प्रधानमन्त्री ओलीलाई पुनः शपथग्रहण गराउन जसपाको माग « Drishti News – Nepalese News Portal
Logo

प्रधानमन्त्री ओलीलाई पुनः शपथग्रहण गराउन जसपाको माग


दृष्टि संवाददाता


काठमाडौं । जनता समावादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते लिएको शपथ बदर गरी पुनः शपथ ग्रहण गराउन माग गरेको छ ।

संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले वैशाख ३१ गते राष्ट्रवपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्दा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण नगरी ‘त्यो पर्दैन’ भनेकोमा जसपाले आपत्ति जनाएको छ ।

प्रधानमन्त्री ओलीले शपथग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्‍याएको भन्दै जसपाले पुनः शपथग्रहण गराउन माग गरेको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतबार विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘२०७८ वैशाख ३१ गते सम्माननीय प्रधानमन्त्रीको सपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक ुत्यो पर्दैनु भनेर ग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ ।’

जसपा अध्यक्ष यादवले सरकारले गर्ने राजनीतिक नियुक्तिमा संविधानमा व्यवस्था गरिएको समानुपातिक, समावेशी सिद्धान्त अपनाउन पनि माग गरेका छन् । यसअघि पनि राजदूत नियुक्त गर्दा संविधानमा व्यवस्था गरिएको समानुपातिक र समावेशी अवधारणा उल्लंघन गरिएको भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता राजनीतिक नियुक्तिहरूमा वर्तमान सरकारले मधेसी, आदिवासी जनजाति, महिला, दलित, थारु लगायतका समुदायहरूको संविधानको व्यवस्था विपरित न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेको छ । अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यस सम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न हाम्रो पार्टी माग गर्दछ ।’

कोरोना संक्रमण बढिरहेकोतर्फ ध्यान दिन पनि सरकारलाई जसपाले ध्यानाकर्षण गराएको छ । सरकारले स्वास्थ्य सामग्रीको आपतकालीन व्यवस्थान गर्न नसकेको भन्दै त्यसतर्फ ध्यान दिन माग गरेको छ । कोरोना संक्रमितका लागि अस्पतालमा बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर र औषधlको समेत अभावले जनता अकाल मृत्युवरण भइरहेको भन्दै जसपाले माग गरेको छ, ‘स्वास्थ्यकर्मी, डाक्टर अर्थात आवश्यक जनशक्ति बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर र औषधीको यथाशीघ्र व्यवस्था गर्नु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस्