Logo
Logo

समयले सोधेको एउटा प्रश्न


लक्ष्मण देवकोटा


काठमाडाैं । चुचुरोमा झण्डा गाड्न हिँडेका लडाकुहरु फर्कने बेलामा घटे भने नेतृत्वले पछाडि फर्केर हेर्नुपर्ने हुन्छ, कतै ती हिमपहिरोमा पुरिए कि ? भनेर । सामूहिक पर्वतारोहणको कुशल नेतृत्वकर्ता त्यही हो जसले समूहको सकुशल अवतरण पनि गराउँछ । सकेसम्म उसले दुर्घटना हुनै दिँदैन, भइहाले कम क्षतिको बारेमा तत्काल निर्णय गर्छ । र, उसले पटक–पटक त्यही एउटै गल्ती दोहोर्याउँदैन । बरु गल्तीबाट पाठ सिकेर अगाडि बढ्छ ।

नेकपा माओवादी र एमालेको मिलनपश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठन प्रक्रिया र आजको मितिमा माधवकुमार नेपाल पक्षसँगको एकताको गतिविधि हेर्दा असल कार्यकर्ताको मनमा एउटा कुराचाहिँ बल्झिरहेको छ, के हुन् त्यस्ता आधारहरु जसले सामूहिक यात्रा तय गर्छन् ? यो भन्दा अझ गम्भीर अर्को प्रश्न के हो भने सबै नेतृत्वलाई आजका मितिसम्म तपाईँहरुबाट भए÷गरेको मल्लयुद्ध के त्यो अन्तरपार्टी संघर्ष थियो ? यदि त्यो अन्तरपार्टी संघर्ष थियो भने, त्यसको बैठान पनि यसैगरी हुने गर्दछ ?

राजनीतिका सबै अस्त्रहरुको प्रयोग गरेर यसबखत विजयको ध्वजा फहराउँदै खड्गप्रसाद ओली राजनीतिको मियोमा पुग्न सफल भएको देखिन्छ । यस्तो दृश्य देखिँदैछ कि माधव नेपालहरु पराजित सिपाहीहरु हुन्, जो यसबखत लडाइँको मोर्चामा हारेर आत्मसमर्पण गरिसकेपछि हरेक सजाय भोग्न तयार छन् । बालुवाटारका चतुर खेलाडीहरुले सिंहदरबारका तस्वीरहरुको प्रयोग, माधव नेपालहरुप्रति कटाक्ष गर्दै अभिव्यक्त गर्ने भाषा र भंगिमा हेर्दा सामान्य कार्यकर्ताले बुझ्ने भनेको यही नै हो । यो सत्य हो कि होइन थाहा छैन, तर सतहमा यस्तै दृश्य देखिन थालेको छ ।

मुलुक यसबखत संकटमा छ । कोरोना महामारीको बेला विकसित देशहरुले त धान्न सकेनन्, हाम्रोजस्तो गरिब मुलुकले कसरी धान्ने भनेर सतही जवाफ दिएर कोही जिम्मेवारीबाट उम्किन पाउन्न । कम्युनिष्ट पार्टी एकीकृत हुँदाको झगडाको मूल विषय कोरोना नै थियो र आम जनताको अगाडि राज्यविहीनताको उपस्थिति पनि कोरोनाकै दोस्रो लहरमा देखिएको छ । मानिसहरुलाई धरहराको उचाइमा देशभक्तिको गीतले कुनै असर गर्दैन यसबखत, एक सिलिण्डर अक्सिजनले महत्व राख्दछ ।

बालुवाटारबाट उद्घाटन गरिएका अस्पतालहरु जो नाममात्रका थिए, त्यसले कुनै अर्थ राख्दैन, अहिले त जनतालाई अस्पतालले ढोका खोलिदिए ठूलो गुन हुने अवस्था आइपुगेको छ । नेताहरुका निम्ति त गाडी, अक्सिजन र निजी अस्पतालका सूइटहरु रिजर्भ गरिएका छन्, अक्सिजनका सिलिण्डरहरु लुकाइएका छन् तर जमिनका जनताको निम्ति सरकारको उपस्थिति शून्य भएको छ । एउटा गरिब जनतालाई सिलिण्डरको व्यवस्था आफँै गर भनेर उम्किने सरकारसँग अन्य के नै अपेक्षा गर्दछन् जनताले ?

प्रधानमन्त्री स्वयं आँफैले बनाएको नियम पालन नगरेर कोरोनाजस्तो गम्भीर विषयलाई असाध्यै हलुका रूपमा टिप्पणी गर्दै हिँड्नु, महामारीले उग्ररुप लिइसक्दा पनि ‘सिचुएशन अण्डरकन्ट्रोल’ भनेर अन्तर्राष्ट्रिय समुदायसँग झुट बोल्नु, चीनसँग समयमै संयोजन गर्न नसक्नुले कोरोनाको यो महायुद्धमा राज्यले जनतामाथि गम्भीर अपराध गरेको छ भन्न सकिन्छ । यस्तो कठिन समयमा प्रदेशका सरकारहरुसमेत राजनीतिको फोहरी खेलमा सामेल हुनु र स्वयं प्रधानमन्त्रीले सबै हथकण्डा अपनाएरै केवल सत्ता मात्र जोगाइरहनु स्वयंमा अर्को अपराध हो । इतिहासले यसको हिसाबकिताब गर्नेनै छ ।

