Logo
Logo

नेताले आफू मात्र समृद्ध हुने मार्ग अपनाए


कृष्णमणि पराजुली


साँच्चै भन्ने हो भने मानिसमा अहिले राजनीतिदेखि वितृष्णा आएको छ । कतिपयले भन्ने गरेका पनि छन्, यो भन्दा त बरु पुरानै व्यवस्था ठिक थियो । तर, बुझ्नुपर्ने कुरा के रहेछ भने जुनसुकै र जे–जस्तोसुकै व्यवस्था भए पनि जनताले डेलिभरी पाउनुपर्दोरहेछ ।

जनता खुशी हुनु भनेकै उनीहरुको सानातिना आवश्यकता परिपूर्ति भए पनि पुग्दोरहेछ । उनीहरु धनी हुन चाहेकै हुँदैनन् । केवल बिहान बेलुकाको छाक टार्नेसम्म भए पनि पुगिहाल्छ । त्यही व्यवस्था सरकारले गरिदिए भइहाल्दोरहेछ ।

अहिले सामाजिक सुरक्षाअन्तर्गत वृद्धवृद्धाले पाउने प्रत्येक महिनाको तीन हजारले यति सहयोग पुर्याउँदोरहेछ कि त्यसको वर्णन गरिसाध्य छैन । गाउँघरमा आयआर्जनको स्रोतहरु सीमित हुन्छन् । त्यसमा पनि थला पर्ने अवस्थाका वृद्धवृद्धाहरुले आय गर्न सक्ने त कुरै भएन । महिना भुक्तान हुनासाथ निवृत्त कर्मचारीले बैंकमा पेन्सनपट्टा देखाएर पेन्सन थापेजस्तो हुँदोरहेछ यिनीहरुलाई ।

वृद्धभत्ताको कुरो गर्दा प्रधानमन्त्री मनमोहन अधिकारीको ०५१ सालको नौ महिने सरकारको पालामा शुरु भएको थियो । त्यो बेलामा रु १०० बाट सुरु गरिएको भत्ता अहिले ३००० पुगेको छ । आर्थिक वर्ष २०७८/७९ देखि वृद्धि गरिने कुरा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरिसक्नुभएको छ । सम्भवतः यो भत्ता ४००० पुग्नेछ । योसँगै अन्य भत्ता पनि थपिन सक्नेछन् ।

यहाँ मैले जोड्न खोजेको कुरा के हो भने मानिस सन्तुष्ट हुन धनी हुन पर्दोरहेनछ भन्ने नै हो । यी वृद्धवृद्धाहरु धनी हुन चाहेकै हुँदैनन् । सरकारले उपलब्ध गराइदिने सानोतिनो रकमले पनि उनीहरुको जीविका चलेको छ भने किन बढी लालसा देखाउनुपर्यो र भन्ने उनीहरुको विचारलाई सबैले आत्मसात गर्न सक्यो भने नेपाल कस्तो हुन्थ्यो होला हामी आफैँ अनुमान गर्न सक्दछौं ।

अहिले राजनीतिमा ठूलो विकृति आइरहेको छ । यही विकृतिले गर्दा राजनीतिप्रति जनतामा नराम्रो धारणा आएको छ । राजनीतिमा प्रवेश गर्ने नयाँ पात्रहरु पनि आशा लाग्ने र भरोसायोग्य देखिँदैनन् । यो कुरा भनिरहनु पर्दैन । सबैलाई बिदित भएकै कुरा हो ।

कुण्डले, मण्डले, बिचौलिया, दादागिरी, खुराफाती गर्नेहरुको राजनीतिमा बिगबिगी हुँदै आएको छ । उनीहरुको अभिष्ट इच्छा भनेको कसरी सत्तामा पुग्ने र अकूत आर्जन गरेर कसरी समाजमा आफू प्रतिष्ठित हुने भन्ने नै हो । तर, यसले उनीहरुमा क्षणिक आत्मसन्तुष्टि देला । तर, दीर्घकालीनरुपमा उनीहरुलाई पनि राम्रो हुनै सक्दैन । राज्यलाई त हुने कुरै भएन ।

