Logo
Logo

मन्त्रीहरूले झण्डा हल्लाएर हिंड्ने बाहेक केही काम गरेनन् : इन्द्र आङ्बो


दृष्टि संवाददाता


विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारका मन्त्रीहरुले झण्डा हल्लाएर हिंड्ने बाहेक केही काम गर्न नसकेको आरोप लगाएका छन् ।

प्रदेशसभाको बजेट अधिवेशन प्रारम्भसँगै प्रदेशसभा बैठकमा दलीय रुपमा सम्बोधन गर्ने क्रममा उनले कोरोना महामारीमा प्रदेशले काम गर्न सक्ने प्रशस्त अवसर हुँदाहुँदै पनि मन्त्रीहरुले झण्डा हल्लाएर हिंड्ने बाहेक कुनै काम गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले संघीय सरकारको सिको गर्दै प्रदेश १ सरकारले प्रदेशसभालाई छलेर अध्यादेशमार्फत शासन गर्ने नाटक अवलम्बन गरेको बताए ।

उनले फागुन २३ मा सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्र र एमाले साविककै अवस्थामा फर्किएर पनि प्रदेश सरकार बहुमत मै रहेको अवस्थामा समेत प्रदेश सरकारले यस बीचमा आफ्नो अस्तित्व देखाउन नसकेको आरोपसमेत लगाए ।

‘फागुन २३ को फैसलापछि सरकारलाई जोडघटाउ गर्नुपर्ने थिएन,’ उनले भने, ‘बहुमतमा नै थियो । सरकार कहाँ गयो भन्नेबारे कसैले पत्ता लगाउन नसक्ने गरी यो बीचमा सरकार गुमनाम भयो ।’

बजेट अधिवेशन छल्नका लागि सरकारले विभिन्न बहाना बनाएको र आफूहरुले नै ध्यानाकर्षणसहित माग गरेपछि बल्ल अधिवेशन बोलाइएको उनको भनाइ छ ।

१५ दिन अघि प्रदेशसभा बैठक नबोलाएर सरकारले आर्थिक कार्यविधि अध्यादेश किन संशोधन गरेको भन्ने प्रश्नसमेत उनले उठाए । ‘पाँच दिन अघि बजेट मोटामोटी बनिसकेको हुन्छ,’ आङ्बोले भने, ‘आज बोलाइएको प्रदेशसभामा सांसदले दिएको सुझाव कसरी सम्बोधन हुन्छ रु’

प्रतिक्रिया दिनुहोस्