Logo
Logo

आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस असफल


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल समूहले राजीनामा नदिने र जसपाकाे आधा मत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै रहेकोले कांग्रेस र माओवादीले नयाँ सरकार गठनको दावी नगर्ने भएका हुन् ।

बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरवहादुर देउवाले जसपाको महन्थ ठाकुर पक्षका कारण बहुमत नभएकाले राष्ट्रपति समक्ष दावी पेश गर्न नजाने जानकारी गराएका हुन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले वैकल्पिक सरकारको सम्भावना टरेको बताए । तर कांग्रेसले केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नै प्रधानमन्त्री नियुक्त गर्न भने नमिल्ने बताएको छ ।

बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।

३२ (दुई निलम्बित) सांसदको समर्थन रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा विवाद रहेकाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बहुमतको सरकार गठन गर्नबाट पछि हटेका हुन् ।

याेसँगै एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । उनी जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दावी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने प्रष्ट छैन ।

प्रतिक्रिया दिनुहोस्