धरान । कोरोनाको संक्रमणका कारण २०७७ साल भदौ २० गतेदेखि २०७८ साल जेठ २ गतेसम्ममा धरानमा मात्र ४ हजार ५२४ जना संक्रमित भएका छन् भने, ९३ जनाले ज्यान गुमाएका छन् । कोरोनाको दोस्रो लहरमा यही वैशाख महिनाभित्र ९१० जना संक्रमित भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

झण्डै डेढ लाख जनसंख्या भएको धरान उपमहानगरपालिकाभित्र पर्ने विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा हाल एक सय शैयाको आइसोलेसन अस्पताल मात्र तयार गरिएको छ । जुन अस्पतालमा प्रदेश नं १ का सबै बिरामी ल्याइने गरेको छ । हाल सो कोभिड अस्पतालमा सबै बेडहरु बिरामीले भरिएको कुरा अस्पतालका सहइन्चार्ज डा विकास शाह बताउँछन् । संक्रमितहरुको चाप बढेपछि धरान उपमहानगरपालिकाले हरियाली सामुदायिक वनमा २५ बेड र विजयपुर हस्पिटल २० बेडको आइसोलेसन थप्न प्रक्रिया अघि बढाएको कुरा धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरानका वडा नं १, ८, १० र १३ ले ३÷३ वटा बेडमा अक्सिजनसहित आइसोलेसन तयार गरेका छन् । अन्य नगरपालिकाहरुले नगरप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने होडबाजी चले पनि धरानमा भने एम्बुलेन्सको कुनै कमी छैन । हामीले शवबाहनको पनि व्यवस्था पनि मिलाएका छाँै भन्छन् अधिकृत मेहता ।
कोरोनाकै कारण गत वर्ष ज्यान गुमाउने धरान निवासीहरुमा नेपालकै बलियो मान्छेको उपाधि जितेका ओलम्पिक खेलाडीसमेत रहेका छन् । राजभगत प्रधानाङ्ग, ब्रिटिश गोर्खा भूतपूर्व सैनिका संगठनका पूर्वअध्यक्षसमेत रहेका गजेन्द्र इस्वो, व्यापारी नीरकुमार राजभण्डारीलगायत थिए । दोस्रो चरणको कोरोना कहरका कारण गत वैशाख २८ गते धरानका सबैभन्दा धनी व्यापारी रोशन सोनी, नेपाल मगर संघ सुनसरीका अध्यक्ष अनिल रानामगर रहेका छन् । रोशन सोनी गत महिना मात्र पेटको अप्रेशन गरी दिल्लीबाट फर्किएका थिए । उनलाई दिल्लीमा हुँदै कोरोना संक्रमित भएको बताइन्छ । उनीले धरानमा कत्था उद्योग, पेट्रोलपम्प सैनिक क्याम्पमा राशन ठेक्काको काम गर्ने गर्थे । यसैगरी सुनसरी निवासी नेपाली कांग्रेसका नेता विजय गच्छदारकी धर्मपत्नीको पनि कोरोना संक्रमणकै कारण नर्भिक हस्पिटल काठमाडौँमा निधन भएको छ ।
तीन दिनको फरकमा दम्पतीको मृत्यु
धरान–१ स्थित साई मन्दिरमा चौकीदारका रूपमा काम गर्दै आएका ४५ वर्षीय विजय रानामगरको कोराना संक्रमणबाट शुक्रबार मृत्यु भएको छ । उनीसँगै कोरोनाबाट संक्रमित उनकी ३७ वर्षीय पत्नीको पनि आइतबार साँझ मन्दिरमा नै मृत्यु भएको छ । श्रीमान्को मृत्यु र कोरोना लागेको पीडाले डिप्रेसनमा परेकी ती महिलालाई अस्पताल लाने कोसिस गर्दा पनि उनी घरमै आइसोलेसनमा बस्ने भनेपछि अक्सिजनको कमी भएकाले उनको मृत्यु भएको कुरा धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले बताए ।
