अहंकारले डुब्यो कम्युनिष्ट आन्दोलन « Drishti News – Nepalese News Portal
Logo
दृष्टिकाेण

अहंकारले डुब्यो कम्युनिष्ट आन्दोलन


लक्ष्मण देवकोटा


धर्म र अर्थको स्रोत राज्य हो । राज्यको मूल व्यक्ति नै आफ्नै इन्द्रीयको अधिनमा परे भने त्यसको चुक्ता सिंगो राज्यले गर्नुपर्ने रहेछ । बाहिर वाणीमा प्रधानमन्त्री खड्गप्रसाद ओली आफूले कसैका निम्ति कमाउन र बचाउन नपरेको भनेर जतिसुकै आदर्शका कुरा गरे पनि उनी अहंकारको घोडामा सवार छन्, यतिबेला ।

विनयशीलता रित्तिएका दम्भी र अहंकारीहरुको घेराबन्दीबाट हरेक दिन वर्षिने अहंकार वाणीलाई आफ्नो आदर्श मान्ने जमात वडा तहसम्मै विस्तार हुने महाअभियान चलिरहेको छ देशमा । जसलाई जनताको मत राखिने संसद्प्रति अपार घृणा छ, उही निर्वाचनको राग अलापेर बेसुरा गीत गाइरहेको छ । अदालत गिजोलेको छ ।

निर्वाचन आयोग पंगु बनेको छ । संवैधानिक अंग र राजदूत नियुक्तिमा योग्य, सक्षम होइन, आफ्ना आसेपासे भर्ती गरिएको छ । राज्यको सम्पूर्ण संयन्त्रलाई पंगु बनाएर मनपरी शासन सत्ता हाँकिएको छ । आफ्नै पार्टीका नेताहरुमाथि कारवाही गरेर नेकपा एमालेको विचार, पद्धति र विधि विधानलाई धुजाधुजा बनाइएको छ ।

ओली आफैँले बारम्बार भन्ने गर्छन्– ‘सुनौलो जीवनको १४ वसन्त कारागारको चौघेरामा बित्यो ।’ पार्टी कार्यकर्ता, जनता सबै नेपालीले उनलाई माया नै गरे । यो देश र दुनियाँ बदल्ने महाअभियानमा लागेको र झण्डै शहीद भइसकेको एउटा वीर सपुतको रूपमा जनताले ओलीलाई मानेकै थिए ।

त्यही बलमा आज उनी सत्ताको शीर्ष आसनमा विराजमान हुन पुगे । तर विगत सम्झेर मात्र उनले गरेका सबै कर्महरुलाई सहीछाप लगाउने अर्को मुर्खता कसैले गर्नु हुँदैन । जुन–जुन राजपुरुष हुँ भनी दावी गर्नेहरुको घेराबन्दीमा परेर होस् या आफ्नै अभिमानको रापतापले होस्, उनी अब जनताबाट टाढिएका छन् ।

लोभी, पापी र स्वार्थी मानिस जसले इमान्दार, कर्तव्यनिष्ठ र आफ्नो पेशाप्रति प्रतिबद्ध मानिसलाई भन्दा चाकडी, चाप्लुसी गर्नेलाई आफ्नो ठान्दछ, राज्यबाट पुरस्कृत गर्दछ, तिनै मानिसहरुको जयजयगान हुने मौसम चलिरहेको छ ओली राजमा ।

राज्यको ढुकुटी रित्याएर सत्तामा पहुँच हुनेहरुको फोक्सो, आन्द्रा, मृगौला सबै अङ्गप्रत्याङ्गको रेखदेख हुन्छ हामीकहाँ । यस्तो लाग्छ कि नेताहरु बाँचिरहनुपर्दछ । राज्यका सबै श्रोत र साधनको उपयोग गरेरै भएपनि नेताहरुलाई नबचाउने हो भने देश बर्बाद हुन्छ ।