हो, यसरी नै हाम्रो राजनीति संरचना बन्दै जाने हो भने भविष्यका पिँढीले के भन्नेछन् ? कति धिक्कार्ने छन् ? खै हामीले आकलन गर्न सकेको, यसतर्फ पनि राजनीतिकै भूमिका हुनुपर्ने हो, विचार पुग्न सकेको देखिँदैन । झन् बढोत्तरी हुँदै गएको देखिन्छ ।

राजनीतिमा असल मानिस आउनै सकेनन् । अपवाद बाहेक सबै नै सत्ता, शक्ति, पद र सम्पत्तिको लालसाको चाहना लिएर आए । यस प्रवृत्तिको विकासले व्यक्ति धनी हुँदै गए । सर्वसाधारण गरिबी हुने क्रम बढ्दै गयो । नीति निर्माण बनाउने र देशको ढुकुटी सञ्चालन गर्ने यिनै राजनीतिकर्मीहरुले गर्ने हुँदा नीति निर्माणको काम पनि उनीहरुकै अनुकूल बमोजिम हुने भइनै हाल्यो ।

अहिले समाजको संरचना हुर्दा थोरै मानिसको हातमा धेरै सम्पत्ति छ र धेरै मानिसलाई दैनिकी चलाउन मुस्किल पर्दै गएको छ । त्यसैले जीवन धान्न र परिवार पाल्नको लागि खाडी मुलुकहरुमा हामफालेका छन् । यस्तो सक्रिय र क्रियाशील उत्पादनमूलक श्रमशक्ति विदेशी मुलुकमा जानुपर्ने बाध्यता कसले सिर्जना गर्यो त भन्ने कुरा आफैँ प्रष्ट हुन्छ ।

अहिले मुलुक उनीहरुले नै पठाएको विप्रेषणबाट धानिएको छ र उनीहरुले नै पठाएको वैदेशिक मुद्राले राष्ट्रिय अर्थतन्त्र धानिएको छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने, किन गरिबी बढ्दै गएको छ ? किन बेरोजगारी बढिरहेको छ ? किन शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत आवश्यकता उपलब्ध हुन सक्दैनन् ? किन भुइँमान्छेको जीवनस्तर बढ्न सक्दैन ?

किन सर्वसाधारणलाई सधैँ गाँस, बास र कपासको समस्या पर्दछन् ? किन समाज हुनेखाने र नहुनेमा विभाजन भएको छ ? जस्ता अहं प्रश्नमाथि हाम्रा राजनीतिज्ञहरुले किन ध्यान दिएनन् ? सबैको लागि चिन्ताको विषय बन्न गएको छ । यसरी नै समाज हुने र नहुनेमा विभाजन हुँदै जाने हो भने विश्व मानचित्रमा नेपालभन्दा दरिद्र देश अरु कुनै हुन सक्दैन होला पनि ।

नेपालका नेताहरुले आफूलाई कहिले पनि ‘स्टेटम्यान’ बनाउन सोचेनन् । उनीहरु केवल सत्ता, शक्ति, पद र परिवारवाद र सम्पत्तिमा नै रमाउन थाले । टाढाको कुरा छोडौं नजिकैका महात्मा गान्धी, माओत्सेतुङ, सी चिनफिङ, लिक्वान यु, महाथिर महमुदहरुलाई सम्झनै चाहेनन् । नेपालकै विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीबाट पनि ती पार्टीका नेताहरुले केही सिक्नै चाहेनन् ।

नेल्सन मण्डेला त अझ परका भए । यिनीहरुको आदर्श चरित्रबाट पाठ सिकेर देश विकास गर्नुपर्ने हो । तर, यिनीहरुमा सद्बुद्धि पलाउँदै पलाएन । देशलाई समृद्ध बनाउन धेरै नेताको आवश्यकता पनि पर्दोरहेनछ । एकै व्यक्ति भए पनि हुँदोरहेछ भन्ने कुरा विश्व इतिहासले देखाएकै छ । नेताले गर्ने हो भने विश्वलाई नै आफ्नो बनाउन सक्दा रहेछन्, जसरी नेल्सन मण्डेलाले बनाए ।

