Logo
Logo

कोरोनाको उत्पत्तिबारे अनुसन्धान तीन महिनाभित्र टुंग्याउन बाइडेनको निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले गुप्तचर निकायलाई कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न आदेश दिएका छन् ।

कोरोना भाइरसको उत्पत्तिका बारेमा विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले गुप्तचर निकायलाई कोरोना भाइरसको उत्पत्ति कहाँबाट भयो भन्ने कुरा पत्ता लगाई ९० दिनभित्र रिपोर्ट पेस गर्न आदेश दिएका हुन् ।

बाइडेनले बुधबार एक वक्तव्य जारी गर्दै अमेरिकी गुप्तचर निकायलाई आदेश दिएका हुन् । कोरोना भाइरसको संक्रमणको पहिलो घटना सन् २०१९ को डिसेम्बरको अन्त्यमा चीनको हुबेई प्रान्तको राजधानी वुहानमा देखिएको थियो ।

कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर १६ करोड ८० लाखभन्दा बढी संक्रमित भएका छन् भने करिब ३५ लाखको ज्यान गएको छ । चिनियाँ प्रशासनले वुहानको सीफूड मार्केटमा पहिलो पटक संक्रमण देखिएको दाबी गर्दै आएका छन् । वैज्ञानिकहरुले कोरोना भाइरस चमेरो हुँदै कुनै जनावरमार्फत मानिसमा सरेको प्रबल सम्भावना रहेको बताउँदै आएका छन् ।

तर केही दिन पहिले अमेरिकी सञ्चारमाध्यममा छापिएको रिपोर्टमा भने वुहानस्थित एक प्रयोगशालाका कर्मचारी बिरामी भएको बताइएको थियो । अमेरिकी गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टमा वुहानमा कोरोना भाइरसको संक्रमित भेटिनुअघि नै वुहानस्थित एक प्रयोगशालाका कर्मचारी बिरामी भएको दाबी गरिएको छ । तर उक्त रिपोर्टको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

पश्चिमा देशहरुले कोरोना भाइरस प्रयोगशालामा तयार पारिएको हुन सक्ने कुरालाई जोड दिँदै आएका छन् । तर चीनले भने उक्त कुरालाई कडा रुपमा नकार्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्