दाहसंस्कारमा सुकुम्वासीको अवरोध
धरानमा आर्यनहरुले दाहसंस्कार गर्ने सुविधाजनक स्थान भनेको धरान–१५ स्थित खत्री बम धारा हो । यसपटक कोभिडका कारण धरानमा मृत्यु हुनेहरुलाई खत्री बम धारामा लैजाँदा स्थानीय सुुकुम्वासीले अवरोध खडा गरी शव जलाउन दिएनन् । कोराना संक्रमितको शव जलाउँदा कोरोना सर्ने भयका कारण शव जलाउन नदिएको उनीहरुको भनाइ थियो । मापदण्ड पूरा गरेर मात्र शव जलाउनुपर्ने नियमको परिपालना रामो नहुँदा गाउँलेहरु त्रसित बन्न पुगेको स्थानीयवासी बताउँछन् । झण्डै एक हप्तासम्म शव जलाउन नदिएपछि धरानका कहलिएका व्यापारी रोशन सोनीको शव पनि विराटनगरको सिधियाखोलामा पु¥याई दाहसंस्कार गरिएको थियो । दाहसंस्कारस्थलकै समस्या बढ्न थालेपछि धरान उपमहानगरपालिकाले एक कार्यदल बनाई धरान– १५ स्थित बाझगरा सामुदायिक वनभित्र पर्ने सेउतीखोलाको पुलमुनिको दाहसंस्कार गर्ने थलो बनाएर विवाद मिलाएको छ । यसैगरी बौद्ध दाहसंस्कार धरान–१९ मा पनि गाड्ने, जलाउने व्यवस्था मिलाएको छ । हाल जिल्ला प्रशासन सुनसरीले जेठ १५ गतेसम्मका लागि कडाइका साथ लकडाउन शुरु गरेको छ । यसको प्रभाव स्वरुप प्रतिदिन सय जना संक्रमित हुने क्रमबाट घटेर ३० जनासम्ममा आएको छ । यो सुखद् समाचार हो । यसबाट घरमै बसेर सुरक्षाका उपाय अपनाए कोरोना संक्रमणबाट बच्न सकिन्छ भन्ने सन्देश दिएको छ ।
पत्रकारहरुलाई घरमै सेवा
प्रेस युनियन सुनसरीले कोरोनाबाट संक्रमित भएका पत्रकारलाई घरैमा परामर्श र चिकित्सा सेवा पु¥याउने भएको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार दोस्रो चरणको भेरियन्ट आइकन नामक भाइरसले जिल्लामा झण्डै एक दर्जन सञ्चारकर्मी संक्रमित भएका छन् । केही संक्रमितहरु अस्पताल भर्ना भएका छन् भने, धेरैजसो घरकै आइसोलेसनमा बसेका छन् । जसको कारण हामीले घरमै आइसोलेलेड भएर बसेका संक्रमित सञ्चारकर्मीलाई घरमै गएर डाक्टरद्वारा सेवा प्रदान गर्न लागेका हौँ ।
डा अमितकुमार खतिवडा (मेडिकल अधिकृत) र स्टाफ नर्स किरण चौधरीको सहायतामा मोबाइल सेवा प्रदान गर्दा सञ्चारकर्मी साथीहरुको मनोबल बढ्नुका साथै कोरोनामुक्त हुन सहज हुने अधिकारीको भनाइ छ । प्रेस युनियन सुनसरीले पहिलो लहरको बेला जिल्लाका २६० जना पत्रकारको निःशुल्क कोरोना बीमा गरिदिएको थियो । तीमध्ये ३० जना संक्रमित पत्रकारहरुले जनही एक लाखका दरले बीमा रकम पनि पाएका थिए ।
यसैगरी नेपाल पत्रकार महासंघ सुनसरीले धरान उपमहानगरपालिका संघको सहकार्यमा पत्रकारलाई हरियाली सामुदायिक वन उपभोक्ता समूहको भवनमा २५ बेडको आइसोलेसन सेवा दिने तयारीमा जुटेको कुरा महासंघका अध्यक्ष जनकऋषि राईले बताए । प्रेस युनियन सुनसरीले पनि इटहरी–१० मा उद्योग वाणिज्य संघ इटहरीको सहकार्यमा निर्माण गरिएको आइसोलेसनमा सञ्चारकर्मीलाई राख्ने व्यवस्था मिलाएको छ ।












