Logo
Logo

जनहत्यारालाई जनताले कारवाही गर्नेछन्


लक्ष्मण देवकोटा


कम्युनिष्ट भाष्यमा लोकलाई क्रान्तिका झुठो सपनाहरु बेचेर सत्तारोहण भएका खड्गप्रसाद ओलीहरु यसरी अधम निस्किएलान् भनेर शायदै कसैले कल्पना गरेको थियो होला । लामो कालखण्डको इतिहास बोकेका प्रतिपक्षीहरु ओलीको दादागिरी अगाडि यति निरीह र लाचार होलान् भन्ने पनि शायदै कसैले सोचेका थिए होलान् ।

त्यसभन्दा एक कदम अघि बढेर जनता कोही कसैले महामहिम राष्ट्रपति विद्या भण्डारीको गतिविधि यति संकीर्ण होला भन्ने कल्पना त के सपनामा पनि सोचेको थिएन होला । अरु त अरु प्रधानन्यायाधीश जस्तो राज्यका अरु निकायहरु समेतलाई ठीक बाटोमा ल्याउने इतिहास बोकेको संस्थाको गरिमा एकएक गर्दै झर्दै र गिर्दै गएको दुर्दान्त दृश्य कसैले हेर्नुपर्ला भनेर सोचेकै थिएनन् ।

खड्गप्रसाद ओली आफ्ना कुटिल खेलमा एकपछि अर्को गर्दै सफलजस्तो देखिएका त छन्, तर त्यो सफलतामा कुनै विजयको भावभंगिमा छैन । दम्भ र अहंकार, सेटिङको घिनलाग्दो छद्म दृश्य, आलोचकहरुप्रतिको उनको असहिष्णु र पूर्वाग्रही व्यवहार, कोभिडका कारण मृत्युवरण गरेका आम नागरिकप्रतिको उनको बेवास्ता यी सबका कारण चौध वर्षको जेल जीवन बिताएका मानिस यिनै त हुन् ? गम्भीर संशय आम मानिसहरुमा पैदा भएको छ ।

गणित र सत्ताको झिनाझपटीमा उनले आफ्ना सही गलत सबै उपाय अपनाए पनि उनको अनैतिक राजनीतिक चरित्रको सबै पर्दा उघ्रिएको छ । लोकका अगाडि यतिबेला ओली नांगै छन् र यी नांगा ओलीले गरिमामय राष्ट्रपतिको संस्थालाई पनि नांगेझार पारेका छन् । यो खतिको क्षतिपूर्ति आगामी दिनहरुमा महंगै पर्ने देखिन्छ ।

राष्ट्रपति महोदय केवल बालुवाटारको एकछाप भइदिनुभयो । बालुवाटारले सीमा नाघेका बेला त्यसलाई रोकेर पथमा हिँडाउनुपर्ने गरिमामय संस्थालाई धुलिसात पारियो । कमरेड मदन भण्डारीलाई सम्झेर सूर्यमा छाप हान्ने मतदाताहरु । मनमोहन अधिकारीजस्तो विशाल वृक्षलाई अहिले फेदैबाट ढालेर सिंगमरमरको नक्कली वृक्षले मारवाडीको बंगलामा सजाइन थालेको छ, एमालेको मुख्यालय ।

माधवकुमार नेपालहरु आफ्ना समर्थकका गाली सुनेर पनि मिल्ने अपेक्षाका साथ मेरियट होटल पुगेका थिए, ओलीसँगको वार्तामा । पटक–पटकको वार्ता गर्न गएका माधव नेपालसँग किन मिल्न खोजिरहेका छैनन् ओली र ईश्वर पोखरेलहरु ? ओली समूहकै मिल्नुपर्छ, पार्टीलाई फुटबाट जोगाउनुपर्छ भनेर लागिपर्ने नेतृत्वकै टिमका मानिसहरुको आवाज किन सुनिदैन ?

