
काठमाडौं । सर्वोच्च अदालतले कानुन व्यवसायीलाई कोभिड १९ संक्रमणविरुद्धको खोपको दोस्रो डोज उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ ।
निवेदक अधिवक्ता उमेश प्रसादले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले पहिलो डोज लगाइसकेका कानुन व्यवसायीलाई दोस्रो डोज उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको हो ।
रिटमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु पूर्णमान शाक्य, विनोद कुमार, अधिवक्ताहरु विजय मित्र, सुनिल पोखरेल, विकास भट्टराई, ऋषिराम घिमिरे र सुनिल कुमार पटेलसमेतले भर्चुअल माध्यमबाट बहस गरेका थिए ।
रिट निवेदनमा सुनवाइ गर्दै सर्वोच्चले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखितजवाफ पेस गर्न सरकारलाई कारण देखाउ आदेश पनि जारी गरेको छ ।