नेताहरुले आफू मात्र समृद्ध हुने मार्ग अपनाए । देशलाई समृद्ध बनाउनेतर्फ अग्रसर नै हुन सकेनन् । हामीले अरुको मुख ताक्नुपर्ने अवस्था नै आउने थिएन । तराईका समथर फाँटहरुले प्रशस्त उत्पादन दिन सक्थ्यो । पहाडी भूभागमा खेतीपाती, वनजंगल, पशुपालन, जडीबुटीको सम्भावना छँदै थियो । त्यसरी नै उच्च हिमाली श्रेणीले त विश्वलाई नै पर्यटनको रुपमा चिनाइरहेकै छ ।

अहिले पनि विश्वको सर्वोच्च शिखरको नाम बेचेर हामीले फाइदा लिइनै रहेका छौं । तर, जति गर्नुपर्ने थियो, त्यसको सानो अंश पनि हामीले गर्न सकेका छैनौं । अपार जल सम्पदाको नामले विश्वमा परिचित भए पनि छिमेकी देश भारतबाट बिजुली आयात गरेका छौं ।

देशको लागि यो भन्दा लाजमर्दो कुरा के हुनसक्छ र ? सानो भूपरिवेष्टित देश भए पनि प्रकृतिले हामीलाई धेरै सम्पदा दिएको छ । तर, तिनीहरुको हामीले राम्रोसँग प्रयोगमा ल्याउन सकेका छैनौं । जे जति ल्याइएका छन्, तिनीहरु पनि किन र कसका लागि हुन् भन्नेकुरा विश्लेषण हुन बाँकी नै छ ।

हो, अहिले नेपालमा गरिबी बढ्दैछ, बेरोजगारी बढ्दैछ, आयात बढ्दैछ, निर्यात घट्दो क्रममा छ । प्रत्येक व्यक्तिमा प्रत्येक वर्ष ऋण बढ्दैछ । गरिबीमा जीवन बिताइरहेकाहरुलाई प्रतिव्यक्ति करिब ४७ हजारको ऋण बोकाइएको छ ।

कस्तो विडम्बना राज्यको एक सुको पैसा नखाए पनि यत्रो ठूलो ऋण तिर्नुपर्ने ? यसरी आफूले खाँदै नखाएको ऋण पनि राज्यलाई तिरेर, त्यही पैसाले नेताहरुलाई पाल्नुपर्ने अवस्था । जनताको यस्तो पीडा र दुःख नदेख्ने हाम्रो कस्तो शासकीय व्यवस्था । व्यवस्था साधन मात्र हो, साध्य होइन भन्ने कुरा नेताले बुझ्नुपर्ने हो । बुझेर पनि बुझ पचाउने नेतालाई कसरी जनतामुखी बनाउन सकिएला । प्रश्न विचारणीय छ ।

जनजीविकाको विषयलाई आत्मसात गर्नुपर्ने हो । तर, यसतर्फ राजनीतिले बाटो बिराएको देखिन्छ । उनीहरुको उद्देश्य भनेको जनताको स्वार्थमा केन्द्रित हुनुभन्दा आफू केन्द्रित भएको स्पष्ट नै छ । आफू केन्द्रित नभएको भए उनीहरु किन यति अचाक्ली सम्पन्न हुन सक्थे र । नेपाली जनता गरिब हुँदै जाने । तर, तिनै गरिबको लागि भनेर राजनीति गर्नेहरु किन यति धेरै सम्पन्न ?

हामीले देखेकै छौं कि कुनै पनि नेतामा कुनै पनि प्रकारको अभाव छैन । यो कुराको पुष्टि उनीहरुको लवाइखवाइ र बसाइले प्रष्ट पारेकै छ । सानोतिनो बिरामी हुँदा पनि विदेश नै जानुपर्ने । बालबच्चाहरुको शिक्षा पनि विदेशमै गराउनुपर्ने । स्वदेशी सामानभन्दा विदेशी सामानमा रुचि हुने कस्तो अनौठो व्यवहार हाम्रा नेताको !

