Logo
Logo

जसपा फोड्न दलसम्बन्धी अध्यादेश ल्याउने तयारी !


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) फुटाउन अध्यादेश ल्याउने विषयमा छलफल सुरु भएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा जसपा अध्यक्ष महन्थ ठाकुरले पार्टी नफुटाइ सरकारमा सहभागी हुन नसक्ने भएकाले पार्टी फुटाउन सहयोग गर्न आग्रह गरेका थिए ।

राजनीतिक दल सम्बन्धी ऐनअनुसार पार्टी विभाजन हुँदा आधिकारीकता पाउन केन्द्रीय समितिमा ४० प्रतिशत पुग्नुपर्ने व्यवस्था रहेकाले उक्त व्यवस्था संशोधन गर्न ठाकुरले ओलीसँग सहयोग मागेका हुन् ।

केन्द्रीय र कार्यकारिणी दुबै समितिमा ४० प्रतिशत संख्या नपुग्ने भएकाले ठाकुर तनावमा छन् । त्यसैले सके ऐन संशोधन नसके अन्य सहयोग गर्न ठाकुरले ओलीसँग अनुरोध गरेका छन् ।

सरकारमा सहभागी हुने तयारी गरिरहेको बेला उपेन्द्र यादव समूहको बहुमत कार्यकारिणी समितिले सरकारमा सहभागी हुने नेता कार्यकर्ताको सदस्यता स्वतः रद्द हुने निर्णय गरेकाले पनि ठाकुर अप्ठ्यारोमा परेका हुन् ।

ऐन संशोधन होला ?

पछिल्लो समय धेरै ठाउँमा सहयोग गर्दै आएका महन्थ ठाकुरले राजनीतिक दलसम्बन्धी अध्यादेश संशोधन गरेर सहयोग गर्न अनुरोध गरेता पनि ओली भने तत्कालै तयार हुन सकेका छैनन् । पार्टीले आन्तरिक समस्या झेलिरहेको बेला ऐन संशोधन गर्दा आफैलाई हानी हुने भएकाले ओलीले तत्कालै यो कदम नचाल्ने विश्लेषक बताउँछन् ।

केपी शर्मा ओलीले २०७७ बैशाख ८ गते तत्कालिन समाजवादी पार्टी, नेपाल विभाजन गर्न राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएका थिए । तर, त्यो अध्यादेशले ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी, यादव नेतृत्वको समाजवादी पार्टीलाई रातारात एकता गराएर जसपा बनाएको थियो । अहिले सोही जसपा विभाजन गर्न ओलीबाट अध्यादेश ल्याउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्