Logo
Logo

विद्यार्थी र युवाले विमानस्थलमै जलाए राष्ट्रपति, प्रधानमन्त्री र अर्थमन्त्रीको पुत्ला


दृष्टि संवाददाता


काठमाडौं । ताप्लेजुङमा विद्यार्थी र युवाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधामन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको पुत्ला जलाएका छन् । अखिल क्रान्तिकारी र वाइसीएल नेपाल ताप्लेजुङका युवाले नारा जुलुससहित बुधबार ताप्लेजुङस्थित सुकेटार विमानस्थलमै पुत्ला जलाएका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको कामचलाउ सरकारले अध्ययादेशमार्फत सार्वजनिक गरेको बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ बनाउने घोषणा गरेको विरोधमा पुत्ला जलाएका हुन् ।

उनीहरुले ऐतिहासिक महत्त्व बोकेको सुकेटार विमानस्थल नै यथावत रहनु पर्ने माग गरेका छन् । सरकारले नयाँ आर्थिक बर्षको बजेटमा विभिन्न विवादास्पद कार्यक्रमहरु सार्वजनिक गरेपछि बिकासको नाममा आदिवासीको आस्थामाथि प्रहार गर्ने नीति अललम्बन गरेको भन्दै आदिवासी जनजातिजन्य संघसंस्थाले विरोध जनाइरहेका छन् ।

बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थललाई स्वर्गीय रबीन्द्र अधिकारी विमानस्थल र तेह्रथुमकाे चुहान डाँडालाई आङछिरिङ शेर्पा विमानस्थल नामाकरण गर्ने घोषणा गरेपछि चौतर्फित विरोध भइरहेको हाे । यस नामाकरणलाई इतिहास, संस्कृति, पहिचान र भावनात्मक मनोविज्ञानमाथि राज्यबाट हस्तक्षेप भएको भनिएकाे छ ।

यस्तै सरकारले किरातीहरुको आस्थासँग जोडिएको सप्तकोसीस्थित ‘खुवालुङ’लाई पनि नयाँ बजेटमार्फत फुटाउने नीति ल्याएपछि खुवालुङ संरक्षण पक्षधर तथा किरात समुदायका अगुवाले विरोध जनाईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्