Logo
Logo

जनप्रतिनिधिबाटै निषेधाज्ञा उल्लंघन, मेयर र वडाध्यक्ष उद्घाटन कार्यक्रममा व्यस्त


हिक्मत बम


धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकामा जनप्रतिनिधिहरुबाटै स्थानीय प्रशासनको आदेशको उल्लंघन गरिएको पाइएको छ । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाइँ र वडा नम्बर—१ का वडाध्यक्ष जनक बम स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै उद्वघाटन कार्यक्रममा सहभागी भएका हुन् ।

लम्कीचुहा नगरपालिकाका प्रमुख बजगाइँले जनप्रतिनिधि, कर्मचारी र स्थानीयको भेला गराएर विहीबार लम्कीचुहा वडा नम्बर १ मा रहेको निर्मित बसपार्कको उद्घाटन गरेका छन् । उनले वडा नम्बर १ को कार्यालय भवन र स्वास्थ्य इकाइ केन्द्रको भवन पनि उद्घाटन गर्न भ्याए । उक्त उद्घाटन समारोहमा ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । उक्त कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष जनक बमलगायतका जनप्रतिनिधि पनि सहभागी भएका थिए ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा वैशाख १६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बिहीबार मात्रै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने आदेश जारी गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीबाट जारी भएको आदेशमा निषेधाज्ञा अवधिभर कुनै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमीनार तथा मानिसको भीडभाड हुने कार्यक्रम गर्न नपाइने उल्लेख गरिएको छ । तर प्रशासनको आदेश विपरित मानिसहरु भेला गराएर उद्घाटन कार्यक्रम सहभागी भएको विषयमा प्रतिक्रिया माग्दा मेयर बजगाई र वडाध्यक्ष बमले फोन उठाएनन् ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जनप्रतिनिधिहरुबाट निषेधाज्ञाको उल्लंघन हुनु दुःखद पक्ष भएको बताए । ‘जागेको मान्छेलाई जगाउन साह्रै गाह्रो हुँदो रहेछ । जनप्रतिनिधिहरुले महामारीबाट बच्न आम नागरिकलाई सचेत गराउने पर्ने बेलामा आफै भेला गर्नुहुन्छ भने हामीले के भन्ने,’ सहायक प्रमुख जिल्ला अधिकारी चौधरीले भने, ‘तर लम्कीचुहाको विषयमा जानकारी थिएन । हामीलाई खबर प्राप्त भए रोक्न लगाइहाल्थौँ ।’

उनले कोरोना भाइरसको जोखिम कायमै रहेका कारण भीडभाड गर्न र गराउने कार्यमा सहभागी नहुन पनि सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्