Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोना संक्रमित बढेको बढ्यैदेखि गण्डकीमा मुख्यमन्त्री पुनः नियुक्तसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. कोरोना भाइरसबाट एकैदिन ४ हजार ४ सय ४४ संक्रमित निको भए, २४ घण्टामा हालसम्मकै धेरै ९ हजार २ सय ३८ संक्रमित थपिए, २४ घण्टामा १ सय ६८ संक्रमितको मृत्यु, देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, काठमाडौं उपत्यकामा ३ हजार ९ सय २४ संक्रमित थपिए, कोभिड उपचार गर्ने अस्पतालका चिकित्सकले रेमडिसिभिर औषधि सिफारिस गरेमा आधाकारिक आयातकर्ता आयन हेल्थकेयरले ल्याएको रेमडिसिभिर प्रति भाइल चार हजार नौ सय रुपैयाँका दरले लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी ।

२. कोरोना महामारी तिव्र गतिमा बढ्दै गएपछि नेपाल चिकित्सक संघद्वारा देशभर रेड अर्लट घोषणा, सरकारले बेलैमा आवश्यक तयारी नगर्दा भयावह परिस्थिति सिर्जना भएको संघको ठहर, राजनीतिक जोड घटाउमा भन्दा पनि सबै दलहरुलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न राष्ट्रपतिलाई संघको अपिल, दैनिक बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको संघको भनाइ, अक्सिजन अभावमा अस्पतालद्वारा थप बिरामी लिन नसक्ने घोषणा ।

३. गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले लिए पद तथा गोपनियताको शपथ, चार दलको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा बहुमत नपुगेपछि प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङ नियुक्त, अब एक महिनाभित्र पुनः प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था, प्रदेश प्रमुखले दल नभई टाउको गनेको भन्दै कांग्रेसद्वारा निर्णयको विरोध ।

४. जनता समाजवादी पार्टी (जसपा) वैकल्पिक सरकार बनाउने विषयमा अनिर्णित, पार्टीभित्र छलफल चलिरहेकोले बिहीबार मात्रै धारणा सार्वजनिक गर्ने, सरकार गठनबारे अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो पक्ष र अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको पक्षबीच विवादले निर्णयमा एक रुपता आउन कठिन, छलफलमा आएका विचारहरूमाथि थप छलफल गरी राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरी एकिकृत निर्णय गरिने परिषदका अध्यक्ष भट्टराईद्वारा जानकारी ।

५. कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्रीको शपथ लिनबाट रोक्ने वातावरण बनाउनका लागि आफूहरूले राजीनामा दिनुपर्ने एमाले सांसद भीम रावलको दावी, पार्टीभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राख्दा प्रतिनिधिसभामा अनुपस्थित भएकासमूहका सांसदले राजीनामा दिनुपर्ने रावलको भनाइ, आफूहरूले राजीनामा गर्नु राजनीतिक रूपमा सहि निर्णय ठहरिने रावलको तर्क ।

६. अक्सिजनको उत्पादन बढाउने कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी) को निर्देशक समितिकोे निर्णय, उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको निर्देशक समितिको मंगलबार साँझ बसेको बैठकले अक्सिजन उद्योगमा बिना व्यवधान २४ सै घण्टा विद्युत र पानीको सुविधा सुनिश्चत गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने पनि निर्णय, आइसीयू, एचडीयू, भेन्टिलेटर र विरामीको संख्याको तथ्यांक प्रकाशन गर्ने, उद्योगलाई उपलब्ध गराउने अक्सिजनको कोटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले तोक्ने, अनुगमनका साथै आकस्मिक व्यवस्थापनका लागि समन्वय सीसीएमसीले गर्ने पनि निर्णय ।

७. सरकारद्वारा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि पछिल्लो २४ घण्टाको अवधिमा करिव ४२ करोड रकम निकासा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोभिड–१९ प्रतिकार्यका लागि एचडीयू स्थापना तथा जडान खर्च भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ करोड ५८ लाख ७४ हजार निकासा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ करोड ७२ लाख ५३ हजार र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६ करोड २५ लाख ४० हजार रकम निकासा, लुम्बिनी प्रादेशिक अस्पतालमा एचडीयू स्थापना तथा जडानका लागि ३ करोड ३५ लाख ८८ हजार वित्तीय हस्तान्तरण स्वीकृत ।

८. दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढ्दा पनि सेयर बजारमा ’शून्य’ अंकको बृद्धि, पाँच अर्बको किनबेच, उच्च आयातले बिदेशी मुद्रा सञ्चिति घट्न थाल्यो, चालु खाता घाटा २ खर्ब नाघ्यो, रेमिटेन्स सुधार, सरकारको खर्च र प्राप्ति सँगसँगै, विकास खर्च ३५% मात्रै, ६० अर्बको लक्ष्यमा अनुदान १० अर्ब मात्रै, बीमा कम्पनीहरुको शाखा कार्यालय बन्द गर्न बीमा समितिको निर्देशन, निषेधाज्ञा अवधिको जरिवाना नलाग्ने ।

९. अन्जनको निर्णायक गोलमा ललितपुरले बुटवललाई हरायो, फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने, इराकसँगको मैत्रीपूर्ण खेलका साथै विश्वकप छनोट नै अन्योलमा, यूरोपियन फुटबल महासंघद्वारा नियम मिचेको भन्दै सुपर लिगका संस्थापक क्लवका रुपमा रहेका रियल मड्रिड, बार्सिलोना र युभेन्टसविरुद्ध कानूनी उपचारको बाटो, श्रीलंकाद्वारा बंगलादेश भ्रमणका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा ।

१०.र, भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च, गंगा नदीमा बेवारिसे शवको संख्या ७१ पुग्यो, संक्रमितको शव त्यत्तिकै फ्याँकिएको आशंका, इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा १३ तले भवन ध्वस्त, २८ को मृत्यु ।

प्रतिक्रिया दिनुहोस्