Logo
Logo

मन्त्री बर्खास्तकाे माग गर्दै कर्णाली प्रदेशसभा अवरुद्ध


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नैतिक पतन भएको अभियोग लागेका मन्त्री अम्मर बहादुर थापाको राजीनामा माग गरेका छन् । 

कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सोमबार सदन शुरू हुनासाथ बोल्दै नेता यामलाल कँडेलले नैतिक पतन भएका व्यक्तिलाई अहिलेसम्म सरकारले संरक्षण गरेकाे भन्दै मन्त्रीिकाे राजीनामा मागेका हुन् ।

एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि सदन स्थगित गरेका थिए । स्थगित भएको पौने घण्टामा सभामुख राजबहादुर शाहीको रोहवरमा नेकपा एमाले, नेकपा माओवादी, नेपाली काँग्रेस र राप्रपाको वैठक बसेको थियो ।

त्यो वैठकमा एमाले र सरकारले आफ्नो अडान नछोडेपछि सहमति हुन सकेन । मन्त्री थापालाई नहटाएसम्म सदन अवरुद्ध गरिरहने उनले चेतावनी दिएका थिए ।

सभामुख शाहीले फेरि पौने ६ बजे सदन बोलाए । सदनमा उठेर एमाले सांसद करवीर शाहीले पनि सरकारले मन्त्री थापालाई नहटाएसम्म सदन चल्न नदिने बताएपछि सदन भोली जेठ २५ गते दिउसो दुइ बजेसम्मका लागि स्थगित भएको हो ।

सरकारी कागजात किर्ते प्रमाणित भई फौजदारी सजाय पाएका मन्त्री थापाको पद बदर गर्न सर्वोच्च अदालतमा दायर भएको रिटमाथी आइतवार सुनुवाई गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मन्त्री पदमा रहने वा नरहने अन्तरिम आदेशको लागी छलफल गर्न जेठ ३० गते सर्वोच्च अदालत उपस्थित हुन आदेश जारी गरेको थियो ।

राजीनामा मागिएका थापाले नारायण नगरपालिका–१ बस्ने भेषबहादुर थापाको मिलेमतोमा २०४३ माघ २५ गते घरजग्गाको किर्ते मूल्यांकन गरेको उनीविरुद्ध दर्ता गरिएको रिट निवेदनमा उल्लेख छ । रिटअनुसार सर्वोच्चले २०५७ असोज २ गते थापालाई ६ महिना कैद र २ हजार ५ सय रुपैयाँको अन्तिम फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्