Logo
Logo
कांग्रेस नेताहरूको आक्रोशपूर्ण प्रतिक्रिया

‘मुलुक कहालीलाग्दो द्वन्द्वमा फस्यो, संसद विघटनविरुद्ध अब एक भएर लडौं’


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरु आक्रोसित बनेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई नमानेको भन्दै कांग्रेस रुष्ट बनेको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि–पद्धति मिचेर लोकतन्त्रमाथि हमला गरेको भन्दै कांग्रेस नेताहरूबाट आक्रोशपूर्ण प्रतिक्रिया आईरहेको छ । कांग्रेसका नेताहरुले राष्ट्रपतिबाटै संविधान च्यात्ने काम गरेको टिप्पणी गरेका छन् ।

मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा लग्यो
काँग्रेसका नेता डा‌. शेखर कोइरालाले राष्ट्रपतिको कदमले मुलुकलाई कहालीलाग्दो द्वन्द्वमा फसाएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरेपछि नेता कोइरालाले ट्वीटरमाफृत् प्रतिक्रिया दिँदै संरक्षकबाटै मध्यरातमा संविधान च्यात्ने काम भएको आरोप लगाएका हुन् । उनले संविधानलाई समाप्त गर्ने काम भएको भन्दै राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुन नसक्ने बताएका छन् ।

‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो।’ उनले ट्वीटरमा लेखेका छन् ‘राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ।’

त्यस्तै प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाको दाबी पुग्ने भए पनि त्यसलाई अस्वीकार गर्नु गलत भएको कांग्रेस नेता रमेश लेखकको भनाई छ । उनले भनेका छन्, ‘यो राष्ट्रपति र प्रधानमन्त्रीबाट गणतन्त्र र लोकतन्त्रको सुरक्षा हुन सक्दैन ।’

यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको बताएका छन् । उनले राष्ट्रपति पदको गरिमालाई बालुवाटारले बालुवामा मिलाएको टिप्पणी समते गरेका छन् ।

उनले भने, ‘महामारीको तेस्रो लहरको आकलन शुरु भएको बेला कात्तिक र मंसिर चुनावका लागि घोषित मिति होइन ।’ ‘सर्वोच्चले बदर नगरिदिएको भए वैशाखको मध्यावधि कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा पर्थ्यो’ उनले भने ।

संविधानको धारा ७६ (५) ले सांसदले गर्ने हस्ताक्षर र प्रस्ताव गर्ने विकल्पबारे बोल्ने भन्दै उनले भने, ‘कारबाही चेतावनीको पत्रलाई आधार मानेर राष्ट्रपतिले सांसदको हक छिन्न संविधानले कहाँ दिएको छ ?’

कांग्रेस कसरी बगाडि बढ्छ ?
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सबै किसिमबाट यसको विरोध गर्न कांग्रेस अग्रसर हुनुपर्ने बताएका छन् । उनले भने, ‘सबैभन्दा पहिले हाम्रो संसदीय दल अगाडि हुनुपर्यो । हाम्रो संसदीय दलको नेतृत्वले अग्रसरता लिनुपर्यो । अग्रिम मोर्चामा उभिनुपर्यो यो असंवैधानिक, अलोकतान्त्रिक र राष्ट्रघाती कदमकोविरुद्धमा ।’

‘यत्रो विचल्ली परेको, चिहिलबिहल राष्ट्र परेको बेलामा अर्बौं रुपैयाँ खर्च गरेर चुनाव गराउँछु भन्नु यो भन्दा विडम्बनापूर्ण कुरा केही हुँदैन ।’ उनले भने । यस्ताको विरुद्धमा कांग्रेसको नेतृत्वले अग्रसर भएर परिवर्तनलाई बचाउनपट्टी पाइला चाल्नुपर्ने उनको भनाई छ । कानुनी लडाइँ र अरु हरेक किसिमको लडाइँमा आफूलाई सरिक गराउनुपर्ने उनले बताए ।

‘हिजो जसरी यो प्रतिनिधिसभा विघटनको विरुद्ध जसरी एक भएका थियौं, हिजो सबैले आफ्नो आफ्नो ठाउँबाट काम गरेका थिए, अब सम्मिलित रुपले काम गर्नुपर्छ । सम्मिलित रुपले अगाडि बढ्नुपर्छ । अब अदालत पनि जानुपर्छ र यो संविधान बचाउने काममा काममा कांग्रेस अग्रसर रहनुपर्छ’ नेता पौडेलले भने ।

नेता पौडेलले एक टेलिभिजनको अन्र्तवार्तामा भनेका छन्, ‘१४९ जना सदस्यहरुको हस्ताक्षरसहित बहुमत पुर्याएर राष्ट्रपतिसमक्ष वैकल्पिक प्रधानमन्त्रीको दाबी प्रस्तुत हुँदाहुँदै त्यसलाई नजरअन्दाज गरेर रापले जसरी प्रतिनिधिसभा विघटन गर्ने काममा आफूलाई सहभागी गराउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको महान षडयन्त्रको साझेदार बन्नुभयो यो अत्यन्त दुर्भाग्यपूर्ण छ ।’

‘कांग्रेस चुनावमा सहभागी हुँदैन त्यसो भए ?’ भन्ने प्रश्नमा उनले भने— ‘पहिले चुनाव हुनसक्ने परिस्थिति आओस् । चुनाव हुने स्थिति बनोस् । कांग्रेस चुनावबाट कहिले भागेको छ रु तर त्योभन्दा अगाडि नै यो संविधानलाई फाल्ने, त्यसको घाँटी निमोठ्ने प्रपच्न अगाडि बढ्यो । यो कुरालाई बुझ्नुपर्यो कांग्रेसले ।’

आकस्मिक बैठक बस्दै
नेपाली कांग्रेसले पदाधिकारी बैठक आकस्मिक बस्दैछ । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ । बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस नेताहरुले छलफल गर्न लागेका हुन् ।

देउवा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल हुने र आवश्यक रणनीति बनाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्