Logo
Logo

राष्ट्रपति भण्डारी अमेरिकामा उच्चस्तरीय भेटघाटमा व्यस्त


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २९ फागुन । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने सिलसिलामा अमेरिकाको न्युयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार उच्चस्तरीय भेटवार्तामा व्यस्त भएकी छिन्। उनले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गरेकी छिन्।

राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनका अवसरमा राष्ट्र सङ्घका महासभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले न्यूयोर्कस्थित महासभा कक्षमा आयोजना गर्नुभएको ‘शक्तिमा महिला’ मूल विषयअन्तर्गत उच्चस्तरीय सत्रमा भाग लिँदै । तस्वीर, सौजन्य : युएनवेभटिभी, रासस

भेटका क्रममा उनीहरूबीच जलवायु परिवर्तन, बहुपक्षीयता, दिगो विकासका लक्ष्य, विश्वमा शान्ति स्थापना, नेपालमा भूकम्पपछिको पुनर्निर्माणका साथै विविध विषयमा विचारविमर्श भएको न्युयोर्क्स्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

महासचिव गुटेर्रेसले करीब ४१ वर्षअघि गरेको नेपालको भ्रमणको स्मरण गर्दै राष्ट्रसङ्घीय शान्ति स्थापनाका कार्यमा नेपालले गरेको योगदानको सराहना गरे। साथै उनले उक्त विश्व संस्थामा नेपालले सक्रिय भूमिका निर्वाह गरेकामा प्रशंसा गरे।

राष्ट्रपति भण्डारीसँग अपराह्न संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभाकी अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले शिष्टाचार भेट गरिन्। ‘शक्तिमा नारी’ विषयको छलफल कार्यक्रमका साथै अन्य धेरै महत्वपूर्ण विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा राष्ट्रपतिले उनको प्रशंसा गरेकी थिइन्। अध्यक्ष ग्रेसेसले छलफलमा सहभागी भएर आफ्ना गहन अन्तर्दृष्टि र अनुभव सुनाएकोमा राष्ट्रपति भण्डारीप्रति आभार प्रकट गरिन्।

मंगलबार नै राष्ट्रपति भण्डारीले इस्टोनियाका राष्ट्रपति केस्ट्री कालजुलेड तथा क्रोएसियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग बेग्लाबेग्लै द्विपक्षीय वार्ता गरिन्। दुई देशका राष्ट्रपतिबीच जलवायु परिवर्तन, दिगो विकासका लक्ष्य, बहुपक्षीयताजस्ता समसामयिक विश्वका महत्वपूर्ण विषयमा विचार आदानप्रदान भएको उक्त नियोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

क्रोएसियाका राष्ट्रपतिसँगको भेटमा पारस्परिक हित र चासोको विविध विषयमा विचारविमर्श गर्नुका साथै राजनीतिक नेतृत्वमा नारीको भूमिकाबारे छलफल भएको थियो। नेपाल र क्रोएसियाबीच विद्यमान सुमधुर सम्बन्धप्रति दुवै राष्ट्रपतिले सन्तुष्टि व्यक्त गर्दै त्यसलाई थप घनीभूत तुल्याउनेबारेमा पनि विचार आदानप्रदान गरेकी थिइन्।

उनीसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनसँग पनि शिष्टाचार भेट गरेकी छिन्। त्यस अवसरमा उनीहरूबीच जलवायु परिवर्तन, न्याय, नारी सशक्तीकरण र नारी नेतृत्वबारे छलफल भएको थियो।

राष्ट्रपतिले आज राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्ने्छिन्। राष्ट्रपतिको सम्मानमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्त रूपमा स्वागत समारोह आयोजना गर्नेछन्।

राष्ट्रपति भण्डारी भोलि बिहीबार न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरी चैत १ गते अपराह्न राजधानी आइपुग्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्