Logo
Logo

योगेश भट्टराईको योजना च्यातचुत


दृष्टि संवाददाता


काठमाडौं । केही समय पार्टी एकताको मूल्यमा तटस्थ बसेका युवा नेता योगेश भट्टराई अन्ततः माधव–झलनाथ समूहमै खुलेपछि उनीविरुद्ध बालुवाटारभित्रै करौँती चलाउने काम भएको छ ।

आर्थिक वर्ष ०७८÷८९ को बजेट भाषण तयार भइसकेपछि योगेश भट्टराईलाई आफ्नै जिल्लामा अप्ठेरो पार्नका निम्ति रातारात सुकेटार विमानस्थलको नामलाई ‘रवीन्द्र अधिकारी’ नामाकरण गरियो । त्यहाँका आदिवासी–जनजाती समुदाय योगेशसँग रुष्ट हुन् भन्नका लागि रवीन्द्रको नाममा विमानस्थलको नामाकरण गरियो । रवीन्द्र, योगेशका घनिष्ट साथी पनि थिए । त्यसकारण योगेशकै प्रस्तावमा त्यसो गरिएको भनी अहिले ओलीपक्षीय एमाले नेताहरु ताप्लेजुङमा सल्बलाइरहेका छन् । तर, यही बजेटमा पनि योगेशमाथिका अत्याचार अनेकन छन् ।

उनले गत आर्थिक वर्षकै बजेटदेखि नै ओलीको अत्याचार सहँदै आएका हुन् । आफू मन्त्री हुँदा गत वर्ष सुकेटार विमानस्थलको स्तरोन्नति, जमिन अधिग्रहणजस्ता निर्णय गराएर उनले अर्थ मन्त्रालयमा पेश गरे । त्यही प्रस्तावभित्रै सुर्खेत, नेपालगञ्ज र रामेछाप विमानस्थल स्तारोन्नतिका प्रस्ताव पनि थिए । तर, बजेट आउँदा ताप्लेजुङलाई सर्लक्कै हटाएर बाँकी विमानस्थलका बुँदाहरु राखियो । यसपटक पनि जननेता मदन भण्डारी जन्मिएको गाउँलाई तेह्रथुमको बसन्तपुरबाट जोड्ने सडकको योजना बालुवाटारमै च्यातचुत पारियो ।

बरु, योगेशलाई बद्नाम गर्ने नियतले उनीबाट कहिल्यै उच्चारण नभएको सुकेटार विमानस्थलको नामाकारण रवीन्द्र अधिकारी विमानस्थल हुन पुगेको छ । उनले माग गरेका थिए, तमोर कोरिडोर, कोवली कोरिडोरको । सुनसरीको चतराहुँदै धनकुटाको मूलघाटदेखि रानीभन्सार–ओलाचुङगोला जोड्ने सडकको योजना थियो । त्यो पनि बालुवाटारमै च्यातेर फ्याँकियो । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा जाने ११ किलोमीटर सडक बनाउन योगेशले तीन वर्षदेखि माग गर्दै आएका छन् । तर, यसचोटि पनि यो योजनामा बजेट परेन ।

प्रतिक्रिया दिनुहोस्