Logo
Logo

ओलीलाई माधव समूहको जवाफ- छलछामपूर्ण आह्वानले पार्टी एकता हुँदैन


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताको आह्वान गर्दै अध्यक्ष केपी शर्मा ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावलाई जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिएको बताएका छन् ।

अध्यक्ष ओलीले आइतबार अगाडि सारेको ६ बुँदे प्रस्तावका सन्दर्भमा सोमबार लिखित प्रतिक्रिया जनाउँदै नेता नेपालले ओलीको वक्तव्य (प्रस्ताव)को भ्रममा नपर्न आफू पक्षीय नेता कार्यकर्ताहरुलाई आह्वान गरेका छन्।

नेपाल पक्षले अध्यक्षओलीले गरेको ६ बुँदे एकता प्रस्ताव अस्वीकार गर्दै जबाफ पनि ६ बुँदेमै फर्काएको छ। यो पक्षले सार्वजनिक गरेको प्रेस वक्तव्यमा ओलीले पार्टी एकता हासिल गर्ने भन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित भएको भनिएको छ।

ओलीले पार्टीका नेताहरुलाई कारवाही गर्ने भनेपनि यसअघि विधानविपरीत कथित कारवाही फिर्ता लिने कुरा ओलीको वक्तव्यमा नभएको निष्कर्ष पनि वक्तव्यमा निकालिएको छ ।

‘प्रतिनिधि सभाको असंवैधानिक विघटनको जिम्मेवारी लिएर त्यस्तो गलत निर्णय सच्याउने कुरा गर्नुको साटो सर्वोच्च अदालतमा प्रतिनिधि सभाको पुनःस्थापनाका लागि दायर रिट निवेदनमा हामीले गरेको हस्ताक्षर फिर्ता हुनुपर्ने पूर्वसर्त राखिएको छ ।’ खनाल नेपाल पक्षले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘उक्त रिट निवेदन प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको असंवैधानिक विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम हो। प्रधानमन्त्रीबाट प्रतिनिधि सभाको विघटनको निर्णय फिर्ता भएमा यस सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ।’

प्रतिक्रिया दिनुहोस्