Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोना भयावह बन्दैदेखि बहुमतको सरकार बनाउन कांग्रेस जुट्दैसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. कोरोना भाइरसबाट एकैदिन ५ हजार २ सय २५ संक्रमित निको भए, २४ घण्टामा हालसम्मकै धेरै ९ हजार ३ सय १७ संक्रमित थपिए, २४ घण्टामा २ सय २५ संक्रमितको मृत्यु, देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९७ हजार नाघ्यो, काठमाडौं उपत्यकामा ३ हजार ९ सय २७ संक्रमित थपिए, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन बिदामा बसेका सबै चिकित्सकलाई काममा फर्कायो, उपत्यकाका सबै सरकारी अस्पताल कोभिड अस्पतालमा परिणत ।

२. काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकद्वारा निषेधाज्ञा १५ दिन थप्ने निर्णय, अब दैनिक उपभोग्य सामग्रीको पसल बिहान १० बजेसम्म खोल्न पाइने, निर्माण सामग्री राति १० देखि बिहान ४ बजेसम्म ढुवानी गर्न दिने निर्णय, अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्यूनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्न दिइने निर्णय ।

३. कोरोना भाइरसको बढ्दो संक्रमणले मुलुकको अवस्था जटिल बन्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको भनाइ, कडा लकडाउन वा संकटकालको आवश्यकता रहेको दावी, कोरोना विरुद्धको खोप खरिदका क्रममा कसैलाई पनि कमिसन नदिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको दावी, खोप खरिद सम्बन्धी अनर्गल, झूटा र आत्मरतिका लागि नबोल्न नेताहरुलाई स्वास्थ्यमन्त्रीको आग्रह, सस्तोमा खोप खरिद गरेर देखाउन नेतालाई चुनौती ।

४. सर्वोच्च अदालतद्वारा कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी, न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन तथा थप साधनयुक्त अस्पताललगायत पूर्वाधार तत्काल तयार गर्न आदेश, नागरिकको जीवनसँग प्रत्यक्ष चासो राख्ने सरोकार पक्षको प्रतिनिधित्वसमेत हुने गरी एउटा कार्यसमितिको निर्माण गरी समस्या समाधान प्रभावकारी ढंगले गर्न गराउन पनि निर्देशन ।

५. आफ्नै नेतृत्वमा बहुमतको सरकार गठन गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय, बहुमतको सरकार बनाउन जनता समाजवादी पार्टी र एमाले भित्रको असन्तुष्ट समूहलाई मिलाएर अघि बढ्ने निर्णय, बिहीबार भित्रमा नै नयाँ सरकार बन्नेमा पदाधिकारी बैठक विश्वस्त, अन्य दलसँग बुधबार छलफल गर्ने ।

६. चीनले सहयोग गरेको ३५ सय अक्सिजन सिलिन्डरमध्ये पहिलो लटमा चीनबाट चारसय अक्सिजन सिलिन्डर र १० ओटा भ्यान्टिलेटर नेपाल आइपुग्यो, सामग्रीसँगै चिनियाँ कम्पनी होन्सी शिवम सिमेन्टले सहयोग गरेको १७० अक्सिजन कन्सनट्रेटर पनि काठमाडौंमा, चीनबाट अझै ३१ सय अक्सिजन सिलिन्डर नेपालले ल्याउनुपर्ने ।

७. कोरोना भाइरसको संक्रमणले नेपाललाई आक्रान्त बनाउँदै लगेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ, अन्तर्राष्ट्रिय समुदायसँग मानिसहरुको ज्यान बचाउने प्रयासमा सहयोग गर्न खोप, परीक्षण गर्ने उपकरण, अक्सिजन किट्स, सघन उपचारका औषधि र उपकरणहरु सहयोगको लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह, अन्तर्राष्ट्रिय सहयोगको मामिलामा जी–७ का मुलुकको अध्यक्षता गरिरहेको र मानव कल्याणको उपाधि जितेको बेलायतले भूमिका निर्वाह गर्ने अपेक्षा ।

८. लगातार दोस्रो दिन पनि दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम समेत वृद्धि, बुधबारदेखि बैंक तथा वित्तीय संस्थाका २५ प्रतिशत मात्रै शाखा खोल्न पाइने, कोरोना न्युनिकरणमा गोल्छा ग्रुपको १ करोड सहयोग, आईपीओको तयारीमा रहेको रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क ८९ प्रतिशतले बढेर २ अर्ब माथि पुग्यो ।

९. धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश, मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनलमा, अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा मंगलबार कोरोना भाईरसको महामारीको कारण अर्को सूचना नआएसम्मको लागि ए डिभिजिन लिग फुटबल प्रतियोगिता स्थगित ।

१०.र, भारतको आन्ध्र प्रदेशमा अक्सिजन लोड गर्न ढिलाई हुँदा ११ कोरोना संक्रमितको मृत्यु, रुसको एक विद्यालयमा मंगलबार गोली चल्दा ११ मारिए, भारतको गंगा नदीमा ४० शव तैरिरहेको अवस्थामा फेला, कोरोना संक्रमितको भएको शंका, कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको राष्ट्रसंघद्वारा निन्दा, चीनमा जनसंख्या वृद्धिदर प्रत्येक वर्ष घट्दै ।

प्रतिक्रिया दिनुहोस्