नेपाललाई खोप दिन डब्लुएचओको पहलदेखि बजेट वक्तव्य सच्याउन मुख्यमन्त्रीको चेतावनीसम्म « Drishti News – Nepalese News Portal
Logo
दृष्टिका १० हेडलाइन्स् :

नेपाललाई खोप दिन डब्लुएचओको पहलदेखि बजेट वक्तव्य सच्याउन मुख्यमन्त्रीको चेतावनीसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेपालमा पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिेजन विधिबाट गरिएको परीक्षणबाट थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या एक लाख १ हजार ८३९ पुग्दा ५ हजार ९ सय ४ संक्रमित २४ घण्टामा डिस्चार्ज, थप ७५ जना संक्रमितको मृत्यु, जापानबाट १६० थान अक्सिजन कन्सनट्रेटरसहित स्वास्थ्य सहायता काठमाडौं आइपुग्यो ।

२. नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट नभेटिएको विश्व स्वास्थ्य संगठनको दावी, बेलायती अखबार डेली मेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि बेलायतको दावी गलत भएको डब्लूएचओको भनाइ, नेपालले समयमा नै खोप नपाए अहिलेको भन्दा बढी समस्या भोग्नुपर्ने अवस्था आउन सक्ने डब्लुएचओ नेपालको चेतावनी, शक्ति राष्ट्रलाई खोप उपलब्ध गराइदिन पहल ।

३. प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराद्वारा शुक्रबारका लागि ‘फुल कोर्ट’ आह्वान, संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न शुक्रबार ‘फुल कोर्ट’को बस्ने, प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएको मुद्धामा आइतबार संवैधानिक इजलासमा सुनुवाई हुँदै ।

४. माधव नेपाल र झलनाथ खनालद्वारा भर्चुअल माध्यमबाट केन्द्रीय कमिटीको बैठक आयोजना, पार्टी एक हुने सम्भावना कम हुँदै गएको भन्दै आगामी कदमबारे छिट्टै निर्णय लिनुपर्ने केन्द्रीय कमिटी सदस्यको सुझाव, कम्युनिष्ट आन्दोलन बचाउन नयाँ पुस्ता अगाडि सर्नुपर्ने खनालको प्रस्ताव, ओलीले वार्ताको नाममा भुलाएको नेपालको आरोप, नेपाल समूहको बैठक अनाधिकृत भनिरहेको भएपनि बिहीबार बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक फेरि स्थगित ।

५. व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात गर्ने केन्द्र सरकारको निर्णय नसच्याए आफूले नै आवश्यक कदम चाल्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको चेतावनी, ढुंगा, गिटी, बालुवा उत्खनन गर्ने योजनाले देशकै अन्न भण्डारको रूपमा रहेको प्रदेश २ को सम्पूर्ण भू–भाग मरुभूमिकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने राउतको दावी ।

६. २०७४ को निर्वाचनपछि नेपाली कांग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग कर्णाालीबाट सत्ता साझेदारी गर्दै, कर्णाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठको नाम सिफारिस, वैशाख ३ गते कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर सत्ता जोगाइदिएपछि सरकारमा सहभागिता जनाउँदै ।

७. भेरी उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुरुवाले ‘आवेग’मा आएर कुटपिट गरेको जिल्ला प्रशासनले गठन गरेको छानबिन समितिले निष्कर्ष, समितिले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्यकर्मीले बिरामीको अवस्थाबारे उनका आफन्तलाई बुझाउन नसक्दा घटना भएको उल्लेख, प्रतिवेदनलाई लिएर चिकित्सक आक्रोशित, सामाजिक सञ्जालमा क्रिया/प्रतिक्रिया ।

८. भोल्यूमसहित नेप्सेले कायम गर्यो नयाँ रेकर्ड, बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण, कम्पनीले वित्तीय विवरण सार्वजनिक नगरेको भन्दै दोस्रो बजारमा कारोबार गरिरहेको खानीखोला हाइड्रोपावर कम्पनीको शेयर कारोबार रोक्का, बिहीबार फेरी बढ्यो सुनको भाउ, चाँदीको पनि बृद्धि, वैशाखमा नियमितभन्दा २५ प्रतिशत बढ्यो इसेवाबाट कर भुक्तानी, यसरी तिर्नुहोस् इसेवाबाट कर, सामूहिक लगानी कोषको आयमा कुनै पनि कर नलाग्ने ।

९. नेपाल र चिनियाँ ताइपेइबीचकाे खेल सुरू हुँदै, कप्तान किरण ताइपेईविरुद्ध पुग्ने ७० औं क्यापलाई विशेष बनाउने योजनामा, कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिल र भेनेजुयला भिड्ने, आईपीएलका बाँकी खेल नखेल्ने विदेशी खेलाडीको तलब काटिने, कुनैपनि हालतमा ओलम्पिक स्थगित वा रद्द नहुने आयोजकको भनाइ, फ्रेन्च ओपन खेल्ने दुई खेलाडीलाई कोरोना पोजेटिभ ।

१०.र, क्षेत्रीय चुनौती समाधानका लागि इरान, पाकिस्तान र टर्कीबीच गठबन्धन, इजरायलको राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित, यूएईमा पनि चर्को घाममा काम लगाउन रोक, अटेरी गरे ५० हजार दिराम जरिवाना, भारतमा थप १ लाख ३४ हजारमा संक्रमण, २८ सय ९९ जनाको मृत्यु, म्यानमारी सेनाद्वारा दुई पत्रकारलाई जेल सजायँ, संविधान रक्षा गरेको दावी ।

प्रतिक्रिया दिनुहोस्