यो मानवता विरोधी अपराध किन घट्यो त भनी त्यसको सुक्ष्म विश्लेषण गर्दा जनताको बहुदलीय जनवादको नाममा शिक्षा र स्वास्थ्यजस्तो राज्यको गम्भीर सरोकार भएको विषयलाई व्यापारको विषय बनाइनु नै हो । व्यक्तिगतरूपमा केपी शर्मा ओलीलाई मन पराउने नपराउने सबैले एउटा अपेक्षा उनीबाट गरेका थिए कम्तीमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा उनले कडा कदम चाल्नेछन् । तर उनले त उल्टो निजी क्षेत्रलाई बलियो बनाउने काममा पो आफ्ना नीतिहरु ल्याए ।

काठमाडौंका बिरामी हेलिकोप्टर चार्टर गरेर झापाका दुर्गा प्रसाईंको अस्पताल पुर्याउनुपर्ने अवस्था ल्याए । महामारीको बेला जनताको निम्ति दुवै खटेका छन् । तर, राज्यका अस्पतालहरु बलिया बनाएको भए, प्रभावकारी बनाउन सकेको भए अहिले कति मानिसको ज्यान जोगिँदो हो ? अस्पतालहरुले अक्सिजन ग्यास नभएर बिरामीहरु मरिरहेको भिडियो सार्वजानिक गर्दा समेत अक्सिजन सिलिण्डरको उचित वितरणको संयोजनसमेत यो सरकारबाट भएको देखिएको छैन ।

कलिला युवकहरु अस्पतालको गेटमा कुर्दाकुर्दै प्राण त्याग्न विवश छन् । यहाँनेर आम मानिसहरुले के प्रश्न गरिरहेका छन् भने, महोदयहरु तपाईँहरुले हामीलाई धेरै माक्र्सवाद र लेनिनवाद घोकाउनुभयो । तर, यसरी अकालमा मारिनुपर्छ भने तपाईँहरुले भन्ने गरेका वादहरुको के अर्थ रहन्छ ? छोड्नोस् यो सब ढोंङको नाट्य श्रृंखला ।

कार्यकर्ताको ठूलो पंक्तिलाई के लागिरहेको थियो भने माधवकुमार नेपालहरुले विधि र पद्धतिको कुरा उठाएर कम्तीमा अन्तिम क्षणसम्म पनि पार्टीलाई जोगाउने प्रयत्न गरिरहेका छन् । उनीहरुमाथि खड्गप्रसाद ओली र उनका सहयोगीहरुबाट महा नीचस्तरको गालीगलौजको वर्षा भयो । एकीकृत हुने समयमा कम्तीमा ओलीलाई आफ्नो विधि, विधान विरोधी कृत्यप्रति क्षमायाचना गर्न लगाउनेछन् ।

अदालतले दिएको आदेशलाई समेत उल्लंघन गर्ने स्वेच्छाचारी शासकको अगाडि पराजित सिपाहीझैं उभिएका देखिन्छन् यी नेपालहरु । के तपाईंहरु आफ्नो राजनीतिक समाप्तिको भयमा शरण माग्न जानुभयो ? होइन भने तपाईंका सम्झौताका आधारहरु के–के हुन् ? अहिलेसम्म कसैले पढ्न हेर्न र सुन्न पाएको छैन यो प्रश्नको जवाफ । गजब दृश्य छ अहिले नेपालको कम्युनिष्ट भनिएको आन्दोलनमा । भन्नलाई जनताको जनवाद भनिएको छ, व्यवहारमा उल्टो गरिएको छ ।

सहयात्रीको हुर्मत लिने र सत्तासिनहरुको चाकडी गर्ने भारदारहरु पुरस्कृत हुने संस्कृतिको विकास गरिएको छ । न कम्युनिष्ट नीति सिद्धान्तसँग यसको तादात्म्य मिल्छ, न यसको लयसँग जनताको आवाजको लय मिल्छ । पार्टीभित्रका इमान्दार कार्यकर्ताहरु पाखा लाग्दै जाने, नयाँ पुस्ता प्रविधिको उच्च विकाससँगै यो आन्दोलनसँग विकर्षण हुने सम्भावना देखिएको छ ।

कम्तीमा कम्युनिष्ट सरकार बनेपछि आम मानिसले बनाएको भ्रमको ठूलो जालो तोडिएको छ । जनताहरुलाई प्रष्टरूपमा सत्तामा पुगेका कम्युनिष्टहरुको चरित्र प्रष्ट भएको छ । विकल्प नहोला तत्कालै, तर तपाईँहरुलाई जनताले राम्रैसँग चिनेका छन् । मानिसहरुले प्रश्न गरिरहेका छन्, यही नै गर्नु थियो भने आदर्शका त्यत्रा पाठ किन घोकाइयो कमरेड ?
– मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्