुन थालेका छन् । त्यसैले पछिल्लो समय अवार्डहरु विदेशमा आयोजना गर्न थालिएका छन् ।


अवार्डमा यसरी असुलिन्छ
अवार्ड आयोजकले फर्म खुलाउँछ र प्रत्येक विधामा एक हजारदेखि दुई हजारसम्म असुल गरिन्छ र भनिन्छ यो अवार्डको नियम हो । कुनै–कुनै अवार्ड आयोजकले अवार्डको उत्कृष्ट पाँचमा पार्नकै लागि फर्म भरिसकेपछि १० हजारदेखि ५० हजारसम्म लिएको कलाकार स्वयंम बताउँदै आएका छन् । यदि उत्कृष्ट पाँचमा पार्नका लागि पैसा लिइन्छ भने अवार्ड दिने बेलामा कति लिइन्छ होला ? त्यस्तै अवार्डहरुले गर्दा निष्पक्ष रुपमा हुने अवार्डका आयोजकलाई समेत एउटै तुलोमा जोखिन थालिएको छ ।


भिषाका लागि अवार्ड
अवार्डलाई पछिल्लो समय विदेश जाने अस्त्रको रुपमा प्रयोग गरिन थालिएको छ । कलाकारले अमेरिकाको ग्रीनकार्ड होस् या युके, अष्ट्रेलिया कार्यक्रम जानलाई अवार्ड र सम्मानको डकुमेन्ट देखाउने गरेका छन् । जसले उनीहरुलाई भिषा पाउन सहज हुन्छ । जसले गर्दा अवार्ड किनबेचमा परिणत भएको छ । अवार्डको विधा बिक्री हुन थालेपछि ५० देखि १२१ विधासम्ममा अवार्ड प्रदान गरिने प्रचलन बढेको छ ।


विदेशमा अवार्ड
विदेशमा अवार्ड गर्नको उद्देश्य भिन्न छ । विदेशमा अवार्ड आयोजना गर्दा आयोजकलाई रामै्र फाइदा हुन्छ । अवार्डको उत्कृष्ट पाँचमा परेका कलाकारहरु आफैँ पैसा तिरेर जाने गर्छन् । अवार्ड लिन गएका कलाकारले प्रस्तुति निशुल्क गर्ने भएपछि विदेशका आयोजकलाई कुनै पनि सांस्कृतिक कार्यक्रम आयोजना गर्न परेन । अवार्डकै नाममा महँगो टिकट बेचेर आयोजकले कमाउने गरेका छन् ।
यस्तै, प्रवृतिले गर्दा हिजोआज अधिकांश कलाकार तथा स्रष्टा अवार्ड समारोहमा देखिन छाडेका छन् । अवार्डका हकदार भएपनि त्यो कलाकार कार्यक्रममा नगएपछि आयोजकले चिया पसल वा घरमै पु¥याउन थालेका छन् । कुनै बेला अवार्ड पाएपछि गर्व गर्ने कलाकार घरमै ल्याइदिँदासमेत अहिले आफूलाई उल्टै ‘अपमान’ गरेको सम्झिन्छन् ।

प्रतिक्रिया दिनुहोस्