Logo

रवीन्द्र अधिकारीः मेरो मूल्यांकनमा


Published On : 19 March, 2019

रवीन्द्र अधिकारी नेपाली राजनीतिक मैदानमा अत्यन्त लोकप्रिय युवानेता थिए । उनी सबै खाले चुनौती पार गर्दै लगातार अघि बढिरहेका थिए । यहाँसम्म आइपुग्दा उनका अगाडि तेर्सिएका प्रत्येक गौंडाहरु पार गरी सफलता हासिल गर्दै उनी अझ ठूलो सफलताका लक्षण देखाउँदै अगाडि बढिरहेका थिए । उनको हिजो जति उज्यालो थियो भोलि पनि उत्तिकै उज्यालो थियो । उनले नेपालको राजनीतिको अत्यन्त जटिल र निर्मम प्रक्रियाबाट जोगिदै एकपछि अर्को सफलता हात पार्दै अगाडि बढिरहेका थिए । उनको अहिलेसम्मको राजनीतिक यात्रा अत्यन्त लोभलाग्दो थियो । उनलाई नेपाली जनता र विशेषगरी युवा पुस्ताले ठूलो आशाका नजरले हेरिरहेका थिए । उनी शासकीय पदमा पुगेको एक बर्ष मात्र पुरा भएको थियो । त्यति नै अवधिमा पनि उनले अनेक सम्भावनाहरु देखाएका थिए ।

उनी नेपाली राजनीतिका ‘राइजिङ स्टार’ थिए । त्यसैले पक्कै पनि केहिको बक्र दृष्टि उनमा परेकोे थियो होला । तिनैले उनलाई बिबादित बनाउन प्रयत्न गरे होलान् । नेपालको राजनीतिमा यस्तो चरित्र हत्या गर्ने प्रयाश हुनु कुनै नौलो कुरा पनि होईन । जे होस् उनी अब भौतिक रुपमा यस दुनियामा रहेनन् । अपार सम्भावना बोकेको, असीमित जाँगर भएको र विकास प्रति समर्पित भएर लाग्ने एउटा होनहार युवा नेताको असामयिक अवसान पीडादायि त हुने नै भयो ।