अक्सिजन नपाएर सुत्केरीहरु मारिँदा, बाटोमा अस्पताल लैजाँदै गर्दा अक्सिजन सकिएर सर्वसाधारण मारिनु राज्यको लागि फगत संख्या बन्दछ । यो विभेदपूर्ण व्यवस्थाको अभ्यास नेपालको गणतन्त्रमा पनि भइरहेको छ ।

करोडौं बालबालिकाहरुलाई शिक्षा दिने शिक्षक, मानिसको ज्यान बचाउने स्वास्थ्यकर्मीलाई अपमानित गर्ने संस्कृति हुर्किरहेको छ यो समाजमा । पार्टीको भक्त, प्रधानमन्त्रीको गुटको व्यक्ति भएकै हुनाले जस्ता अपराध गरे पनि माफ दिने कुसंस्कृतिले जरा गाड्दै गएको छ यही समाजमा । सक्नेले कमाउ भन्ने सिद्धान्त व्याप्त भएको छ समाजवादउन्मुख राज्यमा ।

किन नहोस् त ? जब संसद्लाई छलेर अध्यादेश ल्याउने प्रधानमन्त्रीले नै मनपरीतन्त्रको उदाहरण दिएका छन् । सार्वभौम संसद् विघटनलाई अवैध भनेर सर्वोच्च अदालतले फैसला गर्दा पनि आफ्नै दलकी राष्ट्रपतिको मिलेमतोमा फेरि गला थिच्न पुग्दछन् प्रधानमन्त्री । नियम र विधानको आफू अनुकूल व्याख्या गरेर जसरी पनि टिकिरहने सिद्धान्तको नांगो नाच जगत्लाई देखाएर ङिच्च हाँसिरहेका छन् ।

बालुवाटार र शीतलनिवासको षड्यन्त्रको मूल्य अनाथ नागरिकहरुको वधमा परिणत भइरहेको छ । दासहरुले त यो देख्ने कुरै भएन । जसलाई संसद्प्रति आस्था छैन, जसलाई जनताको मतप्रति विश्वास छैन, उसलाई फेरि निर्वाचन किन चाहिएको होला ?

कम्युनिष्ट होउन् या गैरकम्युनिष्ट, जनतालाई प्रधान मान्ने शासकहरु नै लोकप्रिय भएर टिकेका छन् संसारैभरि । तानाशाहीको आरोप लागेका कम्युनिष्टहरु संसारैबाट उखेलिएर जाँदा धन्न जननेता मदन भण्डारीले संसद् प्रवेशको बाटो फुकाएका हुनाले नै यत्तिको ढलीमली भएको हो नेपालका कम्युनिष्टहरुको ।

एउटा लामो शृंखला, धेरै मानिसहरुको मिहिनेत र खुन पसिनाकै कारण दुईतिहाइ निकटको विजयध्वजा लिएर सगरमाथाको चुचुरोमा पुगेका हुन् कम्युनिष्टहरु । तर, अहंकार र मैमत्त प्रवृत्ति, क्रोधी, लोभी र लालचीहरुको झुण्डको मोहजालमा हाम्रा नेताहरु पनि तिनैजस्ता देखिन थाले । जमिनसँग दूरी टुट्यो । सत्ता र समाजमा भुइँफुट्टा वर्गको उत्पत्ति भयो ।

यस्तो भुइँफुट्टा वर्ग जसले इमान्दारलाई लल्कार्छ, त्यागीहरुलाई खिसी गर्छ र अरुको अपमानमा आफ्नो झुण्डले स्वार्थपूर्ति गर्न कुनै कसर बाँकी राख्दैन । कुनै पनि सत्तासीनहरुको लागि यो प्रवृत्ति पतनको मुख्य कारण नै हो । अझ रेल र पानीजहाजका सपना देखाएका कम्युनिष्टहरुको त झन् कुरै नगरौं ।

कुशल शासकले आलोचना सुन्ने धैर्य राख्नुपर्दछ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधिवत दर्ता गरेको १९ बुँदेलाई ‘पीठमा छुरा’ ठान्ने ओली समूहले प्रचण्डका आरोपहरुलाई लोकतान्त्रिक विधिबाटै छिनोफानो गर्ने काम जनताको बहुदलीय जनवादको मर्मअनुरुप थियो भन्ने कुरा बुझेर पनि बुझ पचाए ।

