Logo
Logo

वडास्तरसम्मै संगठन बनाउन माधव समूहकाे निर्देशन


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाह्य शक्तिका सामू लम्पसार परेको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आरोप लगाएका छन् । केन्द्रीय कमिटीका सदस्यहरुसँग भएको दुई दिने परामर्शमा आएको सुझावसहित स्थायी कमिटीको बैठकले पारित गरेको प्रस्तावहरु नेता नेपालले सार्वजनिक गर्दै उक्त आरोप लगाएका हुन् ।

‘प्रधानमन्त्री केपी ओलीबाट दक्षिणपन्थी विसर्जनवादी चिन्तन र व्यवहारका साथ वाह्य शक्तिका सामु लम्पसार पर्दै संविधान, लोकतन्त्र र संसदमाथि आक्रमण गरिएको, यस सिलसिलामा दुई–दुई पटक असंवैधानिकरुपमा प्रतिनिधि सभा विघटन गरिएको, अध्यादेश मार्फत शासन चलाउन खोजिएको र राष्ट्रिय हितमाथि घात गरिएकाले संविधान, लोकतन्त्र, संसद, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षाका लागि अन्य वामपन्थी र लोकतन्त्र पक्षधर दलहरुसंग सहकार्यका साथ अघि बढ्नुपर्ने स्थिति सिर्जना भएको छ,’ नेता नेपालले भनेका छन् ।

नेता नेपालले पार्टी एकताको विषयमा ठोस परिणाम नआई संगठन निर्माणको काम नछाड्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले आफूपक्षीय कार्यकर्ताहरुसँग वडास्तरसम्मै संगठन बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर गुट र फुटको अभ्यास गरिरहेकोले ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपर्न कार्यकर्ताहरुलाई नेता नेपालकाे आग्रह छ ।

‘केपी ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकोले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ–आफ्नो ठाउँमा सशक्त र एकताबद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुमा हार्दिक आव्हान गर्दछौं,’ नेता नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तो स्थितिमा आफूहरु नेपालको संविधान, पार्टीको विधान र कम्युनिस्ट आन्दोलन र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने नेपाल पक्षले चेतावनी दिएको छ । नेपाल समूहले संगठनात्मक स्थितिलाई वडा र टोलसम्म अगाडि बढाउने निर्णय पनि गरेको छ ।

‘केपी ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकाले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ–आफ्नो ठाउँमा सशक्त र एकतावद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुमा हार्दिक् आह्वान गर्दछौं’ निर्णयमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्