Logo
Logo

सचेतकको दावी-जनमोर्चा सांसदको विज्ञप्ति ‘किर्ते’ भयाे


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसदद्वय कृष्ण थापा र खिमविक्रम शाहीद्वारा जारी गरिएको विज्ञप्ति किर्ते भएको पाइएको छ ।
जनमोर्चाकी संसदीय दलकी सचेतक पियारी थापाले एमालेइतरको गठबन्धनमा नरहेको ब्यहोराको दुई सांसदको विज्ञप्तिमा कुनै सत्यता नरहेको बताएकी हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्,‘एक त राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसद कृष्णबहादुर थापा भन्ने नामको सांसद हुनुहुन्न, उहाँको नाम कृष्ण थापा हो, । ‘अर्को, खिमविक्रम शाहीको नामबाट आएका विज्ञप्तिमा उहाँको हस्ताक्षर नभएको र किर्ते काम भएको छ ।’ उनले थपिन् ।

बुधबार सांसद कृष्ण थापाले पार्टीको ह्विप नमानेको भन्दै जनमोर्चाले संसदीय दलको नेताबाट हटाएर उनलाई कारबाही गरेको थियो । त्यसलगत्तै आफूमाथि गरिएको कारबाही गैर संवैधानिक र गैरकानुनी भएको भन्दै सरकार निर्माणको विषयमा कुनै गठबन्धनमा नलागी तटस्थ रहेको ब्यहोराको विज्ञप्ति आएको थियो ।

खिमविक्रम शाहीको नामबाट समेत आफू कुनै पनि गठबन्धनमा नभएको र तटस्थ रहेको जानकारी सहितको विज्ञप्ति सार्वजनिक भएपछि सांसद शाहीले कागज किर्ते भएको बताए ।

यता, सांसद कृष्ण थापाले भने उक्त विज्ञप्ति आफ्नै भएको बताएका छन् । ‘मैले हस्ताक्षर स्क्यान गरेर पठाएको थिएँ, लेटरप्याडमा कृष्णबहादुर थापा भएछ । साथीहरुले त्यही विज्ञप्ति सार्वजनिक गरेछन्,’ उनले भने, ‘प्रदेश प्रमुखलाई बुझाएको पत्रमा कृष्ण थापा नै छ ।’

जनमोर्चाका सांसदहरुको आफू विपक्षी गठबन्धनमा नरहेको भन्ने विज्ञप्ति सार्वजनिक भएपछि प्रदेश प्रमुखले विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरेको पेश गरेको दावीलाई सांसदको संख्या नपुगेको भन्दै अस्विकार गर्दै मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई पुनः नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्