Logo
Logo

विश्वासकाे मत लिन सुदूरपश्चिममा कांग्रेसको सुझाव


दृष्टि संवाददाता


काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लिन प्रमुख प्रतिपक्षी कांग्रेसले आग्रह गरेको छ । शुक्रबारबाट सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशनको पहिलो दिनि कांग्रेसले विश्वासको मत लिन भनेको हो ।

यस्तै, एमालेको एउटा पक्षले मुख्यमन्त्रीको राजीनामा माग गरे । एमाले सांसद पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टलाई पदबाट राजीनामा गर्न माग गरेका हुन् ।

सदनमा एमाले सांसदका लागि प्रतिपक्षी सिटको व्यवस्था नगरिएको भन्दै उनले आपत्तिसमेत जनाए । एमालेले समर्थन फिर्ता लिइसकेकाले मुख्यमन्त्री अल्पमतमा परेको उनको दाबी थियो ।

‘एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । त्यसको जानकारी पनि प्रदेश सभा सचिवालयलाई गएको १४ गते गराइएको छ,’ बोहराले भने, ‘एमालेले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्रीले राजीनामा गर्नुको विकल्प छैन । राजीनामा गरियोस्,’ ।

प्रदेश सभामा एमालेका २४ सांसदमध्ये ओली पक्ष अल्पमतमा छ । एमालेबाट निष्कासित झलनाथ खनाल–माधव नेपालनिकट सातजना सांसद सरकारका मन्त्री छन् ।

संसदीय दलले समर्थन कायम राख्ने निर्णय गरेसँगै एमालेबाट चार मन्त्री र तीन राज्यमन्त्रीले शपथ लिएका थिए । त्यसअघि सरकारमा सहभागी तीनमध्ये दुई मन्त्रीलाई खनाल–नेपाल समूहले फिर्ता बोलाएर नयाँलाई पठाएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले मुख्यमन्त्री भट्टलाई संसदबाट विश्वासको मत लिन आग्रह गरे । बोहरापछि बोलेका रावलले एमालेले समर्थन फिर्ता लिएको भनेको अवस्थामा विश्वासको मत लिनु उपयुक्त हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्