Logo
Logo

संसदीय दलको नेतामा राउत चुनिएकोमा ठाकुर पक्ष अनभिज्ञ


दृष्टि संवाददाता


धनुषा । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) प्रदेशसभा संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरिएको विषयमा महन्थ ठाकुर समूहले भने अनभिज्ञ रहेकाे जनाएको छ ।

उपेन्द्र यादव पक्षले संसदीय दलको बहुमत सदस्यको बैठकले राउतलाई संसदीय दलको नेतामा चयन गरेको बताएपनि ठाकुर पक्षले भने यस विषयमा कुनै जानकारी नभएको जनाएको हो ।

जसपा नेपालका कार्यकारिणी सदस्य एवं प्रदेशसभा सांसद जितेन्द्र सोनलले राउतलाई संसदीय दलको नेता चयन गरेको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए । अर्का नेता मनिष सुमनले पनि प्रदेश २ को जसपा संसदीय दलको बैठक बसेर संसदीय दलको नेता चयन भएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको बैठकमा ३६ जनाको उपस्थिति रहेको बताइएको छ । जसमा ३० जना पूर्व समाजवादी पार्टीका र ६ जना पूर्व राजपा पक्षका सांसदको उपस्थिति रहेको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्