किन हरेक पटक केही न केही बखेडा झिकेर एकीकृत कम्युनिष्ट आन्दोलनलाई टुक्राटुक्रा पारेर विसर्जनको घाटमा श्रद्धाञ्जली दिन किन लगिँदैछ ? सबैलाई छर्लङ्ग भइसकेको हुनुपर्दछ कि नेपालको कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न पार्न उद्यत सबै शक्तिहरुको मोहरा बनेका छन्, ओली । ओलीको यो हरेक पटकको असंवैधानिक र गैरकानूनी कामलाई सदर गर्दै गइरहने काम गरेको छ राष्ट्रपतिको संस्थाले ।

प्रधानमन्त्री र राष्ट्रपतिको यो गैरसंवैधानिक कदमलाई निस्तेज पारेर फेरि उठ्न नसक्ने गरी दण्डित गर्नुपर्ने न्यायालय प्रधानन्यायाधीशको स्वार्थको निम्ति बदनामी कमाइरहेको छ । होइन भने, माग्दै नमागेको पार्टी विभाजनको फैसला गर्ने तहसम्म कसरी पुग्यो न्यायालय ? अहिलेको पुस्ताले न्यायालयको भाषा पनि राम्रैसँग बुझेको छ ।

न्यायालयका न्यायमूर्तिहरुले गरेको सौदाबाजी पनि देखिरहेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको मिलिभगतमा यो मुलुकमा अहिले राज्यआतंक चलिरहेको छ जसमा न्यायालयका विवादास्पद गतिविधिले थप बल पुर्याइरहेको छ । धेरैलाई भन्न असजिलो लागिरहेको तर सत्य कुरा यही हो । सबैले बुझ्ने भाषामा, बोलीचालीमा आएको ‘सेटिङ’ भन्ने शब्दको अन्तर्य पनि यही हो ।

खड्गप्रसाद ओलीका सबै अवैध हर्कतहरुलाई राज्यको उपल्लो अंगले सही छाप ठोकिदिने र क्रसचेक गर्नुपर्ने संस्थाले सौदाबाजी गरिदिँदा जनताको मृत्यु अहिले अंकगणितको विषय भएको छ । दुईसय जना मान्छेको अनुपातमा दिनहुँ मान्छे मर्दा पनि सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति कसैलाई पनि छुन छाडेको छ । बन्दाबन्दीको बेला घरभित्र थुनिएका आम नागरिकलाई दोष दिनु गलत हुन जान्दछ । जनता जालभित्रका माछा भएका छन् । उनीहरु जति उफ्रिए पनि जालभित्रै भइरहेका छन् ।

एउटा कम्युनिष्ट प्रधानमन्त्रीले यति हर्कत गरेको देख्दा कम्युनिष्ट भन्ने शब्द नै लज्जित भएको हुनुपर्दछ । यदि खड्गप्रसाद कम्युनिष्ट हुन्थे भने, प्रथमत उनी पार्टीभित्रको विधि, पद्धतिको प्रक्रियामा प्रवेश गर्थे । कम्युनिष्ट नै नभए पनि इमान्दार मात्रै हुन्थे भने जुन संसद्मा आफूप्रति अविश्वास छ भन्ने पुष्टि भयो, त्यही दिन उनी राजीनामा दिएर बालकोट पुगेका हुन्थे ।

खड्गप्रसादले सत्ताको चरम दोहन गरेर, आफूले गरेका हरेक तिकडमलाई सही थाप्ने गुट खडा गरेर र आफ्नाहरुलाई वडा तहदेखि माथिल्लो तहसम्म खुलेआम भ्रष्टाचार गर्न छुट दिएर एउटा दलालहरुको सञ्जाल खडा गरेका छन् । यो सञ्जालमा साइबर सेनादेखि लिएर असहमतहरुलाई भौतिकरुपमै पनि सिध्याउने सबै खालका मानिस तयार भएका छन् ।

मिहिनेत गरी धम्क्याएकै भरमा अकूत सम्पत्ति हात पार्न सकिन्छ भन्नेहरुले अहिले उनलाई ‘बा’ भनेर जयजयगान गरिरहेका छन् । यिनीहरु कम्युनिष्ट होइनन् । यिनीहरु त कम्युनिष्ट पार्टीको नाममा पार्टीभित्रका इमान्दार कार्यकर्ताहरु, संगठित भएर विजय हासिल गर्न सकिन्छ भनेर सोझो चिताउनेहरु सबैलाई पाखा पन्छाएर सत्ताको दोहन गर्न लागिपरेका भ्रष्टहरु हुन् ।

