Logo
Logo

‘छाक टार्न समस्या परे ११८० नम्बरमा फोन गर्नुस्’


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौँ महानगरपालिकाले लकडाउनकोसमयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ ।

दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा निषेधाज्ञा तथा लकडाउन गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न भनिएको हो ।

‘गत वर्षको तुलनामा यस वर्ष खानका लागि समस्या पर्यो भन्दै आउनेको सङ्ख्या एकदमै कम रहेको छ, आएकालाई वडा कार्यालयमार्फत सहयोग गरिरहेका छौँ’, महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘कोही समस्यामा परेर पनि कहाँ सम्पर्क गर्ने भनेर अन्योल हुनुभएको भए आफू बसोबास गरेको स्थानसहित ११८० मा फोन गरेर जानकारी गराउन आग्रह गर्दछु ।’

जानकारी प्राप्त भएपछि महानगरपालिकाका ३२ वडामध्ये कुन वडाबाट सहयोग गर्न सहयोग हुन्छ सोहीअनुरुप आवश्यक खाद्य सामग्री सहयोग गरिने जनाइएको छ ।

महानगरले कोभिडका बिरामीलाई उपचारमा सहज होस् भन्ने हेतुले बिरामीलाई अस्पताल पुग्न पनि कोभिड–१९ का बिरामीका लागि फोन नं १०२ मार्फत १० र ननकोभिड बिरामीका लागि १० गरी कूल २० निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ ।

महानगरपालिकाले अक्सिजनको चरम अभावका कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर अक्सिजनकै कारण अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न ३०९ शय्याको आइसोलेशन र विषेश अस्पताल सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्