Logo
Logo
कोरोना कहर

अस्थायी अस्पताल बनेपनि उपकरण नहुँदा उपचारमा समस्या


हिक्मत बम


कैलाली । जिल्लाको घोडाघोडी नगरपालिकाले कोरोना सङ्क्रमित बिरामीलाई लक्षित गर्दै १० शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्यायो । नगरपालिकाको मुख्य क्षेत्र सुखड बजारबाट दुई किलोमिटर भित्र रहेको दरख स्वास्थ्य चौकी छेउकै भवनमा अस्थायी अस्पताल सुरु गरिएको थियो ।

आइतबारबाट सञ्चालनमा आएको अस्पतालमा पहिलो दिनमा जटिल बिरामी उपचार खोज्दै पुगे । तर उपकरण अभावमा बिरामीको उपचार हुन सकेन । अस्थायी कोरोना अस्पतालमा सामान्य औषधी र बेड र अक्सिजन बाहेक अन्य उपकरण छैनन् ।

‘हामी सँग पर्याप्त जनशक्ति छ । तर, आवश्यक उपकरणहरूको अभाव छ । उपकरणको व्यवस्थापनका लागि हामीले पहल गरिरहेका छौँ ।’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले भने ।

कोरोना अस्पतालमा अहिले १३ जनाको जनशक्ति छ । अस्पतालको मुख्य जिम्मेवारीमा ‘एमबिबिएस’ डाक्टर टेकराज भट्टराई छन् । त्यसैगरी चार जना ‘नर्सिङ स्टाफ’, चार जना ‘पारामेडिक्स’ र दुई÷दुई जना ल्याब र कार्यालय सहयोगी छन् ।

‘हामीसँगै अहिले पर्याप्त उपकरण छैनन्’, डा. टेकराज भट्टराईले भने, ‘यहाँ भएका उपकरणहरूले हामी बिरामीलाई सेवा दिन सक्छौँ । अहिले हामीले एन्टीजेन विधिबाट कोरोना परीक्षण र डाक्टरी परामर्श सेवासँगै सामान्य उपचार गरिरहेका छौँ ।’

उपकरण खरिद गर्ने तयारी हुँदै
नगर क्षेत्र भित्र कोरोना अस्पताल स्थापना गरिए पनि उपकरण अभावमा बिरामीले भरपर्दो सेवा पाउन मुस्किल भएको छ । नगरपालिकामा अस्थायी कोरोना अस्पताल छ भन्नु जस्तो मात्रै हो तर सङ्क्रमित बिरामीले तत्काल उपचार पाउने अवस्था छैन । आइतबार अस्पताल पुगेका बिरामीको उपचार हुन सकेन, सोमवार कुनैपनि बिरामी सेवा लिन आएनन् ।

जनशक्ति भएर पनि उपकरण अभावले समस्या छ । यद्यपि आवश्यक उपकरण खरिद प्रक्रियामा रहेको नगरपालिकाको दाबी छ । ‘हामीले उपकरण खरिद गर्दै छौँ’, नगरपालिकाका कार्यकारी अधिकृत खगेन्द्र बहादुर सिंहले भने, ‘८० वटा अक्सिजन सिलिन्डर, पाँच सय एन्टिजेन किट, एक्सरे मेसिन, इसिजी मेसिनलगायतका उपकरण खरिद गर्दैछौैँ, अबको एक सातामा आइपुग्छ । कोरोना परीक्षण र सङ्क्रमितको व्यवस्थापनका लागि सक्दो पहल गर्दै छौँ ’ उनले थपे ।

कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न परिपत्र गर्दै आर्थिक वर्षको सुरुमै संघीय सरकारले रु १० लाख पठाएको भएपनि घोडाघोडीमा चिकित्सक अभावको समस्या देखाउँदै हालसम्म अस्पताल स्थापना भएको थिएन । अहिले जनशक्ति पदपूर्ती भएपनि उपकरण अभावले सेवा प्रवाहमा समस्या छ ।

प्रतिक्रिया दिनुहोस्