Logo
Logo

उपेन्द्र यादवले पठाए निर्वाचन आयोगलाई जवाफ


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् । राजनीतिक दल सम्बन्धी ऐनमा रहेको अनुसूची अनुसार निर्णयहरू पठाउन आयोगले पठाएको पत्र अनुसार अध्यक्ष यादवले आयोगलाई जवाफ पठाएका हुन् ।

जेठ १७ गते यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जनालाई पार्टीबाट निष्काशन गरेको थियो । सोही दिन ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट कारवाही गरेको पत्र आयोगलाई पठाएका थिए ।

तर, अध्यक्ष ठाकुर र यादवले एकले अर्कोलाई गरेको निष्कासको कारवाहीमा आधिकारिकता पुष्टि हुने कागजात नपुगेको भन्दै आयोगले दुबैको पत्र अस्वीकार गरेको थियाे। आयोगले दुबै अध्यक्षलाई कारवाहीका लागि पुष्टि हुने पत्र बुझाउन पत्र पठाएको थियाे ।

ठाकुर र यादवले एकले अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेका पत्र राजनीतिक दलसम्बन्धी नियमावली अनुरुप नभएकोले बदर गरिएको आयोगले जानकारी दिएको थियाे ।

बिहीबार जसपाका ५१ जना कार्यकारी सदस्यमध्ये २७ जनाको हस्ताक्षरसहित पार्टीको निर्णय निर्वाचन आयोगमा पठाइएको यादव पक्षको दावी छ । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरलाई पनि आयोगले पत्र पठाएको थियो । तर, उनले जवाफ फर्काएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्