Logo
Logo

मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न सुदुरपश्चिम एमालेको निर्देशन


दृष्टि संवाददाता


कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ ।

प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई निर्देशन दिएका हुन् ।

माओवादी नेतृत्वको सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार बिहान विश्वासको मत माग्दैछन् । त्यसमा विपक्षमा मतदान गर्न निर्देशन दिएको एमाले प्रदेश सचिव रावलले बताए ।

१० जेठमा एमाले स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, केन्द्रको आदेश अवज्ञा गर्दै १२ जेठमा यहाँको संसदीय दलले भने समर्थन कायम राख्ने निर्णय लियो । अहिले एमाले माधव पक्षका सांसदहरू सरकारमा सहभागी छन् ।

ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्रीको पक्षमा मतदान हुने सम्भावना पनि उत्तिकै देखिन्छ । सोमबार मात्रै एमाले संसदीय दलको प्रमुख सचेतक हेरफेर गरिएको छ । माधव नेपाल पक्षका सांसद विकलाई प्रमुख सचेतकको जिम्मा दिइएको छ भने प्रदेशमा नेपाल समूहको बहुमत छ ।

सोमबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको नेपाल, माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सुदूरपश्चिम प्रदेश सरकारको पक्षमा मतदान गर्ने सहमति भएकाे थियाे ।

एमालेमा सभामुख बाहेकका २४ जनामध्ये नेपाल पक्षमा १५ र ओली पक्षमा ९ जना छन् । माधव समूहले पक्षमा मतदान गरे मुख्यमन्त्री भट्टको सरकार जोगिनेछ ।

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक पर्छ । अहिले एमालेमा २५ माओवादीका १३ कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्