Logo
Logo

सफा हिमाल अभियान : २७ हजार ६७१ किलो फोहोर तथा चारवटा शव संकलन


दृष्टि संवाददाता


काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा भएको सफा हिमाल अभियान अन्तर्गत २७ हजार ६७१ किलो फोहोर तथा चारवटा शव संकलन गरिएको छ ।

३५ हजार किलो फोहोर तथा भेटिएजति शव संकलन गरेर ल्याउने उद्देश्यसहित गएको वैशाख २ गतेदेखि औपचारिक रुपमा हिमाल सफाईको अभियान सेनाको नेतृत्वमा सुरु भएको थियो । तर जेठ १५ गते शनिबार यो वर्षको अभियान अन्तर्गत फोहोर संकलनको काम पूरा हुँदासम्म साढे २७ हजार भन्दा बढि फोहोर संकलन भएको हो।

योपटक वन तथा वतावरण मन्त्रालय, पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागसहित सरोकारवाला निकायसँगको सहकार्यमा सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको व्यवस्थापनमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, पुमरी, आमदब्लम, मकालु तथा धवलागिरि हिमालबाट फोहोर संकलन अभियान गरिएको हो।

योपटक सगरमाथा (ल्होत्सेसहित) बाट नकुहिने ११ हजार ६३६ तथा कुहिने ४२० किलो गरि कुल १२ हजार ५६ किलो, पुमरीबाट ५४६ किलो (सबै नकुहिने), आमदब्लमबाट तीन हजार ३८२ नकुहिने र ६० किलो कुहिने गरि कुल तीन हजार ४४२ किलो, मकालुबाट नकुहिने चार हजार ८८२ तथा कुहिने एक हजार ७२५ किलो गरि कुल ६ हजार ६०७ किलो र धवलागिरिबाट नकुहिने चार हजार ७२० तथा कुहिने ३०० किलो गरि कुल पाँच हजार २० किलो फोहोर संकलन भएको अभियानले जनाएको छ।

संकलित मध्ये अहिलेसम्म १२ हजार ९९५ किलो फोहोर व्यवस्थापन या पुनःप्रयोगका लागि हस्तान्तरण गरिएको छ। सगरमाथाको आधार शिविरबाट तीन हजार १८८, क्याम्प १ बाट एक हजार २७०, क्याम्प २ बाट ६ हजार ३८१, क्याम्प ३ बाट ६०२ तथा क्याम्प ४ बाट ६१५ किलो फोहोर संकलन गरिएको हो।

योपटक धवलागिरिबाट दुई तथा सगरमाथाबाट दुईवटा शव निकालिएको टोलीले जनाएको छ। धौलागिरिको आधार शिविर आसपासबाटै शव निकालिएको हो भने सगरमाथाको चौथो क्याम्पबाट शव ल्याइएको हो।

सफाइका लागि नेपाली सेनाका ४३ तथा सेवा प्रदायक संस्थाले उपलब्ध गराएका ६९ जना शेर्पा प्रत्यक्ष रुपमा सहभागी भएका हुन्। अभियानका लागि १२ करोड ५५ लाख बजेट विनियोजन भएको थियो।

प्रतिक्रिया दिनुहोस्