व्यवहारमै प्रचण्डलाई यथोचित स्थान दिएर, माधव नेपाल पक्षधरलाई पनि समेटेर अघि बढेको भए सम्भवत नेपालको वामपन्थी इतिहासमा अर्को सुनौलो युगको आरम्भ हुने थियो । इतिहासले दिएको यस्तो महत्वपूर्ण अवसर ओलीको अहंकारकै कारण धूजाधूजा भएको छ । अब इतिहासले कम्युनिष्ट आन्दोलन जोगाउने जिम्मेवारी प्रचण्ड, माधव, झलनाथ र वामदेवहरुलाई सुम्पिएको छ ।

ओलीको रजगज त सत्तामा हुँदासम्म हो । त्यसपछि सिंगो जनताको कम्युनिष्ट पार्टीको आस्था र विश्वास जगाउने भनेको यिनै क्रान्तिकारी नेताहरुको हो । जसले गणतन्त्र स्थापना गर्न ‘जनयुद्ध’ गरे । जसले जस्तोसुकै आँधीबेहरीमा पनि नेकपा एमालेलाई जोगाए र जसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना गरे, ती हार्नु हुँदैन । तिनीहरु हार्नु भनेको देशकै अस्तित्व समाप्त हुनु हो ।

सत्ताको मातमा कम्युनिष्टहरु कतिसम्म स्खलित हुने रहेछन् भन्ने समेत अहिलेको समयमा मानिसहरुले देख्ने बुझ्ने मौका पाएका छन् । लोकप्रियताको लागि नौ महिने कालको वृद्धभत्ता प्रचारमै झुण्डिनु अहिलेको नेतृत्वको लागि लाजको विषय हुनुपर्ने हो । रोजगारीको अवसरमा खाडीको तातो पसिनामा जाने लाखौंको संख्याका नेपालीहरु आफ्नै रनवनमा फर्केलान्, मुलुकमा कम्युनिष्टहरुको नयाँ युगको आरम्भ हुनेछ भन्ने सपना सोम शर्माको सातु भएको सत्य हो ।

केही मानिसहरुका लागि त कोरोना पनि अवसर बन्दछ । सत्ताको लाभ लिएकाहरुलाई सुन्दा नमिठो लाग्न सक्दछ । इमान्दार पार्टीका मानिसहरु होउन् या शुभेच्छुकहरु होउन्, सबै मतदाताहरुको सपनामा खड्गप्रसाद ओलीको गुटले पानी खन्याइदिएको छ ।

राज्य दोहन गरेर जम्मा पारिएको नगद, ठेक्कापट्टामा संलग्न समूहको सहयोग र बाहुबलीहरुको मद्दतले सत्ताको निर्णायक हुने ओलीको सपना मानिसलाई रनभुल्लमा पार्न बजेटमार्फत प्रष्टै देखिएको छ । मुलुकमा वामपन्थीहरुको सपनाको साम्राज्य पनि देखिएको छ । मोहभंगको यो वितृष्ण परिदृश्यले वामपन्थी शुभेच्छुक, कार्यकर्ता सबैलाई निराश बनाएको छ । ओलीको बहिर्गमन नभई कम्युनिष्ट आन्दोलन संग्लिने लक्षण देखिँदैन ।

बरु सरकारसँग एउटा अनुरोध छ, सरकार आगामी निर्वाचनमा मुर्दाघरमा पनि मतपेटिका राख्नुपर्दछ । किनभने, कोरोना कहरमा समयमा उपचार नपाएर मर्नेको संख्या सयौं छ । अक्सिजन, भ्याक्सिन, सिटामोलको अभावमा अकालमा ज्यान गुमाउनेहरुको संख्या पनि त्यो भन्दा दोब्बर छ । तिनको आत्माको चीर शान्तिका लागि पनि घाटमा मतपेटिका आवश्यक छ ।

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्