दमौली । दैनिक रुपमा कोभिड सङ्क्रमित बढ्न थालेपछि सदरमुकाममा रहेको दमौली अस्पतालले अक्सिजन सहितको आइसोलेशन बनायो । अस्पतालले चार भेन्टिलेटर र सात आइसियू सहित ३० अक्सिजन सिलिन्डर सहितको आइसोलेशन कक्ष बनाएको छ ।
अस्पतालले अक्सिजन सहितको आइसोलेशन बनाएपछि क सङ्क्रमित उपचार पाउनेमा ढुक्क थिए । भानु नगरपालिका–१ का ६४ वर्षीय वृद्धले समयमै उपचार नपाएर मृत्यु भएको छ ।
दुई दिन अगाडी ओम अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएका ती वृद्ध घर आएका थिए । घरमै रहँदा श्वासप्रश्वासमा समस्या भएपछि परिवारले शनिबार राति दमौली अस्पताल ल्याएको दावी गरेको छ । अस्पताल ल्याएपछि घरमै आराम गर्नु भनेर पठाएको पीडितको भनाइ छ ।
‘हिजै अस्पताल भर्ना गरिदिएको भए आजसम्म बिरामी ठिक भइसक्थे होला,’ पीडित परिवारका एक सदस्यले भने, ‘अस्पतालको लापरवाहीका कारण उहाँको ज्यान गएको छ, यसको जिम्मेवारी कसले लिने हो ?’
दमौली अस्पतालले भने आफूहरुको तर्फबाट कुनै कमजोरी नरहेको बताएको छ । पूर्व जानकारी बिना ल्याइएकाले अस्पताल भर्ना गर्न नसकिएको र पोखरा रिफर गरिएको अस्पतालको भनाइ छ । ती वृद्धको नेपाली सेनाले आइतबार राति नै शव व्यवस्थापन गरिसकेको छ ।