केही इमान्दारहरु पनि भ्रममा परेर यो समूहको पछि लागेका छन्, खासगरी प्रचण्डलाई नरुचाउने र माधव नेपालको कोपभाजनमा परेकाहरु । तर, तल्लो तहसम्म जसरी कम्युनिष्ट पार्टी पद्धति र विधि विधानको हुर्मत काढेर कम्युनिष्टका नाममा लुट चलिरहेको छ, अब इमान्दार कार्यकर्तालाई मुख देखाउन समेत लाज लाग्ने अवस्था सिर्जना भइसकेको छ । यो सबै काम माधव नेपालहरुबाट हैन, केपी ओलीको नेतृत्वबाट भएको नकाम हो ।

इतिहास पढे थाहा हुन्छ, अटोमन साम्राज्य, रोमन साम्राज्य, विशाल सोभियत साम्राज्यहरु, छिमेककै मूगल साम्राज्यको समेत पतन भएको छ । सत्ताको रापताप, पैसा, पद र प्रतिष्ठाको दम्भमा सधैँभरि मानिसहरुलाई काबुमा राख्छु भन्ने भ्रमबाट सबैभन्दा पहिला खड्गप्रसाद ओली मुक्त हुनुपर्दछ ।

अहिले स्वार्थजन्य कारणले उनको पछि लागेकाहरु भोलि ओली कमजोर हुँदा फेरि ओलीलाई छोडेर भाग्नेछन् । ओलीको दाउ छ, जसरी पनि आफ्नै नेतृत्वमा मध्यावधि गराउने । यसरी संविधानलाई आगो लगाएर मनपरी गर्दै हिँड्ने सन्की शासकले गराउने चुनाव झन् कस्तो होला ? ओली आफू त डुब्ने नै छन्, उनले सिंगो आन्दोनलाई समेत भष्म पारेर जाने भए भन्ने चिन्ता मात्रै हो ।

रह्यो प्रतिपक्ष कांग्रेसको । विधि विधानको कुरा गर्ने पार्टीभित्रकै माधव नेपाल समूहको । यति तिरस्कृत हुँदा पनि किन उतिबेलै संसदमा ओलीको बहिर्गमनको निम्ति निर्णायक कदम चालेनन् माधव नेपालहरुले ? किन सधैँ सम्झौतापरस्त काम गरे यिनीहरुले ? जब कांग्रेस नेतृत्वको निम्ति हस्ताक्षर गर्नै थियो भने निर्णायक क्षणमा ओलीलाई हटाइदिएको भएर त्यसपछिको कदममा अग्रगमनकारी जनताको साथ विद्रोहीहरुलाई हुन्थ्यो नै ।

हो यो सिंगो राजनीतिक जीवनलाई दाउमा लगाउने कदम हुनसक्थ्यो तर, जनता ‘अक्सिजन’ नपाएर, अस्पतालको ढोका नखुलेर, अस्पताल जाने लालसामा एम्बुलेन्स नपाएर मर्न बाध्य पार्ने हत्यारो सरकारका विरुद्ध सही कदम लिएर उभिएको शक्तिको रुपमा नेपालहरुको समर्थनमा हुन्थ्यो नै । इतिहासमा सही र सत्यका लागि लडिरहेको शक्तिको रुपमा अंकित हुने थियो । ढिलै भए पनि आफ्नो कदममा अडियुन् माधव नेपालहरु ।

सत्ताले यति बुझोस् अहिलेको पुस्ता रैती होइन । सत्ताको यो राणाकालीन अभ्यासविरुद्ध जनता जागृत भइसकेका छन् । ढिलोचाँडो जनताले जनहत्याराहरुमाथि कारवाही गरेरै छाड्नेछ । मानिसहरुलाई ‘मरे मर, बाँचे बाँच’ भनेर छोडिदिने, आफू भने राजधानीका महंगा अस्पतालहरु आगटेर बाँचिरहने यी शासकहरु हत्यारा नभए के हुन् त ?

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्