Logo
Logo

कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेन : काँग्रेस


दृष्टि संवाददाता


काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुङ्ग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

काँग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्वारा शनिबार आयोजित ‘वर्तमान सङ्कटमा काँग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा उनले अब पार्टीका सबैतहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

‘आठ लाख हाराहारीमा क्रियाशिल सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको छ, दर्ता हुन बाँकी रहेका क्रियाशिल सदस्यता पनि चाँडो टुङ्ग्याएर समयमा नै महाधिवेशन गर्नुपर्छ,’ उनले भने पूर्व उपप्रधानमन्त्री निधिले काँग्रेसले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी गरेको बताए ।

काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कोरोनाको नियन्त्रणमा सरकारले पूर्वतयारी गर्न नसक्दा भयावह अवस्था आएको आरोप लगाए । अर्का केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद वडुले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बन्न नसकेको बताए ।

काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले काँग्रेसको १४ औँ महाधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने बताउनुभयो । काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, रोल्पाका सभापति अमरसिंह पुनलगायतले पार्टीको विधानअनुसार समयमा नै महाधिवेशन गर्नका लागि केन्द्रीय नेतृत्व अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्