Logo
Logo

गण्डकीमा बजेटका सिद्धान्तबारे छलफल, प्रतिपक्षकाे आपत्ति


दृष्टि संवाददाता


कास्की । गण्डकी प्रदेशसभाको बैठकमा आार्थिक वर्ष २०७८/०७९ को बजेटका सिद्धान्त र प्राथमिकतामा सम्बन्धमा छलफल भएको छ ।

सोमबार प्रदेशका आर्थिक मामिला तथा याोजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता विषयक छलफलमा सहभागी हुदै सदस्यहरूले आ–आफ्ना धारणा राखेका हुन् ।

बैठकमा अधिकांश सत्ता पक्षीय सदस्यहरूले प्रदेशका जनताको समग्र हितलाई लक्षित गर्दै बजेटका सिद्धान्त र प्राथमिकता आएका बताए । प्रतिपक्षी दलका सदस्यले भने विश्वासको मत समेत नलिएका अवस्थामा सरकार अघि बढ्नुको औचित्य नरहेकाे भन्दै टिप्पणी गरे।

प्रदेशसभा सदस्य मायानाथ अधिकारीले सुखी नागरिक र समृद्ध प्रदेशको लक्ष्य प्राप्तीमा आधारित भै सिद्धान्त र प्राथमिकता आएको बताए । विद्यमान अवस्थामा आग्रह पूर्वाग्रहबाट नभै सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा उनेकाे जाेड थियाे ।

अर्का सदस्य प्रकाशचन्द्र दवाडीले विश्वासको मत नलिइ सरकार अघि बढ्नुको औचित्य नहुने बताउँदै कोरोना महामारीको विद्यमान अवस्थामा जनतालाई बचाउने काम पहिलो प्राथमिकतामा पर्नुपर्ने बताए ।

त्यस्तै प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले जनताको अपेक्षा एकातिर व्यवहार अर्कोतिर हुने गरेको बताउँदै अपेक्षा र व्यवहारबीच तालमेल मिलाउनु जरुरी भएको बताए ।

बैठकमा कृष्णबहादुर थापा, विन्दुकुमार थापा, आशा कोइराला, धनञ्जय दवाडी, ललितकला गुरुङ, लेखबहादुर थापा, मीना गुरुङ, सरिता गुरुङ, राजीव पहारी, मेखलाल श्रेष्ठ, मीनप्रसाद गुरुङ, मणिभद्र कंँडेलले आ आफ्ना धारणा राखेका थिए। अर्को बैठक जेठ १९ गते दिउँसो एक बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्