उनी नेपालका सबैभन्दा ठुला र पुराना क्याम्पसहरु मध्येको पोखराको पृथ्वी नारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित भए, त्रिभूवन बिश्व बिद्यालय स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित भए र देशको अग्रणी विद्यार्थी संगठन अनेरास्वबियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को केन्द्रीय अध्यक्ष भए । विद्यार्थी राजनीतिमा उनको यो सफलता नै साह्रै लोभ लाग्दो सफलता हो । गायक प्रवीण गुरुङ्गको हत्यामा पारस शाहलाई कारबाहि हुनु पर्दछ भन्ने माग राखी उनको नेतृत्वमा भएको आन्दोलनले उनको साहसिक नेतृत्वको भरपुर परिचय दिन्छ ।
संसदीय निर्वाचनको राजनीतिमा प्रवेश गरेपछि पनि उनले पोखरा जस्तो राजनीतिक रुपमा अत्यन्त जागरुक शहरबाट लगातार तीन पटक चुनाव जिते । उनको यस्तो सफलता नेपालका बिरलै नेतामा पाईन्छ । पछिल्लो चुनाबमा त उनले नेपाल विद्यार्थी संघका पूर्ब केन्द्रीय सभापतिलाई नै सजिलै परास्त गरेका थिए । तीन पटक लगातार चुनाव जित्दा पनि उनको लोकप्रियतामा कमी आएको थिएन, बरु अझ बढ्दै थियो । यस आधारमा उनले त्यँहाबाट अझ कति पटक चुनाव जित्थे होला भन्न सकिने अबस्था थिएन । उनको यो बिरलै भेटिने क्षमता र लोकप्रियता हो ।
उनको यस्तो सफलता र लोकप्रियताको रहस्य जोसंग पनि मुस्कानका साथ प्रस्तुत हुने, कसैप्रति पनि बैरभाव नराख्ने, सधैं उज्यालो र उत्साही मुद्रामा देखिने, साहसि र अत्यन्त सक्रिय रहने, कहीँ पनि बिबादमा नपर्ने र समन्वयकारी भूमिका खेल्ने थियो । उनमा कसैप्रति पनि तिक्तता थिएन र प्रतिशोधको भावना पनि थिएन । कास्की एमालेको जिल्ला सचिवबाट हटाउँदा पनि उनले त्यसलाई सहज ढङ्गले लिए र सदस्यमै रहि काम गर्न तयार भए, उनले कुनै बिबाद र बिद्रोह गरेनन् । यो उनको दुर्लभ गुण थियो । विवादमा नअल्झिएर अगाडि बढ्ने उनको यो बिशिष्ट विशेषता थियो ।
दोश्रो संबिधान सभाको निर्वाचनमा बिजयी भएर आएपछि उनी संसदको विकास समितिको सभापति भए । त्यो पदमा रहि काम गर्दा उनी यति सकिृय रहे कि त्यहि अवधिमा उनले आफुलाई विकासको निमित्त समर्पित नेताको रुपमा स्थापित गरे । उनी कहिले मुस्ताङ्गको कोरला नाका पुगे भने कहिले रसुवाको स्याफ्रुबेँसी पुगे । तुरुन्तै काठमाण्डौ फर्केर त्यस बिषयमा छनफल गर्न समितिको बैठक बोलाए । कोराला नाकालाई चल्तीको व्यापारिक नाका बनाउने र त्यहाँको सडक निर्माणमा उनको नेतृत्वदायी भूमिका रह्यो । त्यसैगरी भूकम्पको कारणले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भई नेपाल र चीनवीचको स्थलमार्गबाट हुने व्यापार अबरुद्ध भइरहेको अवस्थामा उनले रसुवाको स्याफ्रुबेँसी नाकालाई अन्तर्राष्ट्रिय व्यापारिक नाका बनाउने काममा अहम् भूमिका खेले । यसरी रवीन्द्र्रले नेपालको विकास अभियानलाई आफ्नो तर्फबाट सक्दो योगदान पुर्याए । विकासको काममा त्यतिविधि व्यस्त रहँदा रहँदै पनि त्यति नै बेला उनले नेपालको समृद्धिका बिबिध पक्षलाई समेटेर एउटा पुस्तक प्रकाशित गरे । यसले उनको कृयाशीलता र लगनशीलतालाई दर्शाउँछ ।
संसदमा तेश्रो पटक चुनाव जितेर आएपछि उनलाई जन अपेक्षा अनुरुप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गरियो । पोखरालाई संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई पर्यटन मन्त्री बनाउनु अत्यन्त उपयुक्त थियो । दशकौं देखि लट्किरहेको पोखराको अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल र अनेकन विवादमा परेर निर्माण अबरुद्ध भईरहेको अबस्थामा रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलको निर्माणलाई गति दिने दृष्टिले पनि यो मन्त्रालयको जिम्मेवारी उनलाई दिईएकोमा गण्डकी र पाँच नम्बर प्रदेश नै हर्षित भयो । उनको नेतृत्वमा जनअपेक्षा अनुरुप नै यी दुई विमानस्थलको निर्माणले गति लियो र निर्धारित समयभन्दा अघि नै निर्माण कार्य सम्पन्न गरी उडान सुरु गर्ने लक्षका साथ काम अघि बढ्यो ।
