Logo
Logo

उपचारमा ढिलाई गरेको भन्दै मोरङमा स्वास्थयकर्मी कुटिए


दृष्टि संवाददाता


मोरङ । विराट शिक्षण अस्पताल बुढीगंगाका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । दुर्घटनामा घाइते भएका बिरामीको उपचारमा ढिलाई गरेको भन्दै दुई युवाले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका हुन् ।

अस्पतालको आकस्मिक कक्षमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतलाई उनीहरुले कुटपिट गरेका हुन् । कुटपिटबाट दुवै जनाको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको विराट अस्पतालका चिकित्सक डा. सुनिल देवले बताए ।

जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार बुढीगंगा गाउँपालिका–२ का २८ वर्षीय निश्चल श्रेष्ठ, २५ वर्षीय निमेश श्रेष्ठले कुटपिट गरेका छन् । दुवै जनालाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान भइरहेको छ ।

दुर्घटनामा घाइते एक वृद्धाको उपचारमा चिकित्सकले लापरबाही गरेको आक्रोशमा युवाहरुले उनीहरुलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्