Logo
Logo

उपप्रधानमन्त्री महतोले फेरि भने- नेपाल बहुल राष्ट्रिय राज्य हो


दृष्टि संवाददाता


काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले फेरि विवादास्पद अभिव्यक्ति दिएका छन् ।

शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रमपछि उपप्रधानमन्त्री महतोले भने, ‘नेपाल त बहुल राष्ट्रिय राज्य छँदै हो नि ।’ शुक्रबार पदभार ग्रहण गर्दै पनि उपप्रधानमन्त्री महतोले नेपाल बहुल राज्य भएको बताएका थिए ।

महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसारको व्यवस्थामा हिमाल, पहाड, तराई र मधेसका जनता सहभागी हुनुपर्ने बताए।। उनले बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेको भन्दै बहुलतामै लानुपर्ने दाबी गरे। महतोले बहुल राज्य नभए जनताले अधिकार र पहिचानका लागि आन्दोलन गरिरहने बताए।

‘नेपाल विविधताले भरिएको देश हो। नेपाल भनेको बहुल राष्ट्रिय राज्य भएकोले त्यो अनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेसका जनताको हुनुपर्छ’, महतोले भने, ‘विविधताले भरिएको देश एकल हुनै सक्दैन। बहुलता नै हुन्छ। बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होइन।’

महतोले बहुलता सबैको भएकाले त्यसले मात्र राज्य शासनमा प्रतिनिधित्व हुने बताए । उनले पहिचान सबैको हुनुपर्ने भन्दै यो नभए देशमा जनताले अधिकार र पहिचानका लागि आन्दोलन गर्ने उल्लेख गरे । उनले भने ‘राज्य शासनमा सबैको प्रतिनिधित्व हुनुपर्छ, पहिचान हुनुपर्छ, यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि संघर्ष गरिरहन्छन्।’ महतोले संविधान अपूर्ण भएको भन्दै अधिकार र पहिचानका निम्ति पार्टीले मिसन चलाउनेसमेत बताएका छन् ।

जसपा वरिष्ठ नेता महतोलाई प्रधानमन्त्री ओलीले शुक्रबार सरकारमा सहभागी गराएका हुन् । महतो जसपाको नेतृत्व गर्दै सरकारमा सहभागी भएका छन् । ओली सरकारमा महतोको नेतृत्वमा १० जना नेता मन्त्री बनेका छन् । शुक्रबार ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै महतोसहित तीनजनालाई उपप्रधानमन्त्री बनाएका छन् । महतोले पदभार ग्रहण गरेलगत्तै संविधानविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनको चौतर्फी आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्