रवीन्द्रले यो मन्त्रालय सम्हाल्दा देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल (त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल) अस्तव्यस्त अवस्थामा थियो । काठ्माण्डौको आकासमा ट्राफिक जाम भएर यहाँ अबतरण गर्न आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु लामै समयसम्म आकाशमा होल्डमा रहनु पर्ने अवस्था थियो भने यहाँबाट बाहिर उडान भर्ने विमानहरु पनि यात्रुहरुलाई विमान भित्र राखेर लामै समय उडान भर्नको निमित्त विमान स्थलमा क्यूमा बस्नु पर्ने वाध्यता थियो । अर्कोतिर विमानस्थल भित्रको प्रस्थान कक्षमा हर बखत यात्रुहरुको भिड लाग्दथ्यो । उडानको प्रतिक्षामा रहेका यात्रुहरु बस्ने ठाउँ नपाएर भुईमा नै बस्नु पर्दथ्योे । यो स्थितिमा सुधार ल्याउन रवीन्द्रले तत्काल प्रस्थान कक्षमा कुर्चीहरु थप्न लगाए, विमानस्थल दिनको २१ घण्टा खुला राख्न लगाए । आन्तरिक उडानको निमित्त बैकल्पिक विमानस्थल निर्माणको लागि ठाउँको खोजी गरे । तर काठमाण्डौ उपत्यका र काभ्रेको बनेपासमेतमा उपयुक्त ठाउँ नभेटिएपछि सो पहल स्थगित भयो । त्यसैगरी २० लाख पर्यटक नेपाल भित्र्याउने उनको लक्ष्य थियो र त्यसका लागि उनी प्रयासरत थिए ।
रवीन्द्रले बारा जिल्लाको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको तयारीको काम पनि सक्रियतापूर्बक अगाडि बढाईरहेका थिए । यी कुराहरुको अतिरिक्त उनले नेपाल बायु सेवा निगमको निमित्त एयरबसको वाइडबडी विमान नेपाल भित्र्याउन पनि पहल गरे । साथै सन् २०२० लाई ‘भिजिट नेपाल’ वर्ष मनाउन उनले तयारी गरिरहेका थिए । रवीन्द्र्रबाट छोटो अवधिमा रफ्तारका साथ भएका यी कामहरुबाट के निष्कर्ष निकाल्न सकिन्छ भने उनी बिकाशको निमित्त पूर्ण रुपमा समर्पित नेता थिए । विकासका काममा बाहेक उनी अरु बिषयमा अल्झन चाहदैनथे । विकासका काममा उनी अत्यन्त गतिशील थिए । त्यसैले निश्चितताका साथ के भन्न सकिन्छ भने उनले पूर्ण जीवन जिउन पाएको भए विकासका काममा उनले विकासका अनेकन कोशेढुंगा स्थापित गर्न सफल हुने थिए ।
यस अवधिमा उनी केहि बिषयमा बिबादित पनि भए । दोश्रो वाईड वडि ल्याउँदा ठूलो रकमको कमिशनमा उनी सहित अघिल्ला तीन जना पर्यटन मन्त्री संलग्न भएको आरोप संसदको सार्वजनिक लेखा समितिले लगायो । यसको अनुसन्धान सम्बन्धित निकायबाट हँुदै होला । तर उनले अन्तिम किस्ताको भुक्तानी रोकेको भए अघिल्ला दुई किस्ता खेर जाने र विमान पनि नआउने हुन्थ्यो । त्यो किस्ता भुक्तानी भएकोले विमान आउन सम्भव भयो । तर पनि रवीन्द्र्रले आर्थिक अनियमितता गरे भन्ने आधार छैन । उनको सफल राजनीतिक पृष्ठभूमि र भविष्यको ठूलो सम्भावनालाई दृष्टिगत गर्दा उनले पैसाको लागि त्यो सबै कुरा दाउमा राखे होलान् भनेर बिश्वास गर्न सकिदैन । मन्त्रालयको आन्तरिक बिज्ञ समूह गठनमा बिबादित व्यक्तिको नियुक्तिलाई पनि बिबादको विषय बनाईयो । ती व्यक्ति निश्चित रुपमा विगतको लाउडा काण्डमा मुछिएका व्यक्ति थिए । त्यसैले उनको नियुक्ति अज्ञानताबश भएको हुनु पर्दछ र जानकारी भएपछि उनलाई सो समूहबाट हटाईयो । उनी नागरिक उड्डयन क्षेत्रका राम्रो ज्ञाता र अनुभवि व्यक्ति (नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक) निश्चित रुपमा थिए । त्यहि भएकोले उनको ज्ञान र अनुभवको उपयोग गर्ने दृष्टिले त्यो समूहमा उनलाई नियुक्त गरिएको हुनु पर्दछ । साथै त्यो समूहको सदस्य कुनै कार्यकारी पद नभएकोले त्यसमा आर्थिक चलखेल हुने कुरै भएन ।
यसलाई कुन दृष्टिले पनि हेर्नु पर्ने हुन्छ भने उनी नेपाली राजनीतिका ‘राइजिङ स्टार’ थिए । त्यसैले पक्कै पनि केहिको बक्र दृष्टि उनमा परेकोे थियो होला । तिनैले उनलाई बिबादित बनाउन प्रयत्न गरे होलान् । नेपालको राजनीतिमा यस्तो चरित्र हत्या गर्ने प्रयाश हुनु कुनै नौलो कुरा पनि होईन । जे होस् उनी अब भौतिक रुपमा यस दुनियामा रहेनन् । अपार सम्भावना बोकेको, असीमित जाँगर भएको र विकास प्रति समर्पित भएर लाग्ने एउटा होनहार युवा नेताको असामयिक अवसान पीडादायि त हुने नै भयो । उनको अवसान मुलुक र नेकपाको लागि अपुरणीय क्षति हो । हार्दिक श्रद्धान्जली रवीन्द्र अधिकारीजी ।

प्रतिक्रिया दिनुहोस्