Logo
Logo

जसपा सरकारमा जाने पक्का, ८ मन्त्री र दुई राज्यमन्त्री पाउने


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तथा जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षबीचको वार्ता सकिएको छ । बैठक १० बजेदेखि २ बजेसम्म चलेको थियो ।

जसपा नेता लक्ष्मणलाल कर्णका अनुसार जसपाले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने गरि समझदारी भएको छ । उनले पार्टीमा आपसमा कुरा गरेर एक दुई दिनमै सरकारमा जाने बताए । उनले भने, ‘सरकारमा त जाने नै हो, ८ मन्त्री र २ राज्यमन्त्री लिने भनेर अध्यक्ष महन्थजीले भनिसक्नुभएको छ, पार्टीमा छलफल पछि सरकारमा जान्छाँै ।’

माओवादी केन्द्रले छोडेका मन्त्रालय जसपाले पाउने बताइएको छ । तर, को–को कुन कुन मन्त्रालयमा जाने भन्नेबारे निर्णय भइनसकेको छैन । जसपाले गृह मन्त्रालयको दाबी पनि गर्दै आएको छ । र, अहिले पनि उक्त दाबी नछाडेको स्रोत बताउछ ।

अध्यक्ष ठाकुर समूहले संसदीय दलको नेता चयन गरेको राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा जान लागेको हो । यता, अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई पक्ष भने कुनै पनि हालतमा सरकारमा जान नहुने पक्षमा उभिँदै आएका छन्।

प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेदेखि नै जसपामा ध्रुवीकरण सुरु भएको थियो। प्रतिनिधि सभा पुनःस्थापनापछि पनि महन्थ–राजेन्द्र समूह ओली नेतृत्वको सरकारको निरन्तरतामा रहिरह्यो। तर, उपेन्द्र–बाबुराम समूह भने ओली नेतृत्वको सरकार ढाल्ने प्रयासमा रहिरहेको थियो।

प्रतिक्रिया दिनुहोस्