Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोना जित्ने बढेदेखि इजलासबाट बाहिर नजाने न्यायाधीशको अडानसम्म


दृष्टि संवाददाता


१. पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जना कोरोना संक्रमित थपिए, १ सय १४ जनाको मृत्यु, ६ हजार ४ सय ९१ जना संक्रमित निको भए, १ हजार ९ सय १६ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा, कोरोना संक्रमणपछि ‘ब्ल्याक फंगस’ भएका बिरामीको वीर अस्पतालमा गरियो शल्यक्रिया, चीनले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १० लाख डोज खोपमध्ये ९ लाख मात्रा मंगलबार काठमाडौं आइपुग्ने, ८ लाख डोज बेइजिङबाट र १ लाख डोज कुन्मिङबाट काठमाडौं ल्याइने, टिचिङ अस्पतालमा जोडियो लिक्विड अक्सिजन ट्यांक, अब अक्सिजन अभाव नहुने ।

२. संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश हट्नुपर्ने भन्ने विपक्षी कानून व्यवसायीहरुको दबाबपछि भएको बहसमाथि आन्तरिक छलफल भए पनि इजलासमै एक मत नभएपछि आदेश आउन सकेन, संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूसँग प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संयुक्त रूपमा र न्यायाधीशहरूबीच बेग्ला–बेग्लै छलफल भए पनि कुनै आदेश जारी नभएको भनाइ, विपक्षीले इजलासमा बस्न नमिल्ने भनेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू कुनै वकिलले भनेका भरमा इजलासबाट बाहिर नजाने अडान ।

३. प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राष्ट्रिय सहमतिको सरकार बनाउन अग्रसर भएको भन्दै जसपाका नेताहरूलाई सरकारमा सहभागी हुन आग्रह, केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा पनि सहभागी हुने, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीसँग छलफल गर्दै मुद्दा फिर्तासँगै सरकारमा सहभागी हुने, ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने कुरा भएको लक्ष्मणलाल कर्णको भनाइ ।

४. बजेटमार्फत सरकारले जनमत प्रभावित गर्ने दुराशय राखेको प्रतिपक्षी दल नेपाली कांग्रेसको आरोप, सरकारले बजेटमा राखेका भ्रमपूर्ण योजना कार्यान्वयन हुन नसक्ने चेतावनी, सरकारको जनमत बढ्दैछ भनेर भ्रम कसैलाई नभएको तर्क, प्रधानमन्त्री र अर्थमन्त्रीको निर्वाचन क्षेत्र तथा प्रधानमन्त्रीको नगरको नाम बजेटमा पढ्दा नागरिकको विवेकमाथि सरकारले अपमानित गरेको अनुभूति भएको टिप्पणी, देखाउन लायक काम नगरे पनि जनताको टाउको दोब्बरभन्दा बढी ऋणको भार थोपरेको आरोप ।

५. राष्ट्रियसभाको लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्य पदमा विपक्षी गठबन्धनका उम्मेद्वार दीर्घनारायण पाण्डे निर्वाचित, नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्का पराजित, कांग्रेसका पाण्डेले १ सय ६० मत पाउँदा एमालेका खड्काले १ सय २३ मत पाए ।

६. सर्वोच्च अदालतमा विपक्षी गठबन्धन र उक्त गठबन्धनसँग आबद्ध बरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएकोमा प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित, आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइएको आरोप, पूर्वप्रधानन्यायाधीशहरूको वक्तव्यबाजीप्रति पनि आपत्ति, राज्यको पेन्सन खाएर न्यायलापको हुर्मत लिने काम बन्द गर्न सुझाव ।

७. नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाही सिफारिस, २४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका ३ जना मन्त्री र ३ राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमारी कामीलाई कारबाही गर्न एमालेको केन्द्रीय कमिटीलाई सिफारिस ।

८. साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा करेन्सन, बजार ४५ अंकले घट्दै नेप्से परिसूचक २ हजार ८ सय ८३ अंकमा, आइतबार एकैदिन १७ अर्ब रुपैयाँको रेकर्ड कारोबार भएकोमा सोमबार भने १३ अर्ब ४८ करोड रुपैयाँको कारोबार, झण्डै तीन करोड कित्ता सेयर किनबेच, पुनर्बीमा कम्पनी सञ्चालनको लागि हिमालयन रि लाई अनुमति दिने, राधी विद्युत कम्पनीले १ सय ४७ प्रतिशत हकप्रद निष्काशन गर्ने ।

९. राष्ट्रिय फुटबल टिम कुवेतमा, फिफा विश्वकप छनौट अन्तर्गत नेपालले खेल्ने दोस्रो चरणका तीन खेलको राति पौने १० बजेबाट सुरु हुने, नेपालले जुन तीन अर्थात जेठ २० गते पहिलो खेल चाइनीज ताईपेईविरुद्ध खेल्ने, काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता कोरोना भाइरसका कारण स्थगित, पाकिस्तान सुपर लिग खेल्ने तयारीमा रहेका १३ खेलाडीले यूएईको भिषा नपाउँदा घर फर्काइए ।

१०.र, कोरोना भाइरसको घातक स्वरूप देखिएपछि भियतनामले हो चि मिन्ह सहरका पूरै बासिन्दामा परीक्षण गर्ने, संक्रमण बढेपछि मलेसियामा मंगलबारदेखि १४ दिनसम्म लकडाउन, भारतसँगको सीमा नाका जुन १४ सम्म बन्द गर्ने बंगलादेशको निर्णय, भारतमा कोरोनाको नक्कली औषधि वेच्ने गिरोह सक्रिय, ३५० जना पक्राउ, भारतमा घट्यो संक्रमण र मृत्यु दर, थप १ लाख ५३ हजारमा संक्रमण ।

VIETNAM-HEALTH-VIRUS

प्रतिक्रिया दिनुहोस्