सबै मानिस धनी हुन खोजेका हुन्छन् नै । तर, यसरी पीडामा पिल्सिएका पीँधका जनता कसरी धनी हुने ? तर, यही अपवादमा बाहेक सबै राजनीतिज्ञ धनी भएका देखिन्छन् । उनीहरु आफैँ कानून निर्माण गर्ने स्थानमा हुँदा रहेछन् । आफू बच्ने गरी कानून बनाउन उनीहरुलाई कुनै बाधा हुँदोरहेनछ । यसरी बाटो बनेपछि त्यसबाट फाइदा लिन सक्ने नै भइहाले ।

एउटै बाटोले गर्दा उनीहरुलाई सहज पनि हुँदोरहेछ । कस्तो अचम्मको कानूनी व्यवस्था ? मन्त्रिपरिषद्बाट भएका निर्णयउपर अदालतमा मुद्दा चलाउन नपाउने कस्तो व्यवस्था ? यस किसिमको प्रणालीले सर्वजन हिताय छ कि व्यक्तिजन हिताय हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक हुन आउँछ । यसले प्रष्ट देखाउँछ कि नेपालको राजनीति कस्तो रहेछ भन्ने कुरा ।

यस प्रकारले देशको सर्वोच्च कार्यकारिणी निकायले जति नै ठूलो भ्रष्टाचारजन्य कार्य गरे पनि उन्मुक्ति पाउने कानूनी व्यवस्था भएको देखिन्छ । यो व्यवस्था कसले निर्माण गर्यो भन्ने सन्दर्भमा पनि यिनै उच्च पदाधिकारीबाटै भएको हो । यस्तो प्रणालीको विकासले सम्पन्नता र विपन्नतालाई विकास गर्ने नै हो ।

अर्थात्, जो उच्च तहमा पुगेका हुन्छन्, उनीहरुले आफूलाई उच्च कोटीमा पुर्याउने भइनै हाले भने अर्को वर्ग अथवा, तह भने तल तल झर्ने नै भइहाल्यो । अहिले हामीकहाँ विकसित हुँदै आएको राजनीतिक प्रवृत्ति भनेको यही नै हो । यसमा सुधार नगर्ने हो, नेपाली जनताले झनै कष्टकर जीवन बिताउनु पर्नेछ ।

हाम्रो अगाडि भ्रष्ट तस्बिर देखिएकै छ कि कुन नेता गरिब छन् त ? सिधा जवाफ हुनसक्छ, कोही पनि गरिब छैनन् । यिनै नेताहरुसँग अकूत सम्पत्ति भएको हुनाले नै जनताले टिकाटिप्पणी गरिरहेकै छन् । मुख्यरुपमा आलोचित भइआएका ठूला मुद्दाहरुमा ललिता निवास प्रकरण, ओम्नी प्रकरण, यती प्रकरण, एनसेल प्रकरण, वाइडबडी खरिद प्रकरण, न्यारोबडी खरिद प्रकरण, बूढीगण्डकी प्रकरण, मेलम्ची खानेपानी प्रकरणजस्ता काण्डहरु सार्वजनिक भएकै विषय हुन् र यिनीहरुमा क–कसको नाम जोडिएका छन् भन्नेबारे पनि सञ्चारमाध्यममा आएकै छन् ।

कतिपय नेता आपराधिक गतिविधिमा संलग्न भएर मुद्दा खेपिरहेका छन् भने कतिपयले अकूत सम्पत्ति जोडेको आरोपमा अदालतबाट कैद र जरिवाना भोगेर छुटकारासमेत पाएको अवस्था पनि छ ।

अख्तियार दुरुपयोग निवारण गर्ने आयोगका प्रमुख आयुक्त र आयुक्त नै घुस प्रकरणमा मुछिएका घटनाहरु र प्रहरी प्रशासनका उच्च अधिकारीहरु भ्रष्टाचारमा संलग्न भएका घटनाहरुले हाम्रो राजनीतिक र प्रशासनिक क्षेत्रमा कार्यरत उच्चपदस्थ अधिकारीहरुबाट कतिसम्म निकृष्ट कार्य हुँदोरहेछ भन्ने कुरा नेपाली जनताले बुझिनै सकेका छन् ।

बुझेका भए पनि निरीह जनताले के गर्न सक्छन् र ? कुनै दिन यस्तो पनि आउन सक्ला, जुन दिन यी सबै ज्यादतिको छानबिन पनि हुनेछ । यस प्रकारको आपराधिक गतिविधिको कारणबाट नै अहिले नेपालमा धनी हुन चाहनेहरुको प्रतिस्पर्धामा बढोत्तरी भइरहेछ ।

प्रतिक्रिया